कबिता - म बसेको शहर


कबिता - म बसेको शहर

अनगिन्ती त्रासहरु सँगै
बिहानी बिउझिन्छ
र दिनहरु
उष्ण ताप पिएर पग्लिन्छन ।
म बसेको शहरमा ।

यो भयभित शहर भित्र
नुनिला पसीना बगाएर
गुलिया सपनाहरु किनिन्छन्
हरेक दिन
हराएका ख़ुशी खोज्नेहरुको
भीड लाग्ने गर्दछ यहाँ
मानौ जिन्दगीका खुशीहरु
यतै कतै हराएको छ ।

समुन्द्री किनारका
ति ताता बालुवाहरुमा
औलाले कोरेर
सपनाको घर बनाउछन् मान्छेहरु
त्यही परको गगनचुम्बी महल जस्तै, दुरुस्तै
तर
प्रत्येक पल्ट
उर्लिएर आउने उन्मादि छालहरुले
भत्काइदिन्छ, मेटिदिन्छ
कमिलाका घरहरु
म बसेको शहरमा ।

आफ्नै मुनी छाँया पार्दै
हजारौ दियोहरु
सम्झनाका सलेदोहरुमा
आँशु बालिरहन्छन्
म बसेको शहरमा ।

सन्त्राससँग थोरै हाँसो सापटी माग्दै
खटाइ खटाइ
बेचैन् हाँसो हाँसिन्छ
यहाँ
हरेक साल बल्झिरहन्छ
युद्दका घाउहरु
रग्ताम्य यो समय
पहिला घाउ लगाउछ
र पछि मल्हम बाड्ने गर्दछ ।
म बसेको शहरमा ।

पुर्बी अँगेनुमा
रातो आगो नबल्दै
यहाँको आकाशभरी
क्रोधहरु पड्किन्छन
बारुद भरिएका पार्सलहरु
ठेगाना खोज्दै
घरका भित्ताहरुमा बजारिदा
सयौ लासहरु काखी च्यापेर
फर्किन्छन, कागहरु उत्सब मनाउन ।
यस्तै हुने गर्दछ
म बसेको शहरमा ।

बिज्ञान पिएर नशा झै
बिज्ञान ओकल्छन्

बिज्ञानकै ढकनिले छोपिएका
ति घाउहरु दुखिरहन्छन्

समुन्द्रको गहिराइ नापेर
समुन्द्र मुनी अर्को शहर
बनाउन सक्ने यो देश
किन घाउको गहिराइ नाप्न सक्दैनन् ?
किन बेदनाको क्षेत्रफल नाप्न सक्दैनन् ?

श्रीराम अधिकारि
हेटौडा
हाल इज़रायल 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com