बैतडी भदौ १९,
बैतडीमा संस्थागत सुत्केरीको संख्या बढ्दै गएको छ । तीन बर्षको तथ्यांक बिश्लेषण गर्दा संस्थागत सुत्केरीको संख्यामा बृद्धि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । तीन बर्षको अवधिमा २४ प्रतिशतले संस्थागत सुत्केरीको संख्यामा बढोत्तरी भएको हो ।
आर्थिक वर्ष २०७०÷७१ मा ४२ दशमलव २ प्रतिशत संस्थागत सुत्केरी हुनेको संख्या रहेकोमा २०७१÷७२ मा त्यो संख्या बढेर ५७ दशमलव ३ प्रतिशत पुगेको थियो ।
गत आर्थिक वर्षमा ६६ दशमलव २८ प्रतिशत संस्थागत सुत्केरी रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका पब्लिक हेल्थ नर्स ममता जोशीले जानकारी दिइन् । जोशीका अनुसार १७ दशमलव ४ प्रतिशत महिला अझै पनि घरमा नै सुत्केरी हुने गरेका छन् । बाँकी करीब १८ प्रतिशत महिलाहरु जिल्ला बाहिरका स्वास्थ्य संस्थामा बच्चा पाउने गरेका छन् ।
तर स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली अनुसार जिल्लाभरीको संस्थागत सुत्केरीको संख्या र घरमा हुने सुत्केरी संख्या मात्रै प्राप्त हुने गर्छ । जिल्ला बाहिर गएकाहरुको तथ्यांक स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा नअटाउने जोशीले बताइन् ।
प्रसुती सेवा केन्द्रको विस्तार, जनस्वास्थ्य गतिविधिको बिस्तार, स्थानीस्तरमा सचेतना फैलदै गएपछि संस्थागत सुत्केरीको संख्यामा वृद्धि भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका परिवार नियोजन सुपरभाइजर किशोर अवस्थीले जानकारी दिए ।
बैतडीमा अहिले १ सय १६ ओटा वर्थिङ सेन्टरबाट सुरक्षित प्रसुती सेवा प्रदान भइरहेको छ । जिल्लालाई नै आगामी २०७४ भित्र पूर्ण संस्थागत सुत्केरी घोषणा गर्ने लक्ष्यका साथ काम भइरहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा। गुणराज अवस्थीले जानकारी दिए ।
नेपाल सरकारको प्रोटोकल अनुसार गर्भजाँच गराउने संख्या पनि विगतका वर्षहरुभन्दा बढ्दै गएको छ । नेपाल सरकारले गर्भजाँच गराए बापत र स्वास्थ्य संस्था सुत्केरी भएवापत प्रोत्साहन भत्ता समेत दिने भएकाले यो संख्यामा केही बढोत्तरी भएको छ ।
पहाडी जिल्लामा चारपटक प्रोटोकल अनुसार गर्भजाँच गराएमा ४०० र स्वास्थ्य संस्थामा सुत्केरी भएमा १ एक हजार प्रोत्साहन भत्ता सरकारले उपलब्ध गराउने गर्छ । _स्वास्थ्य खबर;