कविता ' समुन्द्र किनारमा उभिएर '


' समुन्द्र किनारमा उभिएर '

बेगसँग छालहरू उर्लदै
किनारमा बगर छोइ भाग्छ
जसरी समयले पत्तै नदिइ
जीवनलाई छाडिभाग्छ
मौन उभिएको म
बालुवा हु जीवन किनारको
याद बनेर यादहरू
छोएर भाग्छन् बेपत्ता
दिललाई आँसुले भिजाएर
आफ्नै बाटैबाटो

हेर्छु परपर माथी कतै
सपना जस्तै बादल उडिरहेछन्
आकास छोइआउँछु भनेर
हिडदा हिडदै बाटोमा
कसरी टुटछ त्यो यात्रा
सपना टुटे झै
बर्षन्छ दर्के झरि बनेर
फेरि आफ्नै धरातलमा
बौरन्छ उड्छ सपना सजाएर
थाक्दैन कहिले बादलका परिदृश्यहरू
मलाई कहिले नथाक्नु भनि सूचना दिन्छ

नदि बगेर छहराको चोट
ढुङगामा बज्रिएको पीडा
बगरलाई छुने प्यास
सागरमा पुग्ने भरोसाको
पसिना हुन सक्छ
नुनिलो पानी
जीवनको कष्टहरूमा
नसा नसा तरङगीत भएर
निस्किएको पसिना
यो पनि त नुनिलो हुन्छ
प्रकृति र मान्छेको तादात्मयता
मेहनत नुनिलो हुन्छ

जीवन सागर जस्तै अथाह बिशाल छ
सागर जीवन जस्तै अपरिभाषित छ ।

दीपा राई 'पुन'

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com