पाठेघर खस्ने मुख्य कारण . .

काठमाण्डौ साउन १६,

चिकित्साशास्त्रको दृटिकोणले पाठेघर खस्नाको मुख्य कारण पाठेघरलाई अड्याइराख्ने मांसपेशी कमजोर हुदै जानु हो ।

प्रजनन अङ्गसंग सम्बन्धित कारणमध्ये 
पाठेघरलाई धानेर राख्ने तन्तुहरू लच्किने, पाठेघरलाई कसेर राखेको भुइँमा संक्रमण हुने आदि हुन् । तर सामाजिक दृष्टिकोणले हेर्ने हो भने पाठेघर खस्ने अन्य थुप्रै कारणहरु छन् । तपाइँ हामी सबैले हाम्रो समाजमा देखेर भोगेर आएका यी समस्याहरुमध्ये केही तल इङ्गित गरिएका छन् ।

सानो उमेरमा विवाह
शरीरको पूर्णरुपले विकास नहुँदै विवाह गरेपछि यौन सम्बन्ध पनि चाँडै हुन जान्छ । शारीरिक रुपमा आमा बन्नको लागि १९ वर्षभन्दा पहिले अङ्गप्रत्यङ्ग पूर्णरुपले विकसित भइसकेका हुँदैनन् । प्रजनन अङ्ग र पाठेघरको पनि विकास पूर्णरुपमा भएको हुँदैन । यस्तो बेलामा गर्भ रहन गएमा आमा बन्दाखेरी निकै कठिनाइ हुन्छ । सानै उमेरदेखि आमा बन्दा शरीर कमजोर हुँदै जान्छ र पाठेघरलाई अड्याइराख्ने मांसपेशी कमजोर हुन्छ र पाठेघर झर्न जान्छ ।

गह्रौं भारी बोक्नु
सुत्केरी भएका महिलाहरुले कमसेकम छ हप्ता गह्रौं भारी उचाल्नु हुन्न । किनभने बच्चा पाएपछि पाठेघर पूर्णरुपमा पहिलेको स्थानमा फर्कन छ हप्ता लाग्छ । तर हाम्रो देशका विभिन्न ठाउँमा किशोरीहरु आमा बन्ने र सुत्केरी भएको केही दिनपछि नै पहाडमा घाँस र दाउराको भारी उचाल्ने, तराईमा गाईभैँसीलाई कुँडो पकाउने ठूलो भाँडा उचाल्ने, धेरै टाढाटाढासम्म पानी लिन जाने र धेरै लुगाहरु धुने गर्छन् । यस्तो अवस्थामा कमजोर शरीर र कमजोर मांसपेशी भएको कारणले प्राकृतिकरुपमा रहेको ठाउँबाट पाठेघर बिस्तारै खस्दै जान्छ ।

स्वास्थ्य सेवा नपाउनु
नेपालका धेरैजसो ठाउँहरुमा स्वास्थ्य सेवाको अभाव त छँदैछ, त्यसमाथि पनि सुत्केरी हुँदा सेवा दिन सक्ने दक्ष जनशक्तिको झन् नै अभाव छ । यसैले गर्दा सुत्केरी हुँदा ८० प्रतिशतभन्दा बढी महिलाहरु घरमा नै सुत्केरी हुन्छन् । अनेक किसिमका गलत धारणा, अज्ञानताले गर्दा बच्चा पाएपछि महिलाले राम्रो स्याहार पाउँदैनन् र यो पनि पाठेघर खस्ने कारण बन्न जान्छ ।

सुत्केरी हुँदा राम्रो स्याहार र खाना नपाउनु
कतिपय ठाउँहरुमा सुत्केरीलाई हरियो सागपात, अन्न, माछामासु दिन हुन्न भन्ने गलत धारणा छ । यस्तो अवस्थामा उचित स्याहारको अभावमा महिलाको शरीर कमजोर हुँदै जान्छ । अझै कामको बोझ थपियो भने त पाठेघरलाई समातेर राख्ने नलीहरु कमजोर हुँदै जान्छन् र कहिलेकाहीँ बिस्तारै कहिले एकैचोटि पाठेघर बाहिर निस्केर आउँछ ।

धेरै सन्तान जन्माउनु र जन्मान्तर नहुनु
परिवार नियोजनका सेवाको अभाव, धार्मिक, सामाजिक र सांस्कृतिक कारण र परिवारको दबाबमा परेर महिलाले परिवार नियोजनको सेवा प्रयोग नगर्नु बारम्बार महिला गर्भवती भइरहन्छन् । हरेकचोटि गर्भ रहेपछि शरीरको अङ्ग र पाठेघर धान्ने तन्तुहरु कमजोर हुँदै जान्छन् । किनभने गाउँघरमा दक्ष स्वास्थ्यकर्मीको अभाव छ । त्यस्तो बेलामा उचित सरसफाइको पुग्दैन र संक्रमण हुने धेरै सम्भावना हुन्छ । जुन पाठेघर खस्ने कारण बन्न जान्छ । प्रत्येक गर्भावस्थापछि यो क्रम बढ्दै जान्छ ।

जननेन्द्रिय (प्रजनन अङ्ग) हरुमा संक्रमण
पाठेघर र त्यसको वरिपरिका अङ्गहरु आफ्नो सही ठाउँमा रहनलाई त्यसका वरिपरिका मांसपेशी र तन्तुहरु स्वस्थ रहन जरुरी छ । हाम्रो देशका धेरैजसो व्यक्तिहरुमा आफ्नो गुप्ताङ्गको सफाइ गर्नुपर्छ भन्ने धारणा कमै पाइन्छ । बारम्बार संक्रमण हुँदा र औषधि उपचारको व्यवस्था नहुँदा मांसपेशी र तन्तु कमजोर हुन जान्छ ।

बारम्बार खोकी लागिरहने (धुवाँ र चुरोटको कारणले) 
महिलाले चुरोट पिउँछिन् र उनी बारम्बार खोकिरहन्छिन् भने, खोक्दा उनको पेटमा दबाब पर्न जान्छ । यस्तो बेलामा कमजोर मांसपेशी हुँदा र पाठेघरलाई बाँधेर राख्ने नलीमा पनि दबाब पर्न जान्छ र पाठेघर बिस्तारै आफ्नो स्थान छोडेर बाहिर निस्कन्छ । _ स्वास्थ्य खबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com