हिँसाबिरुद्ध अभियान, कन्चन जस्तै हामी र हाम्रो समाज...

नारायणी देवकोटा,

मङ्सिर १३,

घरमा बिरामी भएकी श्रीमतीको उपचार गर्नु भन्दा बाहिरका युवतीसँग प्रेमको बहानामा यौनको प्यास मेटाउने पुरुषको कथा नया होइन हाम्रो समाजमा!

यसैसंग संबन्धित सामाजिक संजालका पोष्टदेखी सार्वजनिक कार्यक्रमप्रति लक्षित गरिएका केही मानिस (पुरुष) का तर्क छन्, ‘के महिला र बालिका मात्रै हिंसामा पर्ने गरेका छन् ? पुरुषमाथि चाहिं जति पनि हिंसा गरे हुन्छ ? ‘ आदि । महिला वा किशोरी मात्रै हिंसामा परेका हुँदैनन् । पुरुष वा बालक पनि हिंसामा परेका हुन्छन् । पुरुषमाथि पनि हिंसा नहुने हैन बरु कुटपिट र हत्याजस्ता जघन्य हिंसा उनीहरुमाथि नै बढी हुन्छन तर लिंगकै आधारमा हुने संरचनागत पारिवारिक (सामाजिक भेदभाव वा बलात्कार जस्ता यौनहिंसा महिला वा बालिकामाथि धेरै हुन्छन । समाजमा महिला र पुरुषबीचको असमान शक्तिसम्बन्ध कायमै छ । जसले गर्दा आज पनि घरभित्रै पुरुष मालिक र महिला दासको जीवन जिउन बाध्य छन् । हिंसाबिरुद्दका यस्ता अभियानको उद्देश्य पुरुषमाथि चाहिं जति पनि हिंसा गरे हुन्छ भन्ने सन्देश दिनु होइन बरु कुनै लिंगविशेषको भएर जन्मेकै आधारमा महिला र बालिकामाथि हिंसा हुनुहुँदैन भनेर समाजलाई विशेष रुपमा याद दिलाउनु हो ।

किन हुन्छ त महिलामाथि हिंसा ?
‘ चाहे कोहि श्रीमती, प्रेमिका, यौन व्यवसायी वा कोहि यौनसम्बन्ध राख्न चाहन्न भनेर हुन्न भन्छिन् भने त्यसको अर्थ हुन्न नै होु यो भनाई केहि समयअगाडी आएको फिल्म पिंकको सार हो।  यौनहिंसा समाजमा रहेको डरलाग्दो हिंसा हो । तर, हिंसा यौनमा मात्र सिमीत छैन । समाजमा महिलामाथि हुने हिंसाका धेरै रुप छन् र ती हिंसाका सामाजिक कारणहरू छन् । सामाजिक कारणभित्र आर्थिक, राजनीतिक वा सांस्कृतिक कारण पनि पर्छन् । पैतृक सम्पतिमा असमान अधिकार, सांस्कृतिक रूपमै दोश्रो दर्जाको बनाईनु र त्यसलाई राजनीतिक रूपमा नै राज्यले जोगाउने हुँदा महिला माथी हिंसा कायम छ ।

यसको एउटा उदाहरण हुन् अहिले सामाजिक सन्जालमा सबैको चासोको बिषय बनेकी कन्चन शर्मा । विहे गर्ने केटीसंग रुप वा पढाई नमिलिकनै हुने असमानरअनमेल विवाह र त्यसबापत सम्बन्धविच्छेद गर्न पाइने ‘पुरुष अधिकार ‘ को कथाको अलग्गै प्रसंग बन्ला । म यहाँ स्त्रीलिंगकी भएकै आधारमा कन्चन शर्मामाथि भएका टिप्पणीहरु मात्र उल्लेख गर्छु । कन्चन शर्मामाथि भइरहेका अमर्यादित टिप्पणीहरुमा उनको मात्र जिन्दगी होइन हामी धेरैको जिन्दगीको ऐना झल्कन्छ वा भनौं हाम्रो समाजको ऐना झल्कन्छ । हाम्रो समाजले महिलाप्रति गर्ने व्यवहार झल्कन्छ । समाजले महिलाका लागि तोकिदिएका ‘असल मातृत्व’ र ‘कर्तव्यपरायणता’का मापदण्डहरु यतिबेला कन्चन शर्माको बहानामा सामाजिक सन्जालभरि छताछुल्ल छन् ।

एउटी महिलाले रक्सी खाएको वा तास खेलेको जस्ता कुरालाई हाम्रो समाजले कसरी हेर्दोरहेछ, के- के सम्म भन्दोरहेछ भनेर बुझ्न पछिल्लो समय उनको पक्ष-विपक्षमा हरेक दिनजसो सामाजिक संजालमा भईरहेको बहस काफी छ । दश वर्ष अगाडीको फोटो हेर्दा उनी राजनीतिक रूपले सचेत र समाज सेवाको भावना भएकी एक स्वाभिमानी महिलाको रुपमा देखिन्छिन । २०६२र६३ को जनआन्दोलनमा लाठी र गोलीको परवाह नगरी उनले एक बालकलाई बचाउँदै गरेको फोटो दशवर्ष अघिदेखि दसीको रूपमा छ । उनका अनुसार समाजले निर्माण गरेको कथित् मातृत्वको भूमिका निभाउन उनले आफ्नो नर्सको जागिर छोडेकी थिईन । हुनसक्छ विवाह पनि उनको रहरले होईन परिवारका स्वघोषित मान्यजनको दवाबमा गर्नु परेको थियो । यस्तो त प्रायस् अझै हुने गर्छ, उनको बिवाह त अढाई दशक अगाडी भएको ।

आमा र हुर्केका सन्तान बिचमा धेरै निकट सम्बन्ध हुन नपाउने समाज छ हाम्रो । हामी धेरैलाई आफ्ना आमाको यौनरोग त्यसका पिडा पाठेघरको क्यान्सर भएर डाक्टरले भने पछि मात्रै थाहा हुन्छ । केहि समयअघि कान्तिपुर टेलिभीजनको ‘समकोण’ कार्यक्रममा एक स्वास्थ्य स्वयम् सेविकाले भनेपछि थाहा भयो ४० वर्ष पुगे पछि केहि महिलालाई पिसाब चुहिने रोग लाग्ने रहेछ । हामी जन्मेदेखी नसुल्झेको देशको राजनिति र त्यसैको सेरोफेरोमा अल्झेको बौद्दिक बहसले राजनीतिबाहेक अन्य मुद्दालाई अझै मुलधारको विषय मान्दैन् । कन्चन शर्माको पनि मुख्य स्वास्थ्य समस्या रहेछ पिसाब चुहिने । हुनसक्छ त्यहि पिसाब चुहिने समस्याले उनलाई सडकमा ल्याएको होस् । केहि महिना अगाडी मुगुकी एक महिलाका श्रीमान् अर्कै युवतीसँग लागेको थाहा पाए पछि मैले उनलाई ‘तपाईं किन बिरोध गर्नुहुन्नु भनेर सोधेकी थिएँ । उनको आङ खस्ने समस्या रहेछ । उनका श्रीमानले ‘ कि हरेक रात मेरो यौन इच्छा पुरा गर कि म अरुसँग लागेको विरोध नगर ‘ भनेका रहेछन् । घरमा बिरामी भएकी श्रीमतीको उपचार गर्नु भन्दा बाहिरका युवतीसँग प्रेमको बहानामा यौनको प्यास मेटाउने पुरुषको कथा नया होइन हाम्रो समाजमा ।

आज पनि बजारमा धेरै (केहि सक्षम, स्व निर्णयमा चल्न सक्ने बाहेक) महिला बहुत सस्ता माल बराबर छौं । कोही एक जनाको पेवा छौं, कोही धेरै जनाको पेवा छौं फरक त्यत्ति छ । आज पनि कसैकी छोरीको बिवाह भएन भने नेपालका गाउँघरमा ‘फलानाकी नबिकेकी छोरी’ भन्ने चलन छ । केहि अगाडी सम्म ‘बिके बिके न बिके पिके’ अर्थात बिवाह भए भयो भएन भने पद्मकन्या क्याम्पस पढाउने भन्ने कुरा हुन्थ्योु भन्नुहुन्छ समाजशास्त्रका प्राध्यापक मधुसुधन सुवेदी। विवाह अर्थात् बिक्नु, बिक्नु अर्थात् बिवाह हुनु । हाम्रो समाज अझै महिला यौन सन्तुष्टिको लागि बेचिने कुरा हो भन्ने मान्यता छ। त्यसो त कन्चन शर्माका पूर्व पति मोहन रेग्मीले टेलिभिजन क्यामरामा बताएअनुसार उनका दाईले ‘यत्रो वर्ष सुताएको दशलाख मात्रै ? ‘ भनेर बार्गेनिंग गरेका रहेछन् । बार्गेनिग गर्नेले पनि आफ्नी बहिनीको जिन्दगी कुनै पुरुषसँग ‘सुत्नुु बाहेक देखेको रहेनछ । कन्चनका दाई निमित्त पात्रमात्रै हुन् । हामी वरिपरिका लाखौँ अभिभावक छन्, जसले दिदीबहिनिको जिन्दगी कुनै पुरुषको ओछ्यानको पार्टनर हुनु र त्यसबापत खान लगाउन पाउनु बाहेक देखेका सोचेका छैनन् । यो उनीहरुको व्यक्तिगत सोचभन्दा बढी सामाजिक मान्यता हो ।

चाडपर्वमा हुने बुहारीमाथीको बुहार्तन बारे सावित्री गौतमले लेख लेखेपछि एकजना महिलाले त्यसको प्रतिक्रिया स्वरूप अर्को लेख लेखेकी थिईन । उनको लेखको सार थियो, ‘घर भित्र बस्न असह्य छ भने त्यो घर, श्रीमान् छोडे हुन्छ नि’ भन्ने खालको । त्यसो त पोहोरसाल लेखकरराजनीतिज्ञ आहुतिले पनि कुनै सार्वजनिक कार्यक्रममा त्यहि आसयको कुरा गरेको भनेर कवि सीमा आभासले लेखेकी थिइन् । हाम्रो समाजमा ‘श्रीमानको घरमा बस्न सहज छैन भनेर छोडेर हिंड न’ भन्ने धेरै मानिस भेटिन्छन् । यस्ता कुरा सुन्दा म नाटककार हेनरिक इब्सेनको नाटक ‘डल्स हाउस’ सम्झिन्छु । अठारौं शताब्दीको यो नाटकलाई अहिले पनि महिलाका पक्षमा लेखिएको सशक्त साहित्य मानिन्छ । त्रिविको एमए अंग्रेजी साहित्यको कोर्षमा रहेको उक्त नाटक पुरानो बानेश्वरमा रहेको गुरुकुल नभत्किन्जेल बेलाबेला देखाईन्थ्यो । श्रीमानको घर छोडेर स्वअस्तित्वको खोजमा निस्केकी नाटककी नायिका नोरा नाटक सकिएर दर्शक हलबाट बाहिर निस्कँदा कुनै स्टेसनजस्तो ठाउँमा उदास भएर बसेको दृश्यसँगै नाटक सकिन्थ्यो। म कैयौंपटक यो नाटक हेरेर रोएकी छु । वा रुनका लागि हेरेकि छु । नाटक हेरेर खुब प्रभावित भएकी मलाई गुरु खगेन्द्र प्रसाईंले महिला आफैं सक्षम नभई यसरी गरिने बिद्रोह महिलाको हितमा हुँदैन भनेर सम्झाउन केहि दिन लागेको थियो । कैयौं तर्क र कुतर्कपछि मैले गुरुले सम्झाएको कुरालाई स्वीकार गरें र त्यहि बहसको आधारमा लेख लेखेकी थिएँ । उक्त लेख पढेर साहित्यकार अभय श्रेष्ठले चिनिया लेखक लुसुनले ‘डल्स हाउस’ माथी गरेको समिक्षा मलाई ल्याईदिनु भएको थियो । लेखाईको पारा बाहेक लुसुन र मेरो डल्सहाउस माथीको समिक्षा एकै पाए पछि मलाई कसरी हामीले एकै सोच्छौं भन्ने लागेर अचम्म लागेको थियो।

उक्त लेख लेखेको दशवर्ष पछि घरबाट सडकमा आएकी कन्चन शर्माबारे पढेर म स्तब्ध भएँ । उनका श्रीमानका अनुसार उनले कन्चनलाई भनेका रहेछन्, ‘रक्सी खाने र घरमा जो पायो त्यहि मानिस ल्याउने नगर’ भनेर । यो समाजका कति पुरुष होलान् रक्सी नखाने र घरमा साथी नल्याउने र? म अन्दाज गर्छु , यदि सम्पतिमा समान हक हुन्थ्यो भने, घरभित्रको कामको गणना हुन्थ्यो भने राजनीति र समाजसेवामा रुचि भएकी कन्चन शर्मा यतिखेर कुनै नीति निर्माताको कुर्सीमा हुँदि हुन् । एउटी महिला, कथित ‘जो पायो त्यही’ को संगत गरेको, रक्सी खाएको, पिसाब चुहिने रोग भएको वा मानसिक सन्तुलन गुमाएको जस्ता आधारमा घरबाट निकालिनु, उनको दुखको व्यापार र त्यसपछि उनीमाथि लगातार भइरहेको साइबर आक्रमण हाम्रो समय र समाजमा भईरहेको डरलाग्दो हिंसाको रुप हो ।

हिंसालाइ नकारौं
धेरै कारणले जो माथि पनि उल्लेख गरिसकिएका छन्, अहिले पनि नेपाली महिला दोश्रो दर्जाको नागरिक छन् । असमान शक्तिसम्बन्धको कारण आफुमाथि हुने हिंसा सहेर बस्नु पर्ने अवस्था धेरैको छ । बिस्तारै सोचाइमा परिवर्तन हुँदैछ । त्यसको उदाहरण यतिबेला सामाजिक सन्जालमा हिंसाविरुद्दको फ्रेममा फोटो रंग्याइएका जस्तो सामान्य गतिविधि नै पनि हुन् । यसले एउटा आस दिलाएको छ ( समानता चाहने एउटा समूह निर्माण हुँदै छ र त्यसमा महिला पुरुष दुवै पर्छन् । हिंसामा आफु पर्दा पनि अरु पर्दा पनि ठीक होइन भन्न सकौं । समाजमा अब अरु धेरै कन्चन शर्मा नदेखिउन । सोह्र दिने अभियानको शुभकामना !_महिला खबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com