यस प्रकारको टाउको दुखाइ खतरनाक हुनसक्छ

काठमाण्डौ साउन १५, 

 डा. पवन शर्मा

टाउको दुखाईको समस्या नभोगेका कमै मानिस होलान् । टाउको विभिन्न कारणले दुख्छ । टाउको दुखाई आफैंमा एउटा रोग हुन सक्छ वा कुनै रोगको लक्षण पनि हुन सक्छ ।

इन्टरनेशनल हेड्याक (टाउको दुखाई) सोसाइटिका अनुसार टाउको दुखाई दुई प्रकारका हुन्छन् । स्वस्फूर्त रुपमा हुने टाउको दुखाई जसलाई प्राइमेरी हेड्याक (प्रथामिक टाउको दुखाई) भनिन्छ र अर्को कुनै कारणले टाउको दुख्ने हुन्छ जसलाई सेकेन्डरी हेड्याक भनिन्छ । प्राइमरी हेडएक कुनै रोगका कारणले हुन्छ । यस्तो दुखाई टाउको र घाँटीका मांशपेशी, रक्तनली, नशा जस्ता संवेदनशील भागहरुमा हुने सक्रियताले हुन्छ । साथै दिमागको रसायनिक तत्वको बढी सक्रियताका कारण पनि यस्तो दुखाई हुन सक्छ ।

सेकेन्डरी हेड्याक शरीरमा पानीको कमी, तनाव, चिन्ता, डिप्रेशन, पिनास, आँखाको कमजोरी, जलबिन्दु, पेनकिलर (दुखाइ कम गर्ने औषधीको) लगायतका कारणले हुन्छ ।

आज भोली अधिकांश बिरामीमा तनाव, चिन्ता, डिप्रेशनजस्ता कारणले टाउको दुख्ने गरेको पाइन्छ । टाउको दुख्ने समस्या लिएर गएका बिरामीलाई अधिकांश चिकित्सकले दुखाईको मात्र उपचार गरेको पाइन्छ । यसरी उपचार गर्दा औषधिले असर गर्न छाडेपछि फेरि टाउको दुख्न सुरु गर्छ । यसरी पटक–पटक औषधि खाएर पनि टाउको दुखाई निको भएन भने मनोवैज्ञानीक कारणले होकी भनेर शंका गर्नुपर्ने हुन्छ । एक तथ्याङ्कले ३० प्रतिशत भन्दा बढी माइग्रेनका बिरामीलाई कुनै न कुनै खालको मानसिक समस्या हुने देखाएको छ ।

स्वास्थ्य सेवा प्रदायकले सामान्यतया उपचारमा लक्षणहरुको हिस्ट्री र सामान्य परिक्षण गरेर टाउको दुखाईको निदान गर्ने गर्दछन् । टाउको दुखाईका समस्या भएका अधिकांश बिरामीलाई सिटीस्क्यान, एमआरआई जस्ता महङ्गा परिक्षणको आवश्यकता पर्दैन । तर, बिरामीलाई सोध्दै जाँदा त्यस्ता केही लक्षणहरु देखिन्छन् जसलाई ‘रेड फ्ल्याग साइन्स’ भनिन्छ । यस्तो अवस्थामा सिटीस्क्यान, एमआरआईका जरुरी हुन्छ ।

यस्तो टाउको दुखाई खतरनाक मानिन्छ
–    टाउको दुखाईको प्रकृतिमा फरक आउनु
–    टाउकोको चोटपछिको दुखाई
–   अचानक दुखाईको सुरुवात
–   ५० वर्षभन्दा माथिको उमेरमा हुने दुखाई
–    टाउको दुखाईसँगै मुख बाङ्गो हुनु, प्यारालाइसिस हुनु वा शरीरको कुनै भाग लाटो हुनु
–    टाउको दुखाई सँगै वान्ता हुनु, घाँटी अररो हुनु, उच्च तापको ज्वरो आउनु
–    आँखा रातो हुनु र आँखा तिरमिराउनु
–    कुनै क्यान्सरका कारणले हुने टाउकोको दुखाई

टाउको दुखाईको सबैभन्दा सामान्य उपचार भनेको उचित आराम र दुखाई कम गर्ने औषधी नै हुन् । अनुमानित ५० प्रतिशत भन्दा बढी व्यक्तिहरुले टाउको दुखेमा औषधि पसलमा गई आफैं औषधि किनेर खाने गरेको पाइन्छ । अन्तर्राष्ट्रिय अध्ययनहरु हेर्दा टाउको दुखाईको समस्या अशक्तताको तेस्रो प्रमुख कारणको रुपमा आएको छ ।
सामान्य सेवा प्रदायक डाक्टरहरुमा यससम्बन्धि ठोस ज्ञान नहुनु अहिले ठूलै चुनौतीको रुपमा देखिएको छ ।

विश्वभरि नै एमबिबिएस तहको पाठ्यक्रममा औसतरुपमा ४ घण्टा मात्रै टाउको दुखाईको बारेमा पढाइन्छ । चार घण्टाको पढाइले यति ठूलो समस्या समाधान गर्न सजिलो नहोला । चिकित्सकमा भएको ज्ञानको अभावले गर्दा धेरै बिरामीहरुमा यसको निदान नभएको पाइन्छ । विश्वव्यापी तथ्याङ्क हेर्ने हो भने पनि ४० प्रतिशत माइग्रेन र टेन्सनटाइप हेड्याकका बिरामीले मात्र उचित उपचार पाएका हुन्छन् ।

जनमानसमा  टाउको दुखाईलाई ठूलो समस्याका रुपमा नहेरिनुपनि अर्को महत्वपूर्ण पक्ष हो । टाउको दुखाई बेला–बेलामा हुने, मृत्यु नहुने र नसर्ने हुँदा पनि खासै गम्भिर चासोको विषय मानिदैन । समग्रमा भन्नु पर्दा टाउको दुखाई सर्वव्यापी र उपचार हुने रोग भएतापनि यसको उचित पहिचान, उपचार र निदान हुन सकेको छैन । चाँडो उपचार गरेमा सजिलै ठीक हुने र उपचार नगरेमा बल्झिँदै जाने हुँदा टाउको दुखाईको प्रत्यक्ष प्रभाव व्यक्तिगत तथा सामाजिक दुवै पाटोमा पर्छ । समयमै टाउको दुखाईको कारण र सही उपचार हुन नसके बढी क्षति पुग्न सक्छ ।
(लेखक अरोगिन हेल्थ केयर एण्ड रिसर्च सेन्टरका हेड्याक क्लिनिक प्रमुख हुन्)
_स्रोत-स्वास्थ्य खबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com