'गज़ल ' By, कोमल भट्ट
म वेदनामा कसरी बसौँ
प्रताडनामा कसरी बसौँ
बढे सधैं नै मनमा व्यथा
छु तर्कनामा कसरी बसौँ
थियो भने पङ्ख म उड्दथें
विडम्बनामा कसरी बसौँ
जताततै देख्दछु जाल झैं
कुभावनामा कसरी बसौँ
हुँदैन आफ्नो परदेश यो
अचिन्तनामा कसरी बसौँ
विरानु झैं लाग्छ सबै यहाँ
छुचोपनामा कसरी बसौँ
झुकेन यो शिर कतै पनि
र याचनामा कसरी बसौँ
छन्द – माद्री
(विश्राम – ५ अक्षरमा)
-कोमल भट्ट
चन्द्रागिरी न.पा -२१
काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका