कविता:- अर्पें प्रणामाञ्जली


कविता:- अर्पें प्रणामाञ्जली

ब्रह्मा,विष्णु,महेश्वरादि गुरु हुन्,हुन् मुक्तिदाता उनी
आत्मै हुन्,परमात्म हुन् जनक हुन्,माता र भ्राता उनी
उन्कै स्नेह मिलेर जीवन सधैँ,चम्क्यो धिपिक्कै बली
सम्झेँ आज समस्त ती गुरुहरू,अर्पें प्रणामाञ्जली ll १ ll

बाँडे ज्ञान पवित्र अमृत सरी,सन्मार्ग मेरो खुल्यो
वैलिन्थ्यो विरुवा तथापि मलिलो पाएर माया फुल्यो
डोर्याए करमा समाइ अहिले,घुम्दैछ त्यो झल्झली
सम्झेँ आज समस्त ती गुरुहरू,अर्पें प्रणामाञ्जली ll२ ll

चिन्तामा,भयमा तथा सकसमा,चोखा दिलासा भरे
पर्दा खाडलमा झिकेर सहजै,सम्पूर्ण बाधा हरे
आशा पूर्ण गरे विशुद्ध मनले,भाग्यो निराशा गली
सम्झेँ आज समस्त ती गुरुहरू,अर्पें प्रणामाञ्जली ll ३ ll

जे जे थ्यो मनमा विकार ननिका सारा पखाली दिए
पाएँ कोमल जिन्दगी गुरु सबै साँच्चै विधाता थिए
छल्क्यो प्रेम अनन्त यो हृदयमा आँखा भए भल्भली
सम्झेँ आज समस्त ती गुरुहरू,अर्पें प्रणामाञ्जली ll ४ ll

(गुरुपूर्णिमा २०७३ )
-कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com