बुवाले दिने भए छोरीलाई मृगौला

फलेवास (पर्वत) कार्तिक १८,

मिर्गौलाको रोगबाट पीडित एक युवतीलाई पर्वत जेसिजले आर्थिक सहयोग उपलब्ध गराएको छ । जिल्लाको कुश्मा नगरपालिका–४ की २० वर्षीया युवती सङ्गीता बास्तोलालाई पर्वत जेसिजले नगद रु ३५ हजार सहयोग गरेको हो । 

चितवन मेडिकल कलेजमा फार्मेसी अध्ययनरत युवती बास्तोला २०७२ साउनदेखि मिर्गौलाको रोगबाट ग्रसित बनेकी हुन् । आर्थिकरुपमा निम्नवर्गीय परिवारमा जन्मेकी बास्तोलाको उपचारमा सहयोग मिलोस् भन्ने उद्देश्यले जेसिजका पदाधिकारीले आफैँ रकम सङ्कलन गरेर सहयोग गरेका हुन् । जेसिजको वर्तमान कार्यसमितिमा रहेका पदाधिकारी तथा सदस्य, पूर्वअध्यक्षहरु लेखनाथ शर्मा र बद्रीनारायण शर्माबाट सङ्कलन गरिएको रकम पीडितका बाबु टङ्कनाथ शर्मालाई बुधबार हस्तान्तरण गरिएको हो । 

बास्तोलाको राजधानीमा उपचार भइरहेको छ । चिकित्सकले बाँस्तोलाको मिर्गौला तत्काल प्रत्यारोपण गर्नुपर्ने सल्लाह दिएपछि उनकै बाबु टङ्कनाथले एउटा मिर्गौला दिने तयारीसमेत भइरहेको छ । यसै साता उनको मिर्गौला प्रत्यारोपण गने तयारी भइरहेको छ । सामान्य परिवारकी उनको उपचारका लागि लाखौँ रुपैयाँ खर्च लाग्ने भएपछि उपचारका लागि सबै निकायलाई आवश्यक सहयोग गरिदिन पीडितका बाबुले अपिल गरेका छन् । उनको मिर्गौला प्रत्यारोपण गर्न बाबु टङ्कनाथ शर्माले नै आफ्नो मिर्गौला दिने तयारी पनि भएको छ । 

पेसाले शिक्षक शर्माले छोरीलाई बचाउनका लागि आफैँ मिर्गौला दिने भएका हुन् । रकम हस्तान्तरण कार्यक्रममा जेसिजका अध्यक्ष राजनकुमार जोशीले पीडित युवतीका बाबु टङ्कनाथलाई रकम हस्तान्तरण गरे । अध्यक्ष जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजन मुना शर्मा लामिछानेले गरेकी थिइन् । कार्यक्रममा जेसिजका तालिम प्रतिष्ठानका संयोजक लेखनाथ शर्मा, क्लबका अध्यक्ष ठाकुर बी पौडेल लगायतले बोलेका थिए । रासस;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com