गोरखा कार्तिक १८,
तीन दिनदेखि सुत्केरी व्यथा लागेपनि बच्चा नजन्मेपछि गोरखा गुम्दाकी २४ वर्षीया आइतमाया गुरुङलाई हेलिकोप्टरबाट काठमाडौं लगिएको छ ।
सुत्केरी व्यथा लागेको लामो समयसम्म पनि आइतमायाले बच्चा जन्माउन नसकेपछि सुत्केरी गराउन काठमाडौँको थापाथलीस्थित प्रसूति गृहमा ल्याइ पुर्याइएको बिरामीका आफन्त सन्त गुरुङले बताउनुभयो ।
आइतमायालाई माउन्टेन एअरको हेलिकोप्टरबाट बुधवार काठमाडौँ लगिएको हो ।
एक लाख ३० हजार रुपैयाँ भाडा तिरेर हेलिकप्टर भाडामा लिएको गुरुङले बताउनुभयो । आइतमायाको श्रीमान् माइला पदयात्रामा गएका छन् ।
स्थानीय स्वास्थ्य संस्थाले सुत्केरी गराउन नसकेपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौ लगिएको हो ।
गुम्दा गाउँसम्म सडकको ट्र्याक भए पनि भनेका बेला जिप पाउन मुश्किल हुन्छ । सदरमुकामदेखि गुम्दा पुग्न करिब एक दिन जिपको यात्रा गर्नुपर्छ ।_महिला खबर;