गज़ल By, कोमल भट्ट
बारी भरी मखमली छ तिहार आयो
आनन्दको खलबली छ तिहार आयो
ताजा भए विगतका रसिला कहानी
मष्तिष्कमा झलझली छ तिहार आयो
पीडा छ भित्र बहुतै परदेश बस्दा
आँखा कठै ! भलभली छ तिहार आयो
वर्षौं बिते विरहले अति दर्द खप्दै
सर्वाङ्गमा खलखली छ तिहार आयो
बन्थे पुरी अनरसा अनि सेल मीठा
झल्को सधैँ सलसली छ तिहार आयो
सन्तापले मलिन भो अनुहार सारा
साह्रै झिनो टलटली छ तिहार आयो
बैनी दिदी पर भए अब भेट्नु कैले
तृष्णा अझै कलकली छ तिहार आयो
समृद्धि,शान्ति,सुख होस् सबका घरैमा
सद्भाव यो हलहली छ तिहार आयो ll
वसन्ततिलका
८ मा विश्राम
-कोमल भट्ट
चन्द्रागिरी न.पा -२१