कविता By, 'बाह्र'
कहिले बाह्रै नेपालीलाई
बिना दोष गोली ठोकिन्छ
कहिले बाह्रै लाश
आँगनमा बाक्स बनेर
आइपुग्छ
बाह्रै जूनी फेर्दा पनि
भाग्य कहिले फेर्न सकिएन
मेरो देशमा बाह्रै काल
एक निमेश शान्ती छैन
आँखाको भेल सुक्नै पाउँदैन
मनको आसा जति हुर्काए पनि
बर्षको बाह्रै महिना
बिश्वासले घुडा टेक्नै पाउँदैन
न सबै नागरिकलाई
बाह्र खरी सिकाउन सकेको छ
न बाह्र खरी सिकेकोलाई
रोजगार दिन सकेको छ
बेइमान धुर्त फटाहाहरूलाई
डा.साप को बिल्ला छ
नेताहरूको तमासा र नौटंकी छ
कहिले बाह्र बुंदे सम्झौता गर्छन्
देशलाई मिलेर लुट्नु लुट्छन्
आतंककारीको ट्याग चाहिँ
सोझा जनतालाई भिराउँछन्
खान नपुगेर बिवश्ताले
काखे बच्चासँगै आमा
झुण्डिएर मरेको समाचार बन्छ
कति हेरिरहनु र सहनु
हराएको आफ्नै देश
मन नलागी प्रवास पसेको देश
अब बाह्रै बाह्र गुणन गरेर
त्यतिमा त्यतिले गुणन गर्दै
एक ढिक्का हौ सचेत भएर
बाह्र सेकेण्ड पनि नपर्खौ
हामीलाई सिर्फ मुर्दा देख्नेहरूलाई।
दीपा राइ पुन ;
बोस्टन , अमेरिका :