झोलामा औषधि बोकेर डा केसी रोल्पामा बिरामी उपचार गर्दै..

रासस,
रोल्पा भदौ ३०,

कसैलाई थाहै नदिएर डा गोविन्द केसी रोल्पा आएर बिरामीको उपचार गरेका छन् । झोलामा औषधि बोकेर सार्वजनिक बसमा आएका डा केसीले बुधबार बिहानदेखि सुलिचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेर बिरामीको उपचार थालेका हुन् । 

प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज डा मिलन बज्राचार्यका अनुसार डा केसी बिहान १०ः३० बजे सुलिचौर पुगेका थिए । स्वास्थ्य केन्द्र पुग्नुभन्दा दुई घन्टाअघि मात्र डा केसीले इन्चार्जलाई जानकारी दिएका थिए । मङ्गलबार बिहान काठमाडौँबाट हिँडेका उनी बेलुका सदरमुकाम लिवाङ आएका थिए । सहयोगीबिना एक्लै आएका उनी बुधबार बिहानै सार्वजनिक बसबाट सुलिचौर हिँडेका थिए । 

यसपटक सदरमुकामबाट करिव २१ किलोमिटर पूर्वको सुलिचौरमा उनले उपचार थालेका छन् । प्राथमिक स्वास्थ्य केन्द्रका अनुसार डा केसीले बुधबार पहिलो दिनमै ६० भन्दा बढी बिरामीको उपचार गरेका छन् । बेलुका ५ बजेसम्म ओपिडीमा उनले बिरामी जाँचेका थिए । आपैmँले बोकेर ल्याएको औषधि बिरामीलाई वितरण गरिएको डा बज्राचार्य बताउँछन् । 

डा. केसी रोल्पाको सुलिचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामीको उपचार गर्दै । तस्बिर उमा केसी, रोल्पासरकारलाई असोज २ गतेसम्मको अल्टिमेटम दिएका डा केसी सुलिचौर आएको थाहा पाएपछि बजार क्षेत्रका बिरामी उपचारमा गएका थिए । हाडजोर्नीका विशेषज्ञ केसी सुटुक्क आएकाले धेरै बिरामी आएका छैनन् । ‘रोल्पाली विपन्न बिरामीको उपचारमा सघाउने मनसायले आएको हुँ’ डा केसीले पत्रकारसँग कुरा गर्दै सरकारले आफ्ना माग पुरा गर्न गम्भीरता नदेखाएकाले संविधान जारी भएकै दिन असोज ३ गतेको अनसनका लागि यहाँबाट आफू बिहीबार बेलुका नै काठमाडौँ फर्कने बताए । 

डा केसीले भने, “दुई दिन भएपनि सेवा दिन आएको हुँ ।” विपत्ति परेको बेला मात्र होइन अरुबेला पनि दुर्गम गाउँमा पुगेर बिरामीको उपचार गर्न हौसिने डा केसी दोस्रोपटक आएका हुन् । दुई वर्षअघि उनी जिल्ला अस्पताल, रेउघा आएर स्वास्थ्यकर्मीलाई हाडजोर्नीसम्बन्धी आधारभूत ज्ञानको अभिमुखीकरण गरेका थिए । त्यति बेलापनि बिरामीको उपचार गरेका थिए । शिविर बुधबार र बिहीबार बेलुकीसम्म चल्ने बताइएको छ । 

चिकित्सा शिक्षा नीति अलपत्र पारेको र नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन लागेको भन्दै सरकारलाई नवौँ सत्याग्रहको अल्टिमेटम दिएका डा केसीले आफ्नो माग पूरा नभए रोल्पाबाट फर्केलगत्तै पुनः अनसन सुरु गर्ने बताए । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com