नेपालकै सबैभन्दा धेरै तोलको शिशु

पोखरा, १८ असार ,

पोखरामा अहिलेसम्म नेपालकै सबैभन्दा धेरै तोलको शिशु जन्मिएको छ ।

स्याङ्जा जिल्लाको एलादी गाविस–१ घर भइ पोखरामा बस्दै आएका होमबहादुर गुरूङ र लक्ष्मी गुरूङको दोस्रो सन्तानका रुपमा पौने ६ किलो तौलको छोरा जन्मिएको हो । पोखराका चिकित्सकहरुले यो अहिलेसम्मकै सम्भवतः बढी तौलको हुनसक्ने बताएका छन् ।

२८ वर्षीया लक्ष्मीलाई शुक्रबार बेथा लागेपछि रानीपौवाको साइअर्चना अस्पतालमा भर्ना गरिएको थियो । बच्चाको तौल अस्वभाविक भेटिएपचि अपरेशन गरी निकालिएको थियो ।

‘अहिलेसम्म मलाई चार किलो दुई सय ग्रामभन्दा बढी तौलको बच्चा जन्मेको थाहा थिएन,’ शल्यक्रियामा संलग्न डा अर्चना पुनले भनिन, ‘जन्मँदा ६ किलो तौल देखिएको बच्चा डिजिटल तौल मेसिनमा ५ किलो ७ सय ५५ ग्राम देखिएको छ । तर, आमा बच्चा दुबै नर्मल छन् ।’

बच्चाको तौल अस्वभाविक पाइएपछि थप रेखदेखका लागि लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइएको छ । गर्भवती अवस्थामा निकै कम जँचाउन आउने लक्ष्मीलाई गर्भ रहेको ५ महिनापछिमात्रै थाहा भएको थियो ।
शुक्रबार बेथा लागेपछि अस्पताल ल्याइँदा मज्जाले मासुभात खाएर आएको बताएपछि ६ घण्टा पर्खाएरमात्रै अप्रेशन गरिएको डा. पुनले बताइन ।

पौने छ किलोको छोरा जन्मिएपछि लक्ष्मी पनि आश्चर्यमा परेकी छिन् । पहिला देखाउँदा डाक्टरले आमाको बोसो धेरै छ, अप्रशेन गर्दा गाह्रो होला भनेका थिए । यत्रो बच्चा जन्मिँदा छक्क परेको छु । बच्चा यति भारी होला भन्ने सोचेको थिइन् ।’ आश्चर्य मान्दै लक्ष्मीले भनिन् ।

लक्ष्मीका पति होमबहादुर गुरुङ पोखरामा ट्याक्सी चलाउने काम गर्छन् । उनीहरुको यो दोस्रो सन्तान हो । पहिलो सन्तान छोरी १५ महिनाकी छिन् ।_स्रोत-दैनिकनेपल ;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com