कबिता- 'आमा! बा लाई बिदेश नपठाउनुहोस '


-धरती कल्पना

-बिन्ती आमा!
बालाई बिदेश नपठाउनुहोस।
मेरो भबिष्यको चिन्ता गरेर
बालाई बिदेश नपठाउनुहोस

म दुई महिनाको भ्रुण हुँ।
गर्भ भित्रै बाट तपाइको ढुक्ढुकी छाम्न सक्छु।
आमा!
बालाई बिदेश नपठाउनुहोस।

पहिलो पटक जब धरतिमा अवतरण हुनेछु।
प्रकृतिको नियम अनुसार अवस्य रुनेछु।
त्यो पल मलाई फकाउन……
मुखमा चुहाई दिनु छातिको अमृतधारा
...र सम्झेरै पनि नबिर्सी एउटा हातमा थमाइ दिनु कलम र अर्को हातमा राखिदिनु खोरिया खोस्रीने औजार।

तर!बिर्सेर पनि
पैसा र बिलासिताको खेलौना दिँदै नदिनु।
म प्राकृतिक बाँच्न चाहन्छु।
त्यसैले,बालाई बिदेश नपठाउनुस आमा।

लाले दाईले सिलाएको भोटो ,
रामे दाईले बनाएकै चप्पल लगाएर
छाती भरी पुस्तक च्यापी जाउँला बरु
घण्टौँ टाढाको छाना नभएकै
त्यही पाठशाला ।।

त्यस माथि तपाईँले सिकाउनु मानवताको संस्कार
ठड्याई दिनु म भित्र नैतिकताको स्तम्भ
प्रयास गर्नु साधारण मान्छे बनाउनलाई

तर बालाई बिदेश नपठाउनुहोस आमा……

जुनकीरीले पुल्टो बालेर सजाएको गाउँ छोडेर
नजाउँला शहरको रमझममा
जहाँ,मध्यरात जुनमायाको चित्कार गुन्जिन्छ।

अहम खाएर,घृणा डकार्ने त्यो शहर बिच
स्वतन्त्रता कैद गरेर उठाईएको ठूलो भवन भित्र नबसौँला
जहाँ निसासियोस आफ्नै फोक्सोको श्वास
त्यसैले……
आमा!बालाई बिदेश नपठाउनुहोस।

आमा!
सपनाको झोला भिरेर बिदेश गएकाहरु
आफै भरिएर आउछन बन्द बाकस भरी-भरी..

जिउँदो फर्किनेहरु
उतै बुझाएर आउछन यौवनको लालपुर्जा।
फेरि किन बिदेशिनु पर्यो?
भो आमा!बालाई बिदेश नपठाउनुहोस।

तै पनि मान्नु भएन भने बा...
तगारोमा राखी दिनु
सिन्दुर,पोते,चुरा र मायाको चिनो"म"
अनि बगाई दिनु आँखा बाट
......सप्तकोसी र कर्णाली।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com