गजल By, सुमन मैनाली



प्रवासबाट नफर्कुन्जेल, एउटा जिम्मा लिन्छौ सरकार ?
मेरी आमा विमार पर्दा, सिटामोल दिन्छौ सरकार ?

दम्पद छ रे सन्दूकको, साँचो आमा सुक्सुकाउँथिन
को छिरेछ मरो घरमा, अपराधी  चिन्छौ सरकार ?
मेरी आमा विमार पर्दा, सिटामोल दिन्छौ सरकार ?

मेरो नामको गैरी खेतमा, हक दाबी थियो ठुल्दाजुको
यो किचलो वर्षौं भयो, अब मुद्दा छिन्छौ सरकार ?
मेरी आमा विमार पर्दा, सिटामोल दिन्छौ सरकार ?

त्यो दिन तिम्रो पक्कि घरमा, कुनै हलचल भएन रे !
चेपिएर मर्नेहरको, हुलिया सम्झिन्छौ सरकार ?
मेरी आमा विमार पर्दा, सिटामोल दिन्छौ सरकार ?

 महाकाली मेचीलाई, नाना छाना देउ पहिले
अनि मात्र स्वचालित ग्याँस, पानीजहाज किन्छौ सरकार ?
मेरी आमा विमार पर्दा, सिटामोल दिन्छौ सरकार ?

सुमन मैनाली
क्यालिफोर्निया यु एस ए

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com