पढ्ने बेला सुजन आँखा नदेख्ने समस्याबाट गुन्ज्रंदै

 बागलुङ आषाढ २४,

कुमालगाउँका एक शिशु सुजन कुमालको दुवै आँखामा जलविन्दु छ । २७ महिने कुमाल अरूको सहारामा हिँड्डुल गर्छन् ।

कुमाललाई संसार देखाउने उनका अभिभावकको रहर अधुरै छ । आर्थिक अभावमा सुजनको उपचार हुन सकेको छैन । कुमालले आफूअघि कोही बोलेको सुने छामछुम गर्ने, हाँस्ने गर्छन् । स्पष्ट बोल्ने कुमाल पिँढी, आँगनमा दौडन खोज्छन्, तर झुक्किन्छन्, लड्छन् ।

उनका आँखा अस्वाभाविक लाग्ने गरी ठूला र नीला भएका छन् । “धेरै नजिकको वस्तु, बाटो धमिलो देख्छ होला, टाढा देख्ने कुरै भएन”, सुजनका बुबा धनबहादुरले भने, “खै, अब उपचार नपाए सँधैभरिलाई दृष्टि गुम्ने हो कि, भन्ने चिन्ता छ ।”

ऋण धन गरेर एकपटक उपचार गरिए पनि जलविन्दुको समस्या नटरेको उनको भनाइ छ । “डेढ वर्षअघि काठमाडौँमा लगेर उपचार गराएका हौँ, अस्पतालले थप उपचारका लागि ल्याउन भनेको थियो, आर्थिक स्रोत नभएकाले पछि लान सकेनौँ”, धनबहादुरले भने ।

तिलगङ्गा आँखा अस्पतालमा गरिएको पहिलो शल्यक्रियापछि पनि कुमालको समस्या उस्तै छ । जलविन्दुको समयमै उपचार नगरे पछि पूर्णरुपमा दृष्टि गुम्ने चिकित्सकले बताएको सुजनकी आमा जमुना कुमालले बताइन् ।

“ऋण काढेर उपचारका लागि काठमाडौँ लग्यौँ, तिलगङ्गा अस्पतालमा शल्यक्रिया गरेपछि बाबुका आँखा झन् ठूला भएका छन्, बिग्रिएजस्ता देखिन्छन्”, जमुनाले भनिन्। उनले शल्यक्रियाको दुई महिनापछि चिकित्सकले जाँचका लागि ल्याउन भने पनि आर्थिक अभावका कारण जान नसकेको बताइन् ।

समयमै पहिचान गरेर उपचार गरे जलविन्दु रोकथाम गर्न सकिने चिकित्सक बताउँछन् । मजदुरी गरेर परिवार धान्दै आएका कुमाल परिवारले कतैबाट सहयोग पाए सुजनलाई थप उपचारका लागि लैजाने बताउछन् । 

छोराको समस्या थप बल्झँदै गएपछि कुमाल दम्पती निराश बनेका छन् । “उपचार हुने भए र सहयोग पाएमा त लैजाने थियौँ, पछि झन् पूरै नदेख्ने हुन्छ भन्नुभएको छ, डाक्टरले”, सुजनका बुबा धनबहादुरले भने।

बुबा आमा दुवै मजदुरीमा जाँदा हजुरआमा सन्तकुमारी कुमालले सुजनको हेरचाह गर्ने गर्छिन् । सुजनका दुई दाइ सन्देश र दिनेश छन् । उनीहरु विद्यालय जान्छन् ।

प्रारम्भिक तह पढ्ने बेला सुजन भने आँखा नदेख्ने समस्याबाट गुज्रेका छन् । कमजोर आयस्तरका कारण उनको पालनपोषण, सरसफाइमा पनि समस्या देखिएको छ । चरम गरिबी रहेको कुमाल गाउँका मिलन कुमालले सुजनमा सानैदेखि समस्या रहेपनि बेलैमा उपचार पाउन नसकेको बताए। रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com