आफ्नै छोरी र भान्जी बेच्ने २० बर्ष पछी पक्राउ

 दिनेश थापा,
सिन्धुपाल्चोक भदौ ३०,

सञ्चारिका समूहले गतहप्ता सिन्धुपाल्चोक सदरमुकाम चौतारामा किन रोकिएन मानवबेचबिखन भन्ने विषयमा समकोण कार्यक्रमको छायाकंन गरेको थियो । सञ्चारिकाको कार्यक्रममा सहभागी धेरैले प्रहरीको काम प्रति तिव्र आक्रोश पोखेका थिए । बेचबिखनमा संलग्नहरूलाई अदालतले कैद सजाय सुनाएपनि प्रहरीले पक्राउ नगरेको, बैदेशिक रोजगारीमा ठगीमा संलग्नविरुद्ध दिएको जाहेरी प्रहरीले लिन नमान्नेलगायतका आरोप प्रहरीलाई लगाएका थिए ।

प्रहरी प्रति सहभागी आक्रोशित भएपछि समकोण कार्यक्रम  प्रशारण नहुँदै बेचबिखनमा संलग्नको खोजी कार्य सिन्धुपाल्चोक प्रहरीले तिव्र पारेको छ र दुई जनालाई पक्राउ समेत गरेको छ । ‘प्रहरी प्रति धेरै नै आक्रोश देखियो ,त्यसैले हामीले अदालतबाट दोषी ठहर्याएका र पीडितले दिएका व्यक्तिको खोजबिन सुरु गरेका छौं’ जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृतले भने । यो कार्यक्रम आउँदो असोज ७ गते शुक्रवार प्रसारण हुँदैछ ।

जिल्ला अदालतका तत्कालिन जिल्ला न्यायाधीश अन्नतराज डुम्रेको इकल इजलासले मानव बेचविखनमा संलग्न रहेको अभियोगमा बजिरसिंह तामाङलाई १ सय ७० वर्ष सजाय सुनाइएको थियो । लामासँगै पक्राउ परेका टेकबहादुर सुनुवारलाई पनि जिल्ला अदालतले १२ वर्षको सजाय सुनाएको थियो, तर सोही अभियोगमा फरार दावा तामाङ, काइली भनिने माइली बिकसहित चार जनाको मुद्दा भने अदालतले त्यतीबेला मुल्तबीमा राखेको थियो । ‘आरोपितहरू तत्काल पक्राउ नपरेपछि उनीहरूको मुद्दा मुल्तबीमा थियो’ अधिवक्ता भेषराम ढकालले भने । काठमाडौंमा लुकेर बसेको अवस्थामा विशेष सुराकीको आधारमा आफुहरुले माइली विब लाई पक्राउ गरेको प्रहरी निरीक्षक केदार बस्नेतले जानकारी दिए ।

चारजनाको मिलेमतोमा त्यतिबेला बेचिएका महिलामध्ये एकजना काइली बिककी आफ्नै छोरी अर्की भाञ्जी थिइन् । छोरीले भने मुद्दा दर्ता नगरेपनि भाञ्जीसहित अन्य तिन जनाले प्रहरीमा सबैविरुद्ध जाहेरी दिएका थिए ।  माइलीे विक २०६४ असोज २ देखि फरार रहेको प्रहरीले जानकारी दियो ।माइलीसहितको टोलीले आफ्नी छोरी, भान्जीसहित ३ जनालाई भारतको विभिन्न वेश्यालयमा लगेर बेचेका थिए ।

माइलीसहितका अभियुक्तविरुद्ध एकजना पीडितले  २०६६ मा र अरु दुईजनाले ०६७ र ०६८ सालमा जाहेरी दिएका थिए । माइली चेलिबेटीबेचबिखनका अन्य घटनामा समेत संलग्न रहेको प्रहरीको भनाइ छ ।

माइलीले जाहेरवाल तीन जना किशोरीलाई फकाएर जिल्ला प्रशासन कार्यालयबाट पासपोर्ट समेत आफैँले बनाइदिएकी थिइन् । पासपोर्ट बनेपछि काठमाडौंमा रहेका बच्चु बिकको घरमा केही दिन तिनैजनालाई राखिएको  थियो । केही दिनपछि उनीहरूलाई वीरगंज हुँदै भारतको बेश्यालमा लगेर बचेको पीडित किशोरीले प्रहरीमा दिएको जाहेरीमा उल्लेख गरेका छन् ।  जिल्लाबाट लगेर काठमाडौंमा पाँचदिनसम्म राखेपछि दावा र माइलाका साथमा उनीहरूलाई भारत लगिएको थियो । चेलीबेटी बेचबिखनमा यस अघि जिल्ला अदालतले टेकबहादुर सुनुवारलाई १२ वर्षमात्रै कैद सजायको फैसला गरेपनि पीडित सजाय थारै भएको भन्दै पुनरावेदन अदालत गएका थिए । पुनरावेदनले  उनलाई  २० वर्ष कैदको फैसला गरेको छ ।_महिला खबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com