समयमै अस्पताल नपुर्याँउदा सुत्केरीको मृत्यु

पाँचथर साउन ११,

समयमा अस्पताल नलैजाँदा पाँचथरको पौवा सारतापमा सोमबार एकजना सुत्केरीले ज्यान गुमाउनुपरेको छ ।

ज्यान गुमाउनेमा घरैमा जुम्ल्याहा छोरी जन्माएकी पौवा सारताप–९ की २५ वर्षीया सनमाया तामाङ रहेकी छिन् ।

तामाङले शुक्रबार बिहान घरैमा जुम्ल्याहा छोरी जन्माए पनि नाल नझरेपछि परिवारका सदस्यले साँझसम्म झारफुक गरेर उपचार गर्न खोजेका कारण उनको मृत्यु भएको बताइएको छ ।

साँझसम्म सालनाल नझरेपछि उपचारका लागि इलाम जिल्ला अस्पताल लैजाने क्रममा उनको बाटैमा मृत्यु भएको छिमेकी पद्मा तामाङले बताए।

जुम्ल्याहा शिशुको भने स्वास्थ्य सामान्य रहेको बताइएको छ । मृतकका श्रीमान छ महिनाअगाडि वैदेशिक रोजगारीका लागि कोरिया पुगेका छन् ।

बर्सेनि दुई छोराछोरी जन्माइसकेकी उनको स्वास्थ्यावस्था कमजोर रहँदारहँदै पनि परिवारका सदस्यले समयमा अस्पताल नलाँदा मृत्यु भएको स्थानीय बताउँछन् ।

पाँचथर जिल्लामा सुरक्षित कार्यक्रम लागू भएको छ भने जिल्ला अस्पतालसहित ३० वटा स्वास्थ्य संस्थामार्फत सुरक्षित मातृत्व सेवा दिइँदै आएको भए पनि उपचार नपाएर बिरामीको ज्यान जानु दुःखद् भएको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरका सूचना अधिकृत नारायण जोशीले बताए । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com