तीन महिनामा असी बलात्कार, छत्तीसको हत्या

 ललितपुर असोज १९,

असारदेखि भदौसम्म तीन महिनामा असीजना बालिका, किशोरी तथा महिलामाथि बलात्कार भएको एक अनुगमनले देखाएको छ । सञ्चारिका समूह नेपालले यो तीन महिनामा काठमाडौंबाट प्रकाशित हुने चौधवटा राष्ट्रिय दैनिकमा गरेको सञ्चार अनुगमनले असी वटा  बलात्कारका घट्ना भएको देखाएको हो ।

अनुगमन अवधिमा बलात्कारसम्बन्धी १८५ वटा समाचार सामग्री प्रकाशित भएको समूहद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यो अवधिमा खेलकुद र मनोरञ्जनसम्बन्धी समाचारबाहेक दैनिक पत्रिकाका समाचार, विचार तथा सम्पादकीय सामग्री अनुगमन गरिएका थिए ।

विज्ञप्तिमा महिलामाथि हुने हिंसा   बलात्कार, यौन दुव्र्यवहार, घरेलु हिंसा, दाइजो, हत्या, बहुविवाह, बोक्सी र स्वास्थ्य अधिकार उल्लंघनलगायत सातवटा शीर्षकमा अनुगमन गरिएको जनाइएको छ ।

यो अवधिमा पाँच वर्ष उमेरका छ जना बालिका बलात्कृत भए । यसैगरि छदेखि दश वर्षका २१ जना, एघारदेखि पन्ध्र वर्षका २५ जना बालिका बलात्कृत भएको समूहद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । बलात्कार घटनामा पीडकहरू ११ देखि ६५ वर्ष उमेरका थिए । पीडकमध्ये  सात जना आफ्नै परिवारका सदस्य,  २९ जना छिमेकी, दुईजना शिक्षक थिए । ८० मध्ये एघारवटा वटा सामूहिक बलात्कारका घटना रहेको विजप्तिमा उल्लेख छ ।

यसैगरि यो तीन महिनामा ३६ वटा हत्या भएका छन् । हत्या सम्बन्धी १८५ वटा समाचार सामग्री प्रकाशित भए  । हत्याका घटनामा २३ जना पीडक परिवारका सदस्य, दुई छिमेकी थिए ।

स्वास्थ्य अधिकार उल्लंघनका १५ वटा घटना र १६८ वटा समाचार सामग्री प्रकाशित भएका थिए । यसमा बच्चा जन्माउने क्रममा पाँचजना महिलाको घरमै र नौको स्वास्थ्यकर्मीको लार्पवाही र असक्षमताका कारण अस्पतालमा ज्यान गएको थियो । एक जना महिलाको गर्भपतनपछि भएको संकम्रणका कारण अस्पतालमा ज्यान गएको थियो ।

यो अवधिमा घरेलु हिंसाअन्र्तगत दशवटा  घटनाका ४८ वटा समाचार सामग्री प्रकाशित भए ।

बोक्सी आरोपमा ८ वटा घटना र २७ वटा समाचार सामग्री प्रकाशित भएका थिए जहाँ एक महिलाको हत्या भएको थियो र ७ जनालाइ निर्घात कुटपीट गरिएको जनाइएको छ । यो अवधिमा तीनजना महिलालाई दाइजोका कारण शारिरीक तथा मानसिक यातना दिइएको र एक जना महिलाको हत्या भएको थियो ।

अनुगमनले महिला घरभित्रै असुरक्षित रहेको देखाएको समूहले जनाएको छ । महिला सानो विवाद मै मारिएका र आफन्तबाटै बलात्कृत भएका छन्, आधारभुत स्वास्थ्य अधिकारबाट बंचित छन् ।

बलात्कारका घटना बढेका छन बालिका, असक्त, एकल र श्रीमान बैदेशिक रोजगारमा रहेका महिला बलात्कारीका निशानामा परेको विज्ञप्तिमा जनाइएको छ । समूहका अनुसार बलात्कारका घटना बढ्नुको कारण मोवाइल इन्टरनेटको अपरिपक्व प्रयोग, अश्लील फिल्मको सहज उपलब्धता, मदिरा सेवन, कानुनी चेतनाको अभाव, अभिभावकले छोराछोरीको उचित हेरविचारमा ध्यान नदिनु रहेको अनुगमनका क्रममा देखिएको छ ।

सञ्चारिका समूहले सञ्चारमाध्यममा महिला हिंसाका समाचार कति आएका छन् ? ती समाचारले कस्तो प्राथमिकता पाइरहेका छन् ? समाजमा के कस्ता लैंगिक हिंसा भइरहेका छन् र ती सम्बन्धमा कस्ता समाचार सामग्री आइरहेका छन् भनेर सञ्चार अनुगमन गर्दैआएको छ ।_महिला खबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com