किन बद्नाम भयो नारीवाद ?

बबिता बस्नेत,

नारीवादको अर्थ पुरुषको विरोध होइन । यो समानता र आत्मसम्मानसँग मात्र सम्बन्धित छ न कि एक–अर्काबीचको द्वन्द्वसँग । समानतामा विश्वास गर्ने र चाहने जो–कोही नारीवादी हो । नारीवादी पुरुष पनि छन्, हुन सक्छन् ।

अतिवादी फेमिनिस्टहरू महिला र पुरुषबीचको द्वन्द्व सेक्सको हो जुन पुरुषको शक्तिमा आधारित छ भन्छन् । उनीहरू पुरुषको अत्याचारको विरोध गर्छन् र महिला र पुरुष एक–अर्काका शत्रु हुन् भन्छन् । पेरिसमा भएको ब्रा बर्निङ आन्दोलन अतिवादी नारीवादीहरूले नै गरेका थिए । नारीवाद बद्नाम हुनुमा र्‍याडिकल फेमिनिस्टहरूकै भूमिका महत्वपूर्ण छ ।

हिजोआज कतिपयले भन्ने गरेको सुनिन्छ– यो देश अब नारीवादीमय भयो । कतिले चाहिँ नारीवादीका अगाडि के बोलिसक्नु छ र ? पनि भन्ने गरेका छन् । मुलुकमा राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश महिला भएको सन्दर्भ जोड्दै नारीवाद अघि सार्नेहरू पनि छन् । नारीवाद के हो ? भन्ने कुरा बुझ्दै नबुझी टिप्पणी गर्नेहरूको सङ्ख्या ठूलो छ । जसमा महिला र पुरुष दुवै पर्छन् । नारीवाद या नारीवादी दुवैलाई हँसिमजाकमा उडाउने या बद्नाम तरिकाले प्रस्तुत गर्ने गरिएको पाइन्छ ।

नारीवादको पृष्ठभूमि
जङ्गली युग, ढुङ्गेयुग हुँदै आदिम साम्यवादी युगसम्म मानिस समूहमा बस्थे । समूहमा बस्दा महिला–पुरुषबीच विभेद थिएन । सन्तान जन्माउने हुँदा महिला शक्तिशाली ठानिन्थे । कुन बच्चा कसको हो भनेर महिलाले नै छुट्याइदिन्थे भन्ने छ । समूहमा बस्दै जाँदा एक–अर्कामा झगडा र लडाइँ भयो, जित्नेहरू मालिक बने हार्नेहरू दास । त्यसबेलादेखि नै दास–मालिक युगको सुरुवात र अभ्यास भयो भनिन्छ । दासका नाममा मानव–मानवबीच शोषणको शृङ्खला त्यतिबेलादेखि नै सुरु भएको हो । त्यसपछि सामन्तवादी युगको सुरुवात भयो । यो युगदेखि नै महिलालाई दोस्रो दर्जामा राखियो । पुँजीवादी युगमा आएर उद्योगहरू सञ्चालनमा आए । पुरुषहरू काममा जान थाले, महिलालाई घरमा सीमित गरियो । धेरै पछि महिला मजदुरका रूपमा उद्योगहरूमा काम गर्न थाले ।

समयक्रममा पितृसत्तालाई समर्थन गर्ने खालका धर्मग्रन्थहरू लेखिए । लेख्ने पुरुष नै थिए जसले पुरुष नै सर्वेसर्वा हुने परिकल्पना गरे । जिससक्राइष्ट, मोहम्मद, देवादीदेव महादेव शिव सबै पुरुष । (खै कसरी हो हिन्दूधर्ममा चाहिँ शक्तिशाली महिला भगवान्को परिकल्पना गरिएको छ) धर्मले बाँधेर समाज अघि बढ्दै जाँदा शिक्षा, कानुन सबै पुरुषको अधीनमा गए, त्यहीअनुरूपका नियम–कानुनहरू बने । सुरक्षाका लागि प्रहरी, आर्मीको अवधारणाहरू बने । जे–जति अवधारणा आए ती पुरुषलाई नै लक्षित गरेर आए । सबै पुरुषकै लागि बनाइए र पुरुष नै त्यसमा सहभागी बने ।

हामीकहाँ हिजोआज नारीवादीले श्रीमान् छोड्छन् या उनीहरूको सम्बन्ध राम्रो हुँदैनलगायतका अनेक कुतर्कसहितका बहस पनि चलाइने गरिएको छ । नारीवादी हुनलाई कसैले श्रीमान् छोड्नुपर्दैन न त श्रीमती नै छोड्नुपर्छ, कसैले पनि सम्बन्ध बिगार्नुपर्दैन । चरित्रहीन पनि हुनुपर्दैन । चरित्रहीन चेलीहरूको ठाउँमा सम्मानित चेलीहरू नाम राखेर पनि अभियान चलाउन सकिन्छ । समानताको पक्षधर हुनु भनेको न्यायसँग सम्बन्धित कुरा हो र सम्बन्ध नितान्त व्यक्तिगत कुरा ।

पुरुषका लागि बहुविवाह छुट भयो । महिला घुम्टोमा राखिए । पुरुषले सार्वजनिक जीवन सुरु गरे । महिलालाई घरमा सीमित गरियो । महिलाको यौनिकतामाथि सधैँ प्रश्न उठाइयो र नियन्त्रणका प्रयास सुरुदेखि नै भए । श्रीमानको परिभाषा साथी होइन, नियन्त्रण गर्ने व्यक्तिका रूपमा गरियो र मालिकको दर्जा दिइयो । अझै पनि हाम्रा गाउँघरमा कतिपय आमाहरूले आफ्ना पतिलाई मालिक नै भन्ने गर्छन् । यसरी जताततै पितृसत्ता अर्थात् पुरुषको सत्ता फैलँदै गएपछि नारीवादको जन्म भएको हो । सन् १८८४ मा न्युजिल्यान्डका महिलाले आन्दोलनको सुरुवात गरे । सामान्य अधिकारहरू प्राप्त गर्नका लागि उनीहरूले धेरै ठूलो सङ्घर्ष गर्नुपर्‍यो । अन्य मुलुकमा पनि यो क्रम बढ्यो । सन् १९११ को ८ मार्चदेखि अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थालियो । महिला र पुरुषबीच रोजगारीमा भेदभाव भएकाले यही मुद्दालाई नारी दिवसमा उठाइयो । न्युयोर्कमा पहिलोपल्ट महिला भेला भई समान ज्यालाको मागबाट नारी दिवसको सुरुवात भएको हो । नेपालमा नारी दिवस वि.सं. २००३ सालदेखि मनाउन सुरु गरिएको हो । नेपालमा महिला अधिकारसँग जोडेर नारी दिवसको थालनी गरिएको थियो ।

के हो नारीवाद ?
दक्षिण एसियाकी चर्चित नारीवादी नेतृ कमला भसिनका अनुसार नारीवाद एउटा अवधारणा हो, यस्तो अवधारणा जसले समानताको कुरा गर्छ । नारीवादको त्यस्तो कुनै परिभाषा छैन, जुनसुकै ठाउँमा लागू हुन सक्छ । अवस्थाअनुसार यसलाई लागू गर्नुपर्ने हुन्छ । पितृसत्ताको विरुद्ध रहने जोकोही नारीवादी हो । नारीवादी हुनलाई कुनै समूहको सदस्य बन्नुपर्दैन, कुनै राजनीतिक दलमा लाग्नुपर्दैन । भेदभावविरुद्धको आन्दोलन नै नारीवाद हो । नारीवादका प्रारम्भिक आन्दोलनकर्ता पुरुष थिए, कार्लमाक्र्स, फ्रेडरिक एंगेल्स, ज्वाहरलाल नेहरू, महात्मा गान्धी, चन्द्रशमशेर राणालगायतका पुरुष यसका उदाहरण हुन् । नेपालमा पहिलो नारीवादी पुरुष चन्द्रशमशेर हुन्, जसले सती प्रथाको उन्मूलन गरे । त्यसपछिको समाजलाई यहाँसम्म ल्याउन धेरै नारीवादी महिला र पुरुषको योगदान छ ।

थरीथरीका नारीवाद
नारीवादको अवधारणा बनेपछि विभिन्न किसिमका नारीवादीहरू भए, जसले नारीवादलाई आ–आफ्नै प्रकारले परिभाषित गरे । चारथरी सिद्धान्तमा केन्द्रित भएर नारीवादको सिद्धान्त र व्यवहार अघि बढ्यो । उदारवादी नारीवादी (लिबरल फेमिनिस्ट) हरूले महिला र पुरुषको समान अवसरलाई महत्व दिए । अतिवादी (र्‍याडिकल) फेमिनिस्टहरूले महिला र पुरुष एक–अर्काका शत्रु हुन् भने र सोहीअनुसारका व्यवहार गरे । माक्र्ससिस्ट फेमिनिस्टहरूले कार्लमाक्र्सको सिद्धान्तलाई व्याख्या गर्दै वर्गको कुरा अघि बढाए । सोसलिस्ट फेमिनिस्टहरूले समाजशास्त्र, अर्थशास्त्र, राजनीतिशास्त्र, मानवशास्त्र र मनोविज्ञानसँग सम्बन्धित कुरालाई लिए । विश्वमा अहिले पनि करिबकरिब यिनै चार सिद्धान्तमा रहेर नारीवाद अघि बढिरहेको छ । लिबरल फेमिनिस्टहरू पुरुषहरूको घर–व्यवहारमा उत्तरदायित्व र महिलाको घरबाहिरको काममा समान सहभागिताको निम्ति वकालत गर्छन् । महिलाको आत्मनिर्णयको अधिकार, आत्मविश्वास र आत्मनिर्भरतालाई जोड दिन्छन् । महिला र पुरुषको शारीरिक भिन्नतालाई नभएर सामाजिक भिन्नतालाई महत्व दिन्छन् । यता र्‍याडिकल अर्थात् अतिवादी फेमिनिस्टहरू महिला र पुरुषबीचको द्वन्द्व सेक्सको हो जुन पुरुषको शक्तिमा आधारित छ भन्छन् । उनीहरू पुरुषको अत्याचारको विरोध गर्छन् र महिला र पुरुष एक–अर्काका शत्रु हुन् भन्छन् । पेरिसमा भएको ब्रा बर्निङ आन्दोलन अतिवादी नारीवादीहरूले नै गरेका थिए । नारीवाद बद्नाम हुनुमा र्‍याडिकल फेमिनिस्टहरूकै भूमिका महत्वपूर्ण छ । यहाँ एकपटक चर्चामा आएको चरित्रहीन चेलीहरू भन्ने अभियान पनि र्‍याडिकल फेमिनिजम नै हो । अतिवादी फेमिनिस्टहरूका केही व्यवहारलाई लिएर हामीकहाँ यी नारीवादीहरू भन्ने गरिएको छ । तर, यहाँका नारीवादीहरू भने अधिकांश लिबरल छन् ।

अन्त्यमा, नारीवादको अर्थ पुरुषको विरोध होइन । यो समानता र आत्मसम्मानसँग मात्र सम्बन्धित छ न कि एक–अर्काबीचको द्वन्द्वसँग । समानतामा विश्वास गर्ने र चाहने जो–कोही नारीवादी हो । नारीवादी पुरुष पनि छन्, हुन सक्छन् । नारीवाद पितृसत्तालाई परिवर्तन गर्नका लागि हो, महिलाको मात्रै संसार बनाउनका लागि होइन । नारीवाद पश्चिमबाट आएको या पश्चिमा संस्कृति होइन । कमला भसिनका शब्दमा ‘नारीवाद महिलाको पनि विरोध हो जो समानताका विरोधी छन्, महिलाका विरोधी छन् ।’ हामीकहाँ हिजोआज नारीवादीले श्रीमान् छोड्छन् या उनीहरूको सम्बन्ध राम्रो हुँदैनलगायतका अनेक कुतर्कसहितका बहस पनि चलाइने गरिएको छ । नारीवादी हुनलाई कसैले श्रीमान् छोड्नुपर्दैन न त श्रीमती नै छोड्नुपर्छ, कसैले पनि सम्बन्ध बिगार्नुपर्दैन । चरित्रहीन पनि हुनुपर्दैन । चरित्रहीन चेलीहरूको ठाउँमा सम्मानित चेलीहरू नाम राखेर पनि अभियान चलाउन सकिन्छ । समानताको पक्षधर हुनु भनेको न्यायसँग सम्बन्धित कुरा हो र सम्बन्ध नितान्त व्यक्तिगत कुरा । नारीवादको नामै नसुन्नेहरू पनि धेरैको सम्बन्ध बिग्रन सक्छ, बिग्रिएको छ र आफूलाई नारीवादी भनेर निर्धक्क चिनाउन चाहने महिला–पुरुषको सम्बन्ध अत्यन्त राम्रो भइरहेको पनि हुन सक्छ । नारीवादलाई बद्नाम गर्न चाहनेहरूले यस्तो संज्ञा दिएका हुन् । नारीवाद र पति–पत्नीको सम्बन्धबीच कुनै सम्बन्ध छैन ।

(घटना र बिचारबाट साभार)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com