प्रचण्डको भारत भक्तिले सम्झायो राजतन्त्र

अनिल पाण्डे,

भारतभक्ति समस्याको विषय होइन । कुनै पनि देशप्रक्ति आस्था र भक्ति सिर्जना हुनु आपत्तिको विषय हुनसक्तैन । काठमाडौंका सडकमा ‘आई लभ युएस’ लेखेका भेस्ट किन्न पाइन्छ, लगाएर हिंडेका नेपाली पनि भेटिन्छन् । अमेरिकाप्रति मात्र होइन, मलेसिया, जापान, जर्मनी, युके, फिलिपिन्स, श्रीलंका, चीनआदि थुप्रै मुलुकप्रति आस्था जगाउने टीसर्ट लाएका मानिस भेटिन्छन् काठमाडौंमा । आफ्नै मुलुक नेपालप्रति आस्था र सम्मान प्रकट गर्ने सन्देशयुक्त पहिरन त स्वाभाविकै छ ।

यत्ति हो, ‘नेपालमा आई लभ इण्डिया’ लेखेको टीसर्ट बेच्न राखेको र कुनै नेपालीले लाएर हिंडेको देखिएको छैन । नेपालस्थित भारतीय राजदूतावासबाट मासिक तलब बुझ्ने सयांैको झुण्डले पनि यो हिम्मत गरेको देखिएन । किन ?

किनभने भारतले नेपालीको मन जितेर व्यवहार नै गरेन । अहिले मधेशलाई नेपालबाट टुक्र्याउन चाहने शक्तिलाई रोटीको टुक्रा फाल्दै हिंडिरहेको छ ऊ । एक मधेश एक प्रदेशवाला मधेशी दलहरुलाई त उसले खुलमखुल्ला डिनर र लञ्च नै गराइरहेको छ । भारतीय नेताहरुको आड पाएर मधेशी दलहरु नब्य प्रतिशत जनप्रतिनिधिले पारित गरेको नेपालको संविधान २०७२ लाई आगोलगाउने दुस्साहस गरिरहेका छन् । 

जनसंख्याको आधारमा उम्मेदवारी हुनेगरी फेडेरल–सभा बन्नुपर्छ भनेर हिमाली र पहाडी क्षेत्रलाई मरुभूमीकरण गर्न हात छोएर लागेका मधेशी शक्तिहरुलाई भारतले काखमा सुताएको छ । जसले आफ्नो एजेण्डामा सहमति जनायो र नेपालको हितलाई लात मार्ने दुस्साहस ग¥यो उसलाई सरकारमा ल्याउन भारतीय नेताहरु कत्ति पनि असजिलो मान्दैनन् । अहिले त्यस्तै भएको छ, केपी शर्मा ओली, कमल थापालगायतले थोरै मात्र नेपालको राष्ट्रियताप्रति के अडान राखेका थिए, सरकारबाट बाहिरिए । 

‘भारतीय एजेण्डालाई हामी शिरमा राख्छौं’ भनेर पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले हरियो झण्डा उचाल्नासाथ उनीहरुको हातमा नेपालको सक्ता आइप¥यो । यस प्रकारको निहित स्वार्थमा लागेको भारतप्रति नेपालीको सम्मान छैन, केवल खुला बोडरको छिमेकी भएका कारण ‘हस्, हजुर’ भन्नुपर्ने बाध्यता मात्र छ ।

यस प्रकारको नेपालीमाथि भारतीयको हस्तक्षेपकारी नीतिलाई बुझेर परराष्ट्र नीति बनाउने काम नेपालमा कसले ग¥यो भनेर हेर्दा राजतन्त्रको सम्झना आउँछ । होला, नेपालका सबै राजा र युवराजहरु महेन्द्र–बीरेन्द्रजस्ता दीर्घकालिक सोच भएका र सज्जन भएनन्, तर राष्ट्रियताको सबालमा नेपालीको आत्मबल बढाउने काम उनीहरुले नै गरे । 

बीपी कोइराला, मनमोहन अधिकारी, गणेशमान सिंहजस्ता केही दलीय नेताले पनि भारतलाई ठीक ठाउँमा उभिन लगाउने प्रयास गरेका थिए, तर पार्टीका अन्य प्रभावशाली नेताहरुलाई भारतले प्रत्यक्ष–परोक्ष रुपमा किनिदियो । उसको विरोधमा एक पटक बोले पनि आजीवन सरकारमा जान पाइन्न भनेपछि कसले हिम्मत गर्ने ?  बीपी कोइरालाजस्तो व्यक्तिले त दोहो¥याएर प्रधानमन्त्री हुन पाएनन् ।

पछिल्लो समयमा पूर्व प्रधानमन्त्री ओली र राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रचण्डले भारतमा गएर संविधान संशोधनको एजेण्डामाथि जुन सल्लाह लिए, त्यसमा कडा शब्दमा आलोचना गरिरहेका छन् । ओलीले प्रचण्डलाई भारतीय इशारामा चलेको अभिव्यक्ति मात्र दिएका छैनन् नेपालको संविधान संशोधनका विषयमा समेत भारतलाई आमन्त्रण दिएर राष्ट्रियतामाथि घात गरेको आरोप लगाएका छन् । भारतीय जनता पार्टीका एक नेताको भनाइ भन्दै मिडियामा आएअनुसार नेपालका पूर्वप्रधानमन्त्री ओलीको गत साता सम्पन्न बैंकक भ्रमण स्वास्थ्य परीक्षण नभएर राजनीतिक भेटवार्तामा केन्द्रित रहेको थियो ।

मिडियाका अनुसार भारतीय गुप्तचर संस्थाका प्रमुखसंँग भेटवार्ता गर्न र वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध योजना बनाउनका लागि ओलीकै पहलमा बैंकक भ्रमण तय भएको हो । पछिल्लो समय भारतीय गुप्तचर संस्था रअले दक्षिण एशियाको समस्या समाधानका लागि थाइल्याण्डमा छलफलको केन्द्र बनाउने गरेको छ । अघिल्लो माघमा पूर्वराजा ज्ञानेन्द्र शाहसंँग पनि बैंककमै कुराकानी भएको थियो । रअका प्रमुख राजिन्दर खन्ना पनि सोही हप्ता थाइल्याण्ड भ्रमणमा गएको बताइन्छ । ओली र भारतीय गुप्तचर विभागका प्रमुख खन्नाबीच वैचारिक समानता छ । 

यस विषयमा नयाँ दिल्ली भ्रमणका क्रममा तत्कालिन नेपालका प्रधानमन्त्री ओली र र प्रमुख खन्नाले आपसमा छलफल समेत गरेका थिए ।

यस सन्दर्भमा प्रष्ट हुनुपर्ने विषय के भने, नेपालका नेता तथा शासक नेपाली जनताले बनाउने होइन, भारतले बनाउने हो । सबैलाई भारतीय शक्तिसँग नजिक हुनुछ । नेपाली जनताले त कसैलाई नेता मानेर मतदान गर्ने मात्र हो, सत्ता दिलाउने काम त भारत दाहिना नभई सम्भव देखिएन । त्यसैले देउवा, ओली हुन् वा प्रचण्ड, मौका मिल्नासाथ भारतीय नेताको कमिजको फेर समाउन पुगिहाल्छन् । विगतमा नेपालका राजा–महाराजाहरुले पनि यसै गरे । राजा त्रिभुवनले त सपरिबार गहनाको पोको ल्याएर नयाँ दिल्लीलाई राख्न दिएकै हुन् शरणार्थी हुन पाउँ भन्दै । तरपनि राजा महेन्द्र र वीरेन्द्रले भारतलाई ठीक ठाउँमा उभिन बाध्य पारे । सायद ज्ञानेन्दमा त्यस प्रकारको सोच र तयारी नभएका कारण पनि उनलाई नेपाली जनताले साथ दिनसकेनन् । उनका पछि आउने पारसले त भविष्य अन्धकार नै देखाए । ज्ञानेन्द्र र पारसमा महेन्द्र र वीरेन्द्रको जस्तो दिमाग र सोच भइदिएको भए राजतन्त्र नेपालको ठीक त्यस्तै गहनाका रुपमा रहनसक्थ्यो जसले बेलायत, जापान, थाइल्याण्ड र थुप्रै  मुलुकमा छ ।

राजतन्त्रात्मक व्यवस्थाले राष्ट्रियताको चिन्तन बढाउन सघाउने विशेष क्षमता राख्छ । मुलुक नरहे राजा नरहने अवस्थाका कारण हरक्षण मुलुक भक्ति र राष्ट्रियता उसको चिन्तनको विषय बन्नपुग्छ । फेरि खर्चका हिसाबले राष्ट्रपतिभन्दा राजा पाल्न मुलुकलाई सस्तो पनि पर्नेरहेछ । कति जना पूर्व राष्ट्रपतिलाई पाल्ने र उपचारका लागि राजस्व खर्चेर विकसित मुलुकतिर पठाइरहने ? 

त्यसैले, नेपालीले हृदयेन्द्रलाई नेपालको राजा बनाउने र खर्च कटौती गर्ने, अनि राष्ट्रियता अभिवृद्धि गर्ने वातावरण तयार पार्न तयारी गर्नुपर्छ । 

राजदूतहरुको ओहदाको प्रमाणपत्र लिन, कुमारीको दर्शन र मच्छेन्द्रनाथको पुरानो भोटो हेर्नेजस्ता औपचारिकताका लागि नेपालले बढी खर्च गर्न सक्तैन । मुलुक संघीयतामा गएका कारण मुलुकको खर्च ह्वात्तै बढेको अर्को पक्ष त छँदैछ । संघीयतामा गएका विश्वका कतिपय मुलुकमा पनि प्रादेशिक शासन व्यवस्था छ, हामी पनि त्यही शैली अपनाउन सक्छौं । राजा पालेर समृद्ध जापान हुने कि राष्ट्रपति राखेर बंगलादेश बन्ने, समयमै सोच्नु आवश्यक छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com