गंगामाया आजदेखि औषधि र पानी बिना आमरण अनशन बस्दै

काठमाडौँ साउन २७,

छ वर्षदेखि स्लाइनमा औषधि र पानीका भरमा अनशनमा बसेकी गङ्गामाया अधिकारीले आजदेखि बिनाऔषधि र पानी आमरण अनशन सुरु गरेकी छिन् ।

नयाँ प्रधानमन्त्रीमा पुष्पकमल दाहाल आएसँगै उनीबाट आफूले न्याय पाउने आशा राखेको बताउँदै उनले आफ्ना छोराको हत्यारालाई कारबाही गर्न पाँच दिनको समय दिएकी छिन् । यही साउन २१ गते उनले पत्रकार सम्मेलन गरी सरकारलाई पाँच दिनभित्र आफ्ना मागबारे सम्बोधन गर्न आग्रह गर्दै त्यसो नभए स्लाइन र पानी बिना अनशनमा बस्ने चेतावनी दिएकी थिइन् ।

गृह मन्त्रालयका सचिव नारायणगोपाल मलेगो र स्वास्थ्य मन्त्रालयका सचिव सेनेन्द्रराज उप्रेती आज वीर अस्पतालको क्याबिन नं ७ मा उनलाई भेट्न गए पनि गङ्गामायाले केही कुरा राखिनन् । विसं २०७१ असोज ६ गते अनशन बसेको ३३४ दिन हुँदा उहाँनका श्रीमान् नन्दप्रसादको मृत्यु भएको थियो । उनको शव अहिले पनि महाराजगन्जस्थित शिक्षण अस्पतालमा छ । न्याय नपाएसम्म दाहसंस्कार नगर्ने अडान गङ्गामायाको छ ।

विसं २०६१ मा गङ्गामायाका १७ वर्षीय छोरा कृष्णप्रसादको तत्कालीन माओवादीले अपहरण गरी हत्या गरेपछि छविलाल पौडेल, भीमसेन पौडेल, जानुका पौडेल, पर्शुराम पौडेल लगायतलाई किटानी गरी चितवन जिल्ला अदालतमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरे पनि हालसम्म कुनै सुनुवाइ भएको छैन । हत्याराविरुद्ध कारबाहीको माग गर्दै छ वर्षअघि अधिकारी दम्पतीले आफूहरूको मागलाई सरकारले बेवास्ता गरेको जनाउँदै अनशन सुरु गरेको थियो । रासस;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com