यातना सहँदै सम्झौता गर्दा झन् बढ्यो यातना...

बाँके श्रावण २६,

ठाकुरसिंह थारु : पति र सासु ससुराले कुटपीट गरेपछि आसरुन जोलहाले माइती घरमा पटक पटक सरण लिइन् । त्यसबारे गाउँमा दर्जन पटक पञ्चायत बस्यो । भद्रभलादमीको छलफलले परिवारको आन्तरिक मामिला भन्दै सम्झाई बुझाई गरी मिलापत्र गरिरह्यो । मिलापत्र पछि यातना झन बढ्दै गयो । दाइजोको निहुँमा हिंसा नरोकिएपछि दुई/तीन पल्ट प्रहरीमा समेत उजुरी दिईन् । प्रहरीमा छलफल गराउने उनै गाउँका अगुवा थिए । कुटपीट गर्ने पति र सासु ससुरालाई गल्ती महसुस गराएर फेरि आसरुनलाई घर फिर्ता पठाइयो ।

‘दुई वर्षमा लात्ती र मुडकी कति खाइयो त्यो मलाई थाहा छ । यस पल्ट अस्पताल नै भर्ना हुने गरी कुटपीट भयो,’ दाइजो नल्याएको निहुँमा यातनाले थला परेपछि भेरी अञ्चल अस्पतालको बेड नम्बर ११७ मा भर्ना गरिएकी आसरुनले कान्तिपुरसँग भनिन्, ‘हामीजस्ता पीडितका पक्षमा समाजलेसमेत सहयोग गर्दैनन् । मिलापत्रमा बढी जोड दिइन्छ । दाइजोको निहुँमा कुट्नेलाई पहिले कारवाही भएको भए यो दिन देख्नु पर्ने थिएन ।’

समुदायका अगुवाले मिलापत्रमा जोड दिनुको कारण एक वर्षीय छोरा पनि हो । ‘यो बालकलाई लिएर कहाँ जान्छौ, कसरी पाल्छौं ? भन्ने प्रश्न उठाइयो' उनले सुनाइन् ।

‘चार लाख रुपैयाँ दाइजो माग्दै पतिले र सासु ससुराले कुट्थे । म बच्चा लिएर रुदै जयसपुरस्थित माइती घर जान्थें । माईती घरले त्यति धेरै रकम दिन सक्ने कुरै थिएन, केही दिनमै फेरि फर्किनु पर्थ्यो,’ आसरुनले भनिन्, ‘अहिलेसम्म धेरै यातना पाइयो । जोसुकै हुन मलाई यातना दिनेलाई कुनै पनि हालतमा कारबाही हुनुपर्छ ।’

नेपालगन्ज १९ बालेगाउँका वसिम जोलहाले दुई वर्षअघि दाइजो नचाहिने भन्दै आसरुनसंग विवाह गरेका थिए । सासु बाबादैया, ससुरा सब्बिर र काका ससुरा नसिमले पनि बुहारीभन्दा दाईजो ठूलो नभएको बताएका थिए । ‘त्यो बाचा एक वर्षसम्म पनि टिकेन । छोरीलाई त्यही निहुँमा कुटपीट गरिरहे । सुरुमा छोरी मान्छे सहनु पर्छ भनेर सम्झायौँ । तर, उनीहरु कहिल्यै सुध्रिएनन्,’ आसरुनकी आमा इनामनी जोलहाले भनिन्, ‘सानातिना यातना सहनु पर्छ भनेर सिकाउनु गलत रहेछ । पीडकहरुको झन मनोबल बढ्यो र छोरीलाई यस्तो अवस्थामा पुर्‍याए ।’

विवाह हुँदा आसरुनका परिवारले दाइजो वापत साइकल, बेडबिस्तरा र घरेलु समाग्री दिएका थिए । आर्थिक अवस्था कमजोर भएका कारण नगद दाइजो दिन नकसकेको पीडितका दाजु समसाद अलीले बताए । ‘हामी आफै मजदुरी गरेर परिवार पाल्दै आएकाले बहिनीलाई दाइजो दिन सकेनौ । विवाह अघि उनीहरुले दाइजो नलिने भनेपछि विवाह गरि दिएका हौँ,’ बहिनीलाई अस्पताल भेट्न आएका उनले भने,‘उनीहरुले धेरैपल्ट बहिनीलाई कुटे । चुप लागेर बस्दा यो दिन आयो ।’

आसरुनमात्रै होइन हिंसाका घटनाहरुमा यसैगरी मिलापत्र हुँदा कतिपय महिलाले ज्यान गुमाएका घटना पनि छन् । प्रहरीले पति वसिम जोलहा, सासु बाबादैया जोलहालाई पक्राउ गरेको छ ।स्रोत-कान्तिपुर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com