नेतृत्व तहमा महिला संख्या बढे पनि जिम्मेवारी सिमित . .

काठमाडौं मङ्सिर १५,

महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिका सभापति तथा एमाले नेता रञ्जुकमारी झाले दलभित्र नेतृत्व तहमा पुग्ने महिलाको संख्या बढेपनि उनीहरुलाई निश्चित जिम्मेवारीमा सिमित राख्ने प्रवृति रहेको बताउनुभयो ।

जागरण नेपालले आयोजना गरेको ‘राज्य र प्रमुख राजनीतिक दलहरुका नीतिहरुमा लैङ्गिक समानताको अवस्था पुनरावलोकन’ नामक कार्यक्रममा बोल्दै सभापति झाले खासगरि राजनैतिक दलहरुले महिला नेतालाई एउटै काममा सिमित राख्ने गुनासो गर्नुभयो । पार्टीभित्र पुरुष सदस्यहरुलाई विभिन्न जिम्मेवारी सुम्पेपनि महिलालाई त्यस्तो नगरिने उहाँको अनुभव छ ।

सोही कार्यक्रममा बोल्दै नेपाली कांग्रेस सांसद कमला पन्तले राष्ट्रपति विद्यादेवी भण्डारी, सभामुख ओनसरी घर्ती र प्रधानन्यायाधिश शुशीला कार्कीलाई समेत सम्मिलित गरि महिला सहभागिताका विषयलाई बहसमा ल्याउनुपर्ने बताउनुभयो । संसद पन्तले भन्नुभयो ‘देशको प्रमुख पदमा बस्ने उहाँहरु जस्तो व्यक्ति लैङ्गिक समानताको लागि कति पटक एकै ठाँउमा बस्नु भयो, सोध्न जरुरी छ ।’

कार्यक्रममा बोल्दै माओवादी केन्द्रका सांसद तथा अनेम संघ क्रान्तिकारीका पूर्व संयोजक धर्मशिला चापागाईंले स्थानीय स्तरबाट महिलाको नेतृत्व विकास गर्न आवश्यक रहेको बताउनुभयो । यसैगरि सांसद चन्दा चौधरीले राजनीति दलका घोषणापत्र सहभागिताका हिसावले राम्रा भए पनि कागजमा मात्र सिमित भएकोले त्यसलाई व्यवहारमा लागु गर्न प्रयास गर्नुपर्ने सुझाउनुभयो ।

गैर सरकारी संस्था महासंघका अध्यक्ष गोपाल लम्सालले सामाजिक संघसंस्थाको नेतृत्वमा महिला पुगे पनि राजनीतिक नेतृत्वमा पुग्न नसकेको बताउनुभयो । सोही अवसरमा, काठमाडौं स्कुल अफ लका सहायक प्राध्यापक मिलन धरेलले राज्य र प्रमुख राजनीतिक दलका नीतिहरुमा लैङ्गिक समानताको अवस्थाका बारेमा कार्यपत्र समेत प्रस्तुत गर्नुभयो । यसैगरि, कार्यक्रम आयोजक जागरण नेपालका तर्फबाट निवर्तमान अध्यक्ष शर्मीला कार्कीले राज्यका प्रत्येक निकायमा लैङ्गिक समानता कायम गर्न र आफ्नो हकको लागि निरन्तर लाग्न सबै महिलालाई आग्रह गर्नुभयो । _महिला खबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com