अमेरिकामा राष्ट्रपति चुनावको अन्तिम प्रचारप्रसार; ट्रम्पभन्दा क्लिन्टन अगाडी

काठमाडौं, कात्तिक २१ ,

नोभेम्बर ८ अर्थात् पर्सी मंगलबार हुने अमेरिकी राष्ट्रपति निर्वाचन आफ्नो पक्षमा पार्न दुई उम्मेदवार हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्प सम्पूर्ण शक्तिका साथ जुटेका छन् ।

रिपब्लिकन उम्मेदवार ट्रम्पले आफ्नो ध्यान डेमोक्रेट राज्यका रुपमा चिनिएका पेन्सिलभेनिया, मिशिगन र मिन्नेसोटामा केन्द्रित गरेका छन् ।

डेमोक्रेट उम्मेदवार क्लिन्टनले भने फ्लोरिडा र पेन्सिलभेनियामा चुनावी सभाहरु सकाउनु भएको छ । दुबै उम्मेदवारले त्यहाँ मतदातालाई आफ्नो पक्षमा पार्न सकेको प्रयास गरेका छन् ।

एफबीआईले ईमेल प्रकरणमा फेरि हात हालेपछि पछिल्ला चुनावी सर्भेक्षणहरुमा आफ्नो पकड केही गुमाएपनि अझै पनि केही प्रतिशतले हिलारी नै परिणाममा अगाडी रहेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

विभिन्न निकायले गरेका सर्भेक्षणमा एकदेखि तीन प्रतिशतसम्मले हिलारी अगाडी देखिनु भएको हो । झण्डै साँढे तीन करोड मतदाताले भने मतदानको दिन अगावै मत हालिसकेका छन् ।

दुबै नेताले मतदातालाई आकर्षित गर्न एकार्कामा आरोप प्रत्यारोप गर्नुका साथै ओबामा नीतिको बचाउ र खण्डन गरेका छन् ।

ट्रम्पले इमेल प्रकरणलाई उछालेका छन् भने हिलारीले ट्रम्प महिलाको अपमान गर्ने, आप्रबासी र मुश्लिमहरुको सम्मान गर्न नसक्ने भन्दै आलोचना गरेकी छिन् ।

उता, निर्वाचनको पूर्व सन्ध्यामा आतंकवादी आक्रमण हुनसक्ने सूचना पाएपछि अमेरिकी सुरक्षा अधिकारीहरुले महत्वपूर्ण राज्यहरुमा सुरक्षा व्यवस्था उत्तिकै कडा बनाएका छन् ।

आतंकवादी संगठन अलकायदाले आक्रमणको प्रयास गर्नसक्ने सूचना आएको अमेरिकी जासूसी संस्थाका अधिकारीहरुले जनाएका छन् । (एजेन्सी)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com