काम एउटै , ज्याला फरक . .

अछाम मङ्सिर ११,

मंगलसेनकी रत्ना ढुङ्गाना घर प्लास्टर गर्ने कामबाट दैनिक तीन सयदेखि पाँच सय रुपैयाँसम्म कमाउँछिन् । उनीसँगै काम गर्ने उनका श्रीमानले चाहिँ दैनिक सात सय ५० रुपैयाँ पाउँछन् । ज्यामी काम गरेरै बिहान–बेलुकाको छाक टार्दै आएको उनको परिवारको ठूलो खर्च रत्नाको कमाइबाट धानिएको छ । दैनिक काम गरेबापत रत्ना र उनका श्रीमान् सँगै ज्याला बुझ्छन् । रत्नाको कमाइ श्रीमान्को भन्दा आधाजति मात्रै हुन्छ । रत्नाले आफ्नो दैनिक तीन सय ५० रुपैयाँ कमाइबाट बालबच्चा पढाउने र घरखर्च चलाउनुपर्छ । श्रीमानचाहिँ धेरैजसो भट्टीतिर जान्छन् र रक्सी खाएर पैसा सिध्याउँछन् ।

रत्नाले पटकपटक श्रीमानको जति नै आफ्नो पनि ज्याला हुनुपर्छ भनेर माग राखिन् । तर, साहुजीले सुने पो । एक दिन रिसाएर बरु काममै नआउनु भने । त्यसपछि रत्ना चुपचाप काम गर्न बाध्य भइन् । रत्ना भन्छिन्, ‘लोग्नेमान्छेले जत्तिकै काम गर्छौं, पैसा दिने बेलामा आइमाई भनेर कम दिन्छन् । काम नगरे खान पाइँदैन । चुप लागेर आइराखेकी छु ।’

घरमा आम्दानी थिएन, खेती–किसानीको कामले पाँचजनाको परिवार पाल्न निकै असहज थियो । दिनभरि दुःख गरेर कमाएको पैसा रत्ना छोराछोरी पढाउन, घरखर्च चलाउन खर्चिन्छिन् । उनका श्रीमान् कहिलेकाहीँ भट्टीमा रक्सी खाएर आएर घरमा निहुँ खोज्छन् । उनी भन्छिन्, ‘मीठो–मसिनो खाने बेला भयो कि तेरो कमाइ नै कम छ थोरै खा भनेर हेप्छन् ।’ ज्यालादारीमा काम गर्दा पुरुषहरू लाठे हुन्छन्, महिलाहरू काम कम गर्छन् भन्ने बुझाइ छ । तर, ज्यामी काममा महिला बढी लगनशील, इमानदार हुन्छन् । त्यही इमानदारीको फाइदा उठाएर ज्यालामा साहुले शोषण गर्दछ । महिला र पुरुषमा असमान ज्याला अछाममा मात्रै होइन, अन्यत्र पनि छ ।

13987202_10208310762101424_851896952_o

मंगलसेन– ६ की कोकिला विक पनि दैनिक ज्यालादारीमा काम गर्छिन् । सदरमुकाममा ज्यामी काम गर्ने महिला, पुरुष बराबरी जस्तै छन् । ज्याला दिने बेलामा भने विभेद हुन्छ । कोकिला तीन वर्षदेखि घरमा रङ लगाउने काम गर्छिन् । उनका श्रीमान् विदेशमा छन् । मजदुरी गरेर नै कोकिलाले सातजनाको परिवार पाल्दै आएकी छिन् । ‘खेती–किसानी गर्दा खान कहिल्यै पुगेन । अहिले महिनामा कम्तीमा नौ हजार कमाउँछु । एउटा छोरालाई ‘ब्याचलर’ पढाइरहेकी छु । अरू स्कुल जान्छन्,’ उनले भनिन्, ‘श्रीमानले पैसा नपठाए पनि छोराछोरी पढाउन र बिहान–बेलुकाको छाक टार्न गाह्रो छैन ।’ उनको गुनासो एउटै छ– बराबरी काम गरे पनि पैसा कम पाउँदा भने काम गर्नै मन लाग्दैन । के गर्नु काम नगरी पनि भएन । जति दिए पनि चुप लाग्यो, काममा आयो ।

सदरमुकामकै ५० वर्षीया मीना ओड पहिले ज्यामी काम गर्न जान्दैनथिन् । नकमाउने भएपछि घरमा पनि हप्कीदप्की गर्न थाले । त्यसपछि उनले पनि ज्यामी काम गर्न थालिन् । अहिले उनी प्लास्टरको काम पनि सजिलै गर्न सक्छिन् । उनी भन्छिन्, ‘श्रीमानले मात्रै काम गर्दा घर चलाउन गाह्रो हुन्थ्यो । आइमाई पनि लोग्नेमान्छेसँगै काम गर्न थालेपछि ज्याला कम भए पनि झैझगडाचाहिँ कम भएको छ ।’ मीना भन्छिन्, ‘उत्तिकै मिहिनेत गर्छु, तर ज्याला हामीलाई कम दिन्छन् । के गर्नु भोकै बस्न सकिँदैन ।’ अहिले मंगलसेनमा करिब ५० देखि ६० महिला डकर्मी छन् । सयभन्दा बढी महिला ज्यामी छन् । महिलाले पुरुषले भन्दा बढी नै मिहिनेत गर्छन् । त्यसैले निर्माण व्यवसायीहरू पुरुषभन्दा महिलालाई काममा राख्न रुचाउँछन् । किनकि उनीहरूलाई ज्याला पनि कम दिए हुन्छ ।

अन्तरपार्टी महिला सञ्जाल अछामकी अध्यक्ष सरस्वती रावल महिलाले समान ज्याला पाउनुपर्छ भनेर पटकपटक आवाज उठाए पनि सुनुवाइ नभएको बताउँछिन् । उनी भन्छिन्, ‘आजको युगमा पनि महिलाले समान कामको समान ज्याला पाएका छैनन् । महिलालाई हेर्ने दृष्टिकोण नै विभेदपूर्ण छ । महिलालाई कमजोर ठान्नु, महिलाले धेरै राम्रो काम गर्न सक्दैनन् भन्नु नै गलत हो ।’

हुन पनि पुरुषले मात्र गर्ने भनिएका घर ढलान गर्ने, सिमेन्ट लगाउने, घरमा रङ लगाउने, बेल्चा लगाउने-लगायतका काम महिलाले पनि उत्तिकै मात्रामा गर्छन् । महिला तथा तथा बालबालिका कार्यालय अछामकी सुपरभाइजर मञ्जु महत भन्छिन्, ‘पुरुषको तुलनामा महिला कमजोर छैनन् । अछाममा आयआर्जनलगायत विभिन्न क्षेत्रमा पुरुषभन्दा महिला नै अगाडि छन् । तर, महिलालाई हेर्ने दृष्टिकोणमा भने विभेद छ ।’

(संचारिका फिचर सेवा)
(विद्युत्मा, अछामकी पत्रकार हुन् ।)
_ महिला खबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com