सुन्दर बन्ने चाहले झन् कुरूप बनाउला !

काठमाण्डौ साउन २७, 

शहरियाहरूले अचेल सौन्दर्यमा बढी नै चासो राख्न थालेका छन्। कस्मेटिक वा प्लास्टिक सर्जरी गरेर वा लेजर गरेर सुन्दर बन्न चाहनेहरूको भीड बढ्न थालेको छ। आथिर्थ अवस्था बलियो भएका शहरिया महिला तथा पुरुष बढ्दो उमेरसँगै शरीर तथा अनुहारमा देखिने स्वाभाविक चिह्न र छापलाई ढाकछोप गर्न कस्मेटिक सर्जनकोमा पुग्ने गरेका छन्। 

राजधानीका पत्रपत्रिकामा विज्ञापन गरेर अनुहारको कोठी, दाग, चायापोतो हटाउने, स्तन घटाउने तथा बढाउने, हिपको साइज बढाउने, चाउरीपन हटाउने, अनावश्यक रौँ सधैँका लागि हटाउने ग्यारेन्टी भन्दै सौन्दर्यको व्यापार गर्नेहरू पहिलेदेखि नै सक्रिय छन्। 

विश्वका समाचार पढ्दा ‘फलानो हिरोले यस्तो गरेर तन्नेरी देखिए, हिरोइनले यसरी अनुहारको दाग मेटिन्’ भन्ने समाचारले गर्दा पनि धेरै मानिस आफूलाई माथिका प्रक्रियाबाट सुन्दर बनाउन उद्यत छन्। कालो दाग, चायापोतो, पलाएको मासु, चाउरीपना लगायत समस्याबाट पीडित महिला–पुरुष काठमाडौँमा बग्रेल्ती खुलेका कस्मेटिक सर्जरी क्लिनिक वा ब्युटी पार्लरमा धाउने गरेका छन्। 

शरीरको छालालाई मेन्टेन गरेर राम्रो देखाउनका निम्ति सबै लागिपरेका छन्। तर, यी कहाँ र कसलाई गराउने भन्नेमा प्रशस्त जानकारी हासिल नगर्दा उल्टै कुरूप हुनु परेका प्रशस्त घटना छन्। विशेषगरी अनुभव र जानकारी बिना नै गरिने लेजरको प्रयोगले यस्ता घटना बढेका छन्। 

केही दिनअघि मात्रै एउटा त्यस्तै केस आएको थियो। दाग हटाउनका लागि एउटा ब्युटी पार्लरमा लेजर गराउँदा एकजना महिलाको अनुहारभरि दाग बस्न पुगेको थियो। स्किनको डाक्टर खोज्दै आइपुगेकी ती महिलाले दाग हटाउन प्रयोग गरिएको लेजरले आफूलाई झन् कुरूप बनाएको व्यथा सुनाएकी थिइन्। जसले पनि लेजर गर्ने भएकाले यस्ता समस्या लिएर हामीकहाँ धेरै आइपुग्छन् । 

काम टेक्निकल भए पनि मान्छेपिच्छे फरक स्किन, फरक खालका दाग, रौँ र ट्याटू हुने भएकाले तीबारे जान्न जरुरी छ। लेजर मेसिनले गर्ने प्रक्रिया हो भनेर जोसुकैले केही महिना वा दिनको ट्रेनिङले चलाउने गरिएकाले समस्या आइरहेको छ। धेरैले ‘अटो’ मोडमा राखेर लेजर चलाउने गर्छन्। योे मेसिनरी चिजको सिस्टम नजान्नेका लागि दिइएको अप्सनमात्रै हो। कसैको स्वास्थ्य वा सौन्दर्यमाथि यो अप्सन प्रयोग गरेर खेलबाड गर्नु हुँदैन । 
डा. सोनिया गुप्ता, डम्र्याटोलोजिस्ट (स्वस्ति लेजर एन्ड स्किन केयर, नक्साल) _स्वास्थ्य खबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com