सालको पात बेचेर तिहार खर्च जोहो

कपिलवस्तु कार्तिक ६,

पार्वती पाण्डे : तिहार नजिकि‌ँदै गर्दा हुने खानेले दाजुभाईलाई मिठा चिज लिन वजारमा मालसामान किन्ने हतारो भईरहदा कपिलवस्तुको उत्तरी भेगका बिपन्न थारु महिलालाई सालको पातवाट दुना टपरी गाँस्नु भ्याइ नभ्याइ छ । यीनै दुना टपरी र सालको पात बिक्री गरेर तिहारका लागि खर्च जुटाउन उनीहरू रातदिन लागि परेका छन् ।

। तिहारमा हुने खर्च धान्नका लागि उक्त क्षेत्रका धैरै विपन्न महिलालाई जंगलवाट सालको पात टिपेर दुनाटपरी गाँस्न र शहर वजारमा लगि बिक्री गर्न भ्याई नभ्याई छ । कतिपयले पाते बेच्ने गरेका छन् ।

बजारमा सालको पातको माग धेरै भएकाले जिल्लाको धनकौली, जयनगर, मोतिपुर, बरकूलपुरलगायतका गाउँ बिपन्न परिवारका महिलालाई पात र दुना टपरी बेचेर तिहार खर्च जुटाउन सहज भएको छ ।

तिहारमा देउसी भैलो खेल्नेलाई सिदा दिन होस वा चेलीबेटीले आ आफ्ना माइतीलाई मिठो परिकार खुवाउन सालको पातबाट बनेका दुना टपरीको प्रयोग अत्यधिक हुने गर्दछ । त्यसैले सालको पातको माग अहिले धेरै भएको उनीहरू बताउँछन् ।

यहि चलनले तिहारको आगमनसँगै सालको पात बेचेर जीवन गुजारा गर्ने कपिलवस्तुका विपन्न परिवारको अहिले उत्साह बढाएको छ । वर्षौदेखि राष्ट्रिय बनबाट सालको पात ल्याएर तौलिहवा बजारमा विक्री गरि परिवार धान्दै आएकी जयनगरकी ५० वर्षीया सुनरी थारुले तिहारका बेला सालको पात बढी विक्रि हुने बताइन् । अरु बेला भन्दा बढि आम्दानी भएपछि सालको पात बेचेरै ११ जनाको परिवारसँगै तिहार उम्काउने योजना रहेको उनले सुनाइन् । उनीहरू विहान ४ वजे उठेर सदरमुकाम तौलिहवा वजारमा पात विक्रिका लागि हिँडेरै आउने गर्छन् ।
_महिला खबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com