मुक्त आकाश भाग - २ विमोचित / चेतन कार्की अभिनन्दित

काठमाण्डौ कार्तिक १२,

नेपाल मुक्तक प्रतिष्ठान, इजरायल शाखाद्वारा प्रकाशित संयुक्त मुक्तक सङ्ग्रह " मुक्त आकाश भाग - २" विहीबार काठमाण्डौमा विमोचन गरियो । प्रतिष्ठानका सल्लाहकार तथा वरिष्ठ साहित्यकार चेतन कार्कीले सो कृतिको विमोचन गर्नु भयो । सोही समारोहमा प्रमुख अतिथि श्री कार्कीलाई इजरायल शाखाको तर्फबाट नेपाली मुक्तकलाई लोकप्रियताको चुलीमा पुर्‍याउन दिनु भएको योगदानको सम्मान स्वरुप अभिनन्दन गरियो ।

श्री कार्कीलाई प्रतिष्ठानका महासचिव रमेश पौडेलले फूलमाला र उपाध्यक्ष वियोगी बुढाथोकीले दोसल्ला ओढाउनु भएको थियो भने अध्यक्ष रामकाजी कोनेले अभिनन्दन पत्र प्रदान गर्नु भएको थियो । प्रमुख अतिथि श्री कार्कीले नेपाली युवा श्रमलाई हुत्याएर विदेश पुर्‍याए पनि नेपाली भाषा र साहित्यप्रतिको अगाध प्रेमले मुक्त आकशजस्ता कृतिहरू आएको बताउनु भयो । उहाँले प्रवाशको शाखाबाट अभिनन्दित हुन पाउँदा गौरवानुभूति भएको बताउनु भयो ।

प्रतिष्ठानका अध्यक्ष एवं समारोहका सभापति रामकाजी कोने प्रतिष्ठानका विभिन्न शाखामा सबैभन्दा सक्रिय इजरायल शाखा भएकोले सबै पदाधिकारीहरूलाई बधाई दिँदै प्रतिष्ठानको आगामी कार्यक्रम चेतन कार्कीको एकल मुक्तकवाचन हुने जानकारी दिनु भयो । विमोचित संयुक्त सङ्ग्रहको समीक्षा गर्दै महासचिव पौडेलले केन्द्र, शाखा र अनलाईन मुक्तक प्रतियोगिताका उत्कृष्ट १० जना मुक्तककार समेत ३६ जनाका विभिन्न भावका मुक्तक समेटिएको बताउनु भयो ।

समारोहमा अनलाईन मुक्तक प्रतियोगितामा द्वितीय हुनु भएका सुनिल अधिकारी, साहित्यिक पत्रकार संघका अध्यक्ष नगेन्द्रराज शर्मा, प्रतिष्ठानका सल्लाहकार ज्ञानुवाकर पौडेल र सुवासचन्द्र ढुँगेलले आ-आफ्ना मुक्तक सुनाउनु भएको थियो । केन्द्रकी कोषध्यक्ष निशा के.सी.ले आमन्त्रित अतिथिहरूलाई प्रतिष्ठानको प्रतीक चिन्ह अंकित खादा ओढाउनु भएको थियो भने इजरायल शाखाका सचिव श्रीराम अधिकारीले अनलाईन स्वागत सम्वोधन गर्नु भएको थियो । केन्द्रका सदस्य यादव भट्टर्राईको सूत्रधारीमा सञ्चालित समारोह थकाली चुल्होमा विहानी खानापछि समापन भएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com