तुलना हैन ,प्रतिस्पर्धा गर !

बिष्णु गुरुङ "एकता" क्यालिफोर्निया,अमेरिका 

ठुल ठुला थारु गाउँहरुको बस्ती सँगै पहाडबाट बसाई सरेका हरेक समुदायका बस्तिहरुले भरिएको थियो चितवनको माडी। दक्षिण ,पश्चिममा ठुल ठुला पहाडले, भारत र नेपालको सिमानाको निशाना लगाएको थियो भने उत्तर र पुर्वमा राष्ट्रिय निकुञ्जले घेरेर बिचमा एक प्राकृतिक मनोमोहक ठाउँ सुन्दर फूलहरुले भरिएको बगैचा थियो माडी बस्ति। 

करिब ४ दशक पहिलेको कुरा हो, ठुल्ठुला तीन चार वटा गाउँहरुको बिचमा एउटा प्राथमिक स्कूल थियो भने एउटा गा. वि. स. मा एउटा माध्यमिक स्कूल र माडी हाईस्कुल चार गा. बि. स. को बिचमा थियो। अहिले भन्दा पत्याउँनै गाह्रो तर सत्य कुरा १ कक्षा देखि ३ सम्म म एक्ली केटि थिए मेरो कक्षामा l माध्यमिक स्कूलमा पुग्दा केहि केटि साथिहरु पाउँदा अति खुशी लाग्यो तर फेरी पाँच र छ मा एक्ली नै परे l सातमा पुग्दा साथी गोमा फेरी त्यहिँ कक्षामा पढ्नु पर्ने भएकोले साथी पाए। 

जब म कक्षा ५ मा पुगे केटाहरुले मलाई दुख दिन थाले। त्यो बेलामा केटा र केटी साथि हुदैनथ्यो l बेन्चमा सँगै बस्न नहुने भएकोले म एक्लैले पाच जनाको सिट लिदा र केटाहरु कोचिएर बस्नु पर्दा केहि अप्ठ्यारो बाताबरण सिर्जना हुन्थ्यो l तर, त्यो समस्याको समाधान कसैले गर्न सकेन। यसरीनै बढ्दै गएको केटाहरु र म बिचको दुश्मनीको असर पढाई तिर पनि पर्न गयो। 

म, कक्षा ५ मा तेस्रो स्थान लिदै कक्षा ६ मा पुगे। पहिलो र दोस्रो हुने केटाहरुले अरु केटाहरुलाई पनि भट्काएर मेरो बारेमा अनेक शंकास्पद आलोचना गर्न थाले l बिहान कक्षामा आईपुग्दा मेरो बस्ने ठाउँमा केटाहरु बसिरहेको हुन्थे l अगाडि ब्लाक्बोर्डमा मेरो नाम सँग कुनै शिक्षकको नाम वा अरु कुनै केटाको नाम जोडेर मेरो चरित्रको बारेमा लेखिरहेको हुन्थे। 

अफिसमा गएर नभन्दै सम्म केटाहरुले ठाउँ नछोड्ने गएर भनु भने जुन शिक्षक आएर उनीहरुलाई हटाउछ उसैसँग मेरो सम्बन्ध भएको हल्ला चलाउने म बढो दोधारमा पर्ने थिए। स्कूलको अफिसमा बाहेक मैले यो कुरा कसैलाई पनि भन्न सक्दैनथे l अरु कक्षाको केटी साथीहरु देखेर रहर लाग्दथ्यो l र ,आफूलाई कक्षामा एक्ली केटि हुनु परेकोमा अभागी ठान्थे। 

जब समय बित्दै गयो, एकातिर केटाहरुले दुख दिन्थे भने अर्कातिर सबै शिक्षकहरुले मलाई अति नै माया र ईज्जत गर्न थाले। सिक्काको दुई पाटा जस्तै जीवनको पनि दुईपाटा हुदो रहेछ। उहाँहरुले दिएको माया र ईज्जतले मलाई जीवित राखदै स्कूललाई निरन्तरता दिने प्रेरणा मिल्यो। 

जब उज्यालो आउँछ अन्धकार स्वतः हट्दो रहेछ। केटाहरुसँगको प्रतिस्पर्धाले र शिक्षकहरुको समर्थनले मैले पढाई साथै आफ्नो दैनिक कृयाकलापमा परिबर्तन ल्याए जसले गर्दा केटाहरुसँगको दुश्मनी मित्रतामा परिणत भयो। जुन मेरो अति बिरोध गर्थे ,उनीहरु नै म प्रति बढी आकर्षित भए l र ,उनीहरुले मलाई लभ लेटर समेत दिए। बार्षिक परिणामको दिन म कक्षा ६ मा दोस्रो स्थान र स्कूलकी अनुशासन छात्राको रुपमा पुरुस्कृत भए। 

त्यसपछि स्कुले जीवनमा केटाहरुसँग दुश्मनी गर्ने मौका कहिल्यै मिलेन। त्यो अविस्मरणीय क्षण सम्झदा ति महान शिक्षकहरुको माया र मुहार पनि मेरो मानसपटलमा सदा ताजा रहि रहने छ। 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com