यातायात मजदुर र सवारी दुर्घटना

शरद सुवेदी - उपाध्यक्ष :अखिल नेपाल यातायात मजदुर संघ, केन्द्रीय समिति

सार्वजनिक सवारी साधनहरुको दुर्घटनाले नेपालको सार्वजनिक सवारी यातायात अत्यन्तै असुरक्षित बन्दै गईरहेको छ । ठूलो धन जनको क्षती भएको छ । सार्वजनिक यातायात प्रतिको आम सर्वसाधारण मानिसहरुको विश्वासको धरातल अडिनै नसक्ने गरी डग्मगाएको छ । ट्राफिक प्रहरी लगायत अन्य सरोकारवाला संघ संस्थाहरुले निकालेको तथ्याङ्कमा ८० प्रतिशत भन्दा बढि दुर्घटना सवारी चालकको लापरवाहीबाट हुने गरेको उल्लेख छ । दुनहुँ भईरहेका सवारी दुर्घटनाले नेपाली चालकहरु माथि नै प्रश्न चिन्ह उठ्न थालिसकेको छ । के साँच्चै चालकहरु मात्रै दुर्घटनाका कारण हुन त ? यस आलेखमा सवारी दुर्घटनामा चालकहरुको भूमिकाको विषयमा प्रष्ट पार्ने कोशिष गरिएको छ ।

सार्वजनिक सवारी यातायातका चालकहरुले दिनहुँ दर्जनौं मानवीय कावुका अत्यन्तै जोखिमयुक्त परिस्थिति झेल्दै आफ्नो गन्तव्यमा पुगेका हुन्छन्, ति चर्चाका विषय हुँदैनन जब मानवीय कावू भन्दा वाहिरको परिस्थिति सृजना हुन्छ, त्यो दुर्घटना हुन्छ, चर्चा र खोजिको विषय बन्छ । सवारीको साँचो चालकसँग भएको हुनाले चालकको लापरवाहीका कारण दुर्घटना हुन्छ भन्ने किसिमको बुझाई स्थापित हुँदै गईरहेको छ ।

दुर्घटनाका अन्र्तनिहित कारणहरु के के हुन ? 
कसरी त्यो परिस्थिति मानवीय कावू भन्दा बाहिर गयो ? 
चालकसँग अरु विकल्पहरु थिए कि ? 
किन ति विकल्पहरु चालकले प्रयोग गरेन ? 
यी विषयहरु हामी खोज्दैनौं र एकोहोरो चालकको लापरवाही मात्रै दोहो¥याई मात्र रह्यौ भने चालक माथि मनो बैज्ञानिक प्रेशर पर्ने छ र त्यसले अझ बढि दुर्घटना हुने सम्भावना रहन्छ । सवारी मैत्री भौतिक संरचनाको विकास नहुनु, सवारीको यान्त्रिक परिस्थितिको चेकजाँच नहुनु, कमशल गुणस्तरका सवारी साधनमा प्रयोग हुने पाटपूर्जाहरुको विक्री वितरण हुनु, नेपालको भौगोलिक परिस्थिति चेक जाँच नगरिकन जुनसुकै कम्पनीका सवारी साधनहरु पनि विक्री वितरण गर्नु, सवारी साधनको बडि निर्माण गर्दा प्रयोग हुने निर्माण सामाग्रीको गुणस्तर चेकजाँच नहुनु, मिसाबट युक्त पेट्रोलियम पदार्थ प्रयोग हुनु, उपभोक्ताहरुको यातायात सम्बन्धी आधारभूत चेतनास्तरको विकास नहुनु, के यी हुन सक्दैनन् जसलाई चालकले आफ्नो कावुमा राख्न सकोस् । 
विकसित देशहरुमा पनि सडक दुर्घटना हुने गरेका छन् । सडक दुर्घटनाको निराकरण गर्नु उनीहरुको लागि ठूलो चुनौतिको विषय बनेको छ । हामी दुर्घटना न्यूनिकरणको वहस गरिरहेका छौं । नेपाली चालकहरु नै विदेशमा अनुशासित र पेशाप्रति जिम्मेवार चालकको रुपमा स्थापित हुँदै आईरहेका छन् । उनीहरुको पेशाप्रति त्यहाँ कुनै प्रश्न चिन्ह छैन । नेपालमै पनि टुरिष्ट बसहरु दुर्घटना भएका छैनन् ।

किन पर्यटक बोक्ने सवारीहरु दुर्घटना हुँदैनन ? 
किन सर्वसाधारण चढ्ने सवारी मात्र दुर्घटना हुन्छन ? 
किनभने पर्यटकहरु उभिएर यात्रा गर्दैनन्, उनीहरु हतारमा यात्रा गर्दैनन्, उनीहरु सँग निश्चित समय हुन्छ, पर्यटक सवारी चालकको पारिश्रमिक शुरुमै तय भईसकेको हुन्छ । यस्ता सवारीमा लगानी गर्ने लगानीकर्ताहरुले सिट क्षमता र भाडा दर भन्दा बढिको अपेक्षा गरेका हुँदैनन्, चालकलाई पर्यटकहरुले राम्रो काम गरे बापत टिप्स दिन्छन् यीनै कारणहरुले पर्यटक सवारीहरुमा दुर्घटना कम भएका हुन्छन् । किन सार्वजनिक सवारीका चालकहरु राजमार्गमा पनि लोकल (छोटो दुरीका) प्यासेन्जर बोक्न उद्यत हुन्छन ? किनभने उसलाई लगानी कर्ताले ‘सकेको बोक्नु र सकेको कमाउनु’ भनेको हुन्छ । उसको पारिश्रमिक पनि कम हुन्छ । उसले एक ट्रिप चलाए पछि एक महिना गाडी चलाउन पाउँदैन । त्यसैले एउटा सार्वजनिक सवारी चालक ओभरलोड, ओभर वोर्क, ओभर स्पिड, ओभरटेक सवै गर्न वाध्य भएको छ र दुर्घटना बढिरहेका छन् ।

विकसित देशहरु जहाँ सडक दुर्घटना लगभग सुन्य वरिपरि छ, त्यहाँका सवारी चालकहरुले सामाजिक सुरक्षा प्राप्त गरेका हुन्छन् । उनीहरुलाई सम्बन्धित कम्पनिले नियुक्ति पत्र प्रदान गरेको हुन्छ । उनीहरुले प्राप्त गर्ने सेवा सुविधा सुरुमै निर्धारण गरिएको हुन्छ । बालबच्चाको गुणस्तरीय शिक्षाको निम्त, स्वास्थ्य उपचारको निम्ति र वृद्ध अवस्थामा पेन्सन स्वरुप उनीहरुले सामाजिक सुरक्षाकोषबाट अनुदान पाईरहेका हुन्छन् । 

यसर्थ चालक÷परिचालकहरु यात्रु प्रति र चालक परिचालक प्रति कम्पनि, सम्बन्धित राज्य बढि जवापदेही छन र सडक बढि सुरक्षित छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ सँग अखिल नेपाल यातायात मजदुर संघको सवारी चालक परिचालक मजदुरहरुलाई नियुक्ति पत्र प्रदान गर्ने सहमति भई सकेको भए पनि त्यो प्रदान गरिएको छैन । सामाजिक सुरक्षा कोषमा यातायात मजदुरहरुलाई सहभागि गराउने निर्णय भई सकेको भए पनि सामाजिक सुरक्षा कोषमा सहभागिता सुनिश्चित गरिएको छैन । एक जना सवारी चालक जसले आफ्नो पेशामा शत प्रतिशत शुद्धता प्रदान गर्नुपर्छ । उ पारिवारिक, सामाजिक प्रेशरबाट मुक्त हुने वतावरण निर्माण हुँदैन । रोजिरोटिकै समेत ग्यारेण्टि छैन । बर्सेनी हज्जारौं सवारी चालकहरु विदेश जाने गरेकाछन्, श्रम बजारमा उत्पादन हुने नयाँ सवारी चालकहरु (१६ वर्षमा लाईट र १८ वर्षमा हेभ्भी) सवारी चालकको रुपमा प्रवेश गर्छन । के चालकहरुलाई सवारी चालक अनुमति पत्र वितरण गर्नु मात्रै राज्यको दायित्व हो ? 

हाम्रा भौतिक संरचनाहरु यातायात मैत्री छैनन्, सडक, पुल, सडक आसपास निर्माण गरिने भौतिक संरचनाहरु आदी यातायात मैत्री नहुँदा पनि कतिपय दुर्घटनाहरु भईरहेकाछन् । कतिपय राजमार्ग÷साहायकमार्गहरु उपभोक्ताको सुविधा, यातायात मैत्री भन्दा पनि पहुँचवाला व्यक्तिको निर्देशन बमोजिम निर्माण हुने गरेकाछन् । यसरी प्राविधिक योजना विपरित निर्माण गरिएका सडकहरुमा सवारी संचालन गर्नु आफैमा जोखिम युक्त कार्य हो, यस्ता सडकहरुमा नै बढि सवारी दुर्घटना भईरहेको छ । हामी सडक निर्माण हुँदादेखि नै उपभोक्ताहरु सडक निर्माण कार्यमा भईरहेको प्राविधिक विवरण, प्रयोग गरिएको निर्माण सामाग्रीहरुको गुणस्तरका विषयमा पनि उपभोक्ताहरुले समयमै चासो पूर्वक ध्यान दिन आवश्यक छ ।

तसर्थ सवै दुर्घटना चालकको लापरवाहीले मात्रै हुँदैनन् तर स्टेरिङ्गमा चालक रहने हुनाले सवै दुर्घटनामा चालक परेकै हुन्छ ।  सवारी दुर्घटनाका भित्री कारणहरु पनि खोतलिनै पर्दछ । दुर्घटनालाई चालकको लापरवाही भनेर उम्कन त सजिलो छ तर यसले दुर्घटना न्यूनिकरण गर्र्दैन । यसले चालकहरुको अझ बढि मनोबल गिर्ने र अझ बढि दुर्घटना हुने सम्भावनाहरु रहन्छन् । दुर्घटनाको सत्य तथ्य छानविन गर्ने र त्यसको तथ्यलाई सार्वजनिक गरी दोषी माथी कारवाही गरिनु पर्दछ । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com