किराँत राईहरुले किन खसी-बाख्राको मासु खाँदैनन् ?

नबिन खड्का, आषाढ ३०,

पूर्वकालमा किरात पूर्खा हर्कम्बूङ किराती आफ्ना छोराहरू भुसुरी, छछाप्पा – वाछाप्पाहरूलार्इ लिएर पूर्वको शप्तकोशीका सहायक नदीहरू अरूण, तमोर र सुनकोशी पछ्याउदै हिमालतर्फ जान खुवालुङ (हाल बराहक्षेत्र नजिक रहेको अरूण, तमोर र सुनकोशी नदीको सङ्गम) मा पुगे । सो क्रममा खुवालुङको कठिन मार्ग पारगर्नु पर्दथ्यो । खुवालुङको ढोका सधै वन्द रहन्थ्यो । धामीले मुन्दुम फलाक्दै पशुपंक्षीको खुन चढाएपछि मात्र खुवालुङको बाटो/ढोका खुल्दथ्यो । सो क्रममा भुसुरीहरूले खुवालुङको ढोका खुलाउन ‘क्याँकी’ चरा (रातो जूरेली ?) समातेर भोग दिए ।

भोग खानसाथ खुवालुङको ढोका खुल्नगयो । त्यसपछि उनिहरू फटाफट खुवालुङ पारगरी उकालो चढ्न लागे । उता छछाप्पा – वाछाप्पाहरू केहि पछि रहेकाले भुसुरीहरूसँगै खुवालुङ पारहुन सकेनन् । त्यसपछि उनिहरूले उकालो चढ्दैगरेका भुसुरीहरूलार्इ सोधे ‘हैन दाजुभाइ हो ! हजुरहरूले के, कसो गरी खुवालुङ तर्नुभयो ? हामी त तलै पो अड्कियौं त ।’ उनिहरूको कुरा सुनेर भुसुरीहरूले ठट्टा गर्दै भन्न लागे ‘हैन दाजुभाइ हो ! हामीले त आफ्नै चेलीको खुन चढाइपठायौं र पो खुवालुङको बाटो खुल्यो त ।’ उनिहरूको कुरा सत्य होला भन्ठानेर छछाप्पा – वाछाप्पाहरूले पनि आफ्नी चेलीको हातको औंला काटेर खुन निकाली खुवालुङमा चढाए ।

मानिसको खुन पर्नासाथ खुवालुङको ढोका खुल्यो र छछाप्पा – वाछाप्पाहरू पनि खुवालुङ पार गरि उकालो लागे । परन्तु त्यसपछि खुवालुङको ढोका फेरि कहिलै वन्द भएन । उता काटिएको औलाबाट झरेको चेलीको खुन एउटा केराको पातमा पर्न गयो । उक्त केराको पातमा झरेको खुन एउटा बाख्राले चाटेर खायो । संयोगवस ती चेलीको तत्काल मृत्यु हुनगयो । त्यसपछि छछाप्पा – वाछाप्पाहरूले आफ्नी चेलीको खुन खाने उक्त बाख्राको सन्तानको मासु कहिले नखाने प्रतिज्ञा गरे । तत्पश्चात खसी बाख्राको मासु खादा आफ्नै चेलीको मासु खाए बराबरको दोष लाग्ने भएकोले किरात रार्इहरूले खसी बाख्राको मासु नखाएका हुन् ।
(लेखक अरुण उपत्यका लोक सांस्कृतिक अनुसन्धान केन्द्रका अध्यक्ष हुनुहुन्छ ।)
_स्रोत-धनकुटा खबर ;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com