'इजलासमा इश्वर' नवीन प्यासी


कविता 'इजलासमा इश्वर'-नवीन प्यासी

वेश्यालयको बिरामी खाटले केही पलको बिश्रामपछि...

जब बजाउन थाल्छ शोकधुन !
तब पाक्न थाल्छ चुल्हामा उत्साहका गेडाहरु,
कोर्न थाल्छ कलिला हत्केलाले रङ्गीन भाग्यरेखाहरु,
छरिन थाल्छ अँध्यारो कोठैभरी अबोध मुस्कानको किरणहरु ।

सेतो साडीको पानामा...

जब लाइन लाग्न थाल्छ मर्दपनको हस्ताक्षरहरु
तब सल्काउन थाल्छ अगरबत्तीले आफ्नै जिन्दगी,
ठोक्काउन थाल्छन् घण्टीहरुले आफ्नै निधार,
सुरु हुन्छ मान्छे जस्तो देखिने पुजारीको पुजा ।

जब बिउँझन्छ थाकेको बिहान केही थोपा उज्यालो बोकेर-

तब राख्न पाउँछ बालकले
बिद्यालयको आँगनमा आफ्नो पाइलाहरु,
भन्न पाउँछ गुरुहरुलाई आफ्नो ठेगाना र बाबुको नाम,
छुन पाउँछ किताबभित्रको देशको मानचित्र र राख्न पाउँछ छातीमा हात ।

नाप्न पाउँछ फराकिलो आकाशमा आफ्नो आँखाको क्षेत्रफल,
बोक्न पाउँछ झोलामा सपनाको मंगल ग्रह,
खेल्न पाउँछ उसको चाहनाहरुभन्दा लामो बाटो डुलीहिड्ने पुतलीहरुसँग ।

उनले पनि...
बुझ्न पाउँछिन भलाद्मी र बुख्याँचा बिचको फरक,
हेर्न पाउँछिन नाङ्गो सडकमाथी
मार्सिडिज, टोयोटा र मारुतीहरुको इनअर्ग्यानिक किचाई,
नियाल्न पाउँछिन् सभ्य शहरको अश्लील दैनिकी ।

जब उनी निभ्नै लागेको साँझमा-

खहरेले सोहरेको फुस्रो भूइं जस्तो ओंठ,
केहीवटा बटम चुँडिएको चोली,
र उनको जवानीभन्दा निराश साडीसँग फर्कन्छे
तब लाग्छ उनलाई की ,"इश्वरहरु अचेल मन्दीरमा बस्दैनन्।"

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com