गजल By, कोमल भट्ट


गजल By, कोमल भट्ट

चोखो निष्ठा,प्रार्थना र पुकार भेटिॅदैन
सद्भावले भरिएको,विचार भेटिॅदैन

आक्रान्त छिन् मातृभूमि बेइमानीबाट
दोषरहित स्वच्छ सफा बजार भेटिॅदैन

उच्छृङ्खलता चुलिँदै छ समाजमा रोजै
आफ्नो गौरव झल्काउने शृंगार भेटिॅदैन

मेहनती छैनन् प्राय: अल्छी भए धेरै
निष्क्रियता उर्लेको छ रफ्तार भेटिॅदैन

समस्याले ग्रस्त भए सबै क्षेत्र ऐले
समाधानको आस गर्ने आधार भेटिॅदैन

चारैतिर बढेको छ अधर्मीको ताँती
जति खोजी गरे पनि उदार भेटिॅदैन

गुरुजन र मान्यजनको कदर छैन कतै
सरल,शिष्ट,अनुशासित,आभार भेटिॅदैन

बेहाल छ जिन्दगानी दलदलेमा फस्दा
कहाँ होला पार लाग्ने,किनार भेटिॅदैन

मेची काली मिले मात्र बन्छ देश हाम्रो
सद्प्रेम र भातृत्वको प्रसार भेटिॅदैन

-कोमल भट्ट
चन्द्रागिरी न.पा -२१
काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com