यमुना खनाल, लहान आषाढ २१,
सिरहाको गोलबजारका हरिनारायण शाहले आफ्नी छोरी रेखा शाहको जनकपुर उपमहानगरपालिकाका संजिव शाहका कान्छा छोरा श्रवण शाहसँग एकवर्ष अघि विवाह गरिदिए ।
विवाहमा हरिनारायणले छोरीलाई ४१ लाख रुपैयाँ नगद दाईजो दिए । यतिमात्रै होइन केटा पक्षको माग अनुसारको सरसामान दिँदा र भोज भतेरमा थप १५ लाख रुपैयाँ खर्च भयो । विवाह धुमधामले भयो । जन्ती पनि जनकपुरबाट हेलिकप्टरमा सिरहाको गोलबजार पुग्यो । केटा पक्षको भनाई अनुसार केटा पाईलट हुन् । केटी बीबिएस गर्दैछन् ।
तर, दुलही जनकपुर पुगेकै दिन दहेज कम दिएको, जन्तीको स्वागत नभएको भन्दै ससुरा सासु र बेहुलाले रेखालाई मानसिक यातना दिन थाले । थप १३ लाख रुपैयाँ दहेज दिनु पर्ने, नभए छोरासँग छोडपत्र गर्नुपर्ने भन्दै पहिलो दिनदेखि उनलाई यातना दिन सुरु भयो । १५ दिन यसै गरेर बित्यो । रेखाका श्रीमान् पढ्न भन्दै काठमाडौं तिर लागे । विवाह गरेर गएका श्रीमानसँग रेखाको बोलचालै भएन । सासु ससुराले रेखालाई थप पैसा ल्याउ भनेर रातदिन गाली गलौज र मानसिक यातना दिन्थे । यसरी नै मानसिक यातना खपेर पनि रेखा ६ महिनासम्म श्रीमानको घरमा बसिन् ।
ससुरा संजिवले थप १३ लाख नगद, टीभी, घडी ल्याउनैपर्ने कि त छोराको जीवनबाट हट्नु पर्ने भन्दै दिनहुँ मानसिक यातना र गाली गर्न थाले । रेखालाई मात्र होईन रेखाका आमा बुबालाई समेत थप २१ लाख रुपैयाँ दहेज दिनुपर्ने भन्दै फोनमा दिनहुँ अपशब्द प्रयोग गर्दै रेखाका ससुराले गाली गर्थे । आफू र आफ्ना आमा बुबालाई गाली गरेको सुनेर, यातना खपेर पनि रेखा श्रीमानको घरमा बसेकै थिईन् ।
त्यसपछि सुसराले माइत पुर्याई दिने भनेर रेखालाई धनुषाको महेन्द्रनगरसम्म ल्याएर आधाबाटो मै छोडिदिए । रेखा अहिले माईतमै बसेर बीबीएस दोस्रो वर्षमा अध्ययन गर्दै छन् । रेखा र उनका माईतीलाई केटा कहाँ छ थाहा छैन ।
उनको मुद्दा मिलाउन सामाजिक रुपमा सयौं पटक पन्चायती भयो,तर कुरा मिलेन । रेखाका बुबाले प्रहरीमा जाहेरी पनि दिए । केटा विदेश भएको भन्दै प्रहरीले कार्बाही अगाडी बढाएको छैन । केटा नआएकाले कार्बाही अघि नबढाएको रेखाका वुवा हरिनारायाण शाहले बताए । यता केटा पक्षले प्रहरीमा दिएको जाहेरी फिर्ता लिन अहिलेपनि फोनबाट धम्क्याइरहने हरिनारायण बताउँछन् । जाहेरी फिर्ता लिनुपर्ने नभए छोडपत्र दिन केटा पक्षले धम्की र दबाब दिएको उनको भनाइ छ ।
यो पनि पढ्नुहोस्..
दाइजोमा लिएको सम्पत्ति फिर्ता गर्नुपर्ने कानुन बन्दै
दाईजोका कारण कुनै न कुनै समस्यामा नपरेको परिवार तराईमा बिरलै भेटिन्छन् । दहेज लेनदेन गर्नुहुँदैन भनेर बिभिन्न जातिय संगठनमा छलफल पनि हुन्छ । तर, जब आफ्नो छोराको विवाहको समय आउँछ, अनि तिनै अगुवाले चुपचाप बेहुली पक्षलाई कसेर दाईजो लिने गरेकाले यसको न्यूनिकरण गर्न थप चुनौती बनेको बुद्धिजीबि तथा समाज सेबी देबनाथ शाह बताउनुहुन्छ । दाईजोलाई सामाजिक चलनका रुपमा चुपचाप सबैले स्वीकारेका कारण पनि यसको न्यूनिकरण जटिल बन्दै गएको शाहको ठहर छ ।
दाईजोकै कारण बहुविवाह, अनमेल विवाह, बालविवाह, कुटपिट, मानसिक यातना दिने, ज्यान मार्ने, ज्युँदै आगो लगाउने जस्ता महिलामाथि जघन्य अपराध तराइमा हुँदै आएका छन् ।
दहेज नियन्त्रणका लागि सामाजिक सुधार ऐन पनि छ । दहेजकै कारण आफूमाथि हिंसा भएको भनेर पीडितहरू उजुरी गर्न जादैनन् । प्रहरीको तथ्याङ्कमा गत आर्थिक वर्ष र यो वर्षमा एउटा पनि दाईजो पीडितको मुद्दा दर्ता भएको छैन । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक भुपेन्द्र गिरीले दिएको जानकारी अनुसार दाईजो कम ल्याएको भनेर कुटपीट, घर निकाला,मानसिक यातना दिएको भनेर समेत उजुरी नपरेको तथ्य छ । दाईजोका कारण पीडित भएपनि डर, त्रास ,धाक, धम्कीका कारण पनि प्रहरीमा उजुरी गर्न नआउने गिरी बताउँछन् ।
महिलामाथि भएका हिंसाको चुरो दहेज भएको महिला बालाबालिका कार्यालय सिरहाकी प्रमुख दुर्गा भण्डारी बताउनुहुन्छ । ‘हिंसामा परेका उजुरी लिएर आउने महिलाहरू, श्रीमान् सासु ससुराले कुटपिट गरेको, घर निकाला गरेको, खान नदिएको ,समस्या लिएर आउँछन्, तर खोज्दै जाँदा यी घटनाको कारण दहेजमा गएर ठोकिन्छ’ भण्डारी भन्छिन् ।
ओरेक नेपाल सिरहाले पुषदेखि असारसम्म ६ महिनाको अवधिमा महिलामाथि ७१ वटा हिंसाका घटना भएको तथ्याङ्क सार्वजनिक ग¥यो । त्यसमध्ये ६ जना महिला दाईजोका कारण हिंसामा परेको तथ्याङ्कमा उल्लेख छ । यो तथ्याङ्क आरेकको सम्पर्कमा आएकाहरूको मात्र हो ।
तराईमा छोरीको विवाह भयो, पढे लेखेको राम्रो घर खान्दानसँग सम्बन्ध जोडियो भनेर धेरैजसो बाबुआमा ढुक्कले बस्न पाउँदैनन् । विवाह गरेको १०, १५ वर्षसम्म पनि छोरीको घरकाले थप दाइजो मागेर हैरानै पार्छन् । सिरहाको लहान नगरपालिका वडा नम्बर एककी रामपरी रामले चार वर्ष अघि छोरीको विवाह गर्दा नगद चालिस हजार रुपैयाँ दाईजो, माग अनुसारको जन्तिलाई भोज, सुनचाँदीका गरगहना , कपडा , साईकल सबै सामान दिएर छोरीको विहे गरिन् ।
विहेमा लागेको ४ लाख रुपैयाँ ऋण तिर्न रामपरी रामका श्रीमानले विदेशै भासिनु पर्यो । अहिले पनि रामपरी रामका श्रीमान लक्ष्मण राम छोरीको विहेमा लागेको ऋण तिर्न वैदेसिक रोजगारका लागि मलेसियामा छन् । यता रामपरीलाई ज्वाईले दाईजोमा अझै थप, टीभी, दराज , बाच्छी दिनु पर्ने माग गरेका छन् । छोरीको विहे गर्दा लागेको ऋण तिरी नसकेकी रामपरीलाई थप दाईजो कसरी दिने भन्ने चिन्ता थपिएको छ । ‘मागे अनुसारको दाईजो नदिए छोरीलाई दुुःख दिन्छन् । दिन सक्ने हैसियत छैन, गरिब छांै, सम्पतिको नाममा यही अर्काको जमिनमा बनाएको झुपडी मात्र हो’ रामपरीले भनिन् ।
मागेजति दाईजो नदिए छोरी घरमा बस्नै सक्दैनन् । ज्वाइँले दोस्रो विहे गर्छन् । घरमा कुटपिट, खान नदिने, घोचपेच हुन्छ ।
दाईजोका कारण तराईमा धनी, गरिब, शिक्षित,अशिक्षित सबैमा उत्तिकै पिरोलेको छ । पढे लेखेकाहरूले त डिग्री अनुसारको दहेज लिने गरेका छन् । डाक्टर,पाईलटको दहेजको रेट करोडसम्म हुन्छ । तराइमा महिलामाथि हुने प्रायजसो हिंसाको कारण दाईजो भएको नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष देब कुमार यादबको ठहर छ । दाईजो लिनेलाई सामाजिक बहिस्कार गर्नुपर्ने वहाँ बताउनु हुन्छ । दाईजो लिएर विवाह गर्नेहरूको भोज भतेर बहिस्कार गर्नुपर्ने, गाँउमा हुने पन्चायतीमा सहभागी नगराउने जस्ता सामाजिक कार्बाहीले पनि दहेज लिनेलाई निरुत्साहित गर्नुपर्ने वहाँ सुझाउनु हुन्छ ।_साभार-महिला खबर;