किन बन्छ कोही बलात्कारी ?

डा. अनुपम पोखरेल, मेल्बर्न, अष्ट्रेलिया

मानिस किन बलात्कारी बन्छ ? यो प्रश्नको सिधा उत्तर छैन । तर एउटा कुरा चाँहि भन्न सकिन्छ, यो एक सामाजिक रोग हो  । हामी छापामा बलात्कारका घटना नियमित पढ्छौं । यो समस्या यति विकराल भइरहेको छ कि आजभोलि सबै बलात्कारका घटनाले छापामा स्थान नपाउने अवस्था आइसकेको छ । बच्चाका बलात्कार, सामूहिक बलात्कार या शिक्षक तथा चिकित्सकले बलात्कार गरेका घटनाले छापामा विषेश स्थान पाउँछन् । केही समय यताका घटना हेर्ने हो भने बलात्कारका साथै क्रुरता पनि बढ्दै गएका भेटिन्छन् । बलात्कृत महिला जिउँदै फेला परेमा समेत सन्तोषको श्वास फेर्नुपर्ने बिडम्बना छ ।

अर्को कम चर्चा हुने वास्तविकता के पनि हो भने करिब १० मध्ये १ बलात्कारका घटनामात्र प्रहरीसम्म पुग्छन् । धेरैजसो बलात्कारका घटना प्रहरीसम्म नपुग्नुमा पारिवारिक, सामाजिक र कानुनी अड्चनले मुख्य भूमिका खेलेका हुन्छन । केही पीडित शारीरिक या मानसिक दुरावस्थाका कारण उपचार खोज्ने क्रममा सूचना चुहिएपछि मात्र प्रहरीकहाँ पुग्छन्  ।

बलात्कारका दुई तिहाई घटना चिनेजानेका मानिसबाटै हुन्छन् । साथी, शिक्षक, हाकिम या आफूभन्दा शक्तिशाली ओहोदाका व्यक्ति या नाताभित्र अर्थात् जोसंग नियमित भेटघाट या अन्तक्र्रिया गर्नुपर्ने हुन्छ, उनीहरूबाटै यौन दुव्र्यवहार र बलात्कार हुन सक्ने संभावना बढी हुन्छ । प्रायजसो हामी बालिका या महिला बलात्कृत भएको सुन्छौं । बालक र पुरुष पनि   बलात्कारका शिकार हुन सक्छन् । प्रायजसो बलात्कारीचाँहि पुरुष नै हुन्छन् । यदाकदा महिला बलात्कारीको प्रसंग या समाचार सुन्नमा आए पनि यो धेरै कम भेटिन्छ ।
तर, कसैले किन बलात्कार गर्छ या किन यौनहिंसा हुन्छ ? यसको उत्तर हाम्रो सामाजिक र कानुनी संरचनाभित्र खोजिनु उपयुक्त हुन्छ ।

सर्वप्रथम त हाम्रो समाजमा बालबालिकाले कस्तो र कसरी यौन शिक्षा पाउँछन् भन्ने बारे चर्चा गर्नु आवश्यक हुन्छ । हुन त औपचारिक यौन शिक्षामा पहिलेको भन्दा बढी सुधार आएको बुझिन्छ । यौन शिक्षाको अर्को पाटो अनौपचारिक यौन शिक्षा हो,  जुन सिनेमा, यौनसम्बन्धी पाठ्यसामग्री, पत्रपत्रिका, साथी तथा आफ्ना सिनियरमार्फत् किशोरकिशोरीले प्राप्त गर्छन् ।

पहिलेभन्दा बढी यौनका दृष्टिले उदार सिनेमा आउन थालेका छन् । कलाकारहरू वास्तविक जीवनमा पनि यौनका बारेमा खुलेर कुरा गर्न थालेका छन् । यो एक हिसाबले राम्रो भए पनि यसले बालमस्तिष्कमा पार्ने प्रभावका बारेमा अनुमान लगाउन सकिन्छ । पश्चिमी देशमा सिनेमालाई विभिन्न श्रेणीमा विभाजन गरिएको हुन्छ । बालबालिकालाई खास उमेर नपुगिकन यौन क्रियाकलाप भएका सिनेमा नहेर्न  सल्लाह दिइन्छ । 

के सही र के गलत भन्ने बुझिनसकेको उमेरमा विभिन्न खालका यौन गतिविधि भएका सिनेमा र गीतहरूद्वारा, त्यस्तै यौनसम्बन्धी पाठ्यसामग्री पत्रपत्रिकामा सनसनीपूर्ण तरिकाले प्रकाशित गरिँदा  बालबालिकामा उत्पन्न हुने सामान्य यौन जिज्ञासा उनीहरू किशोरावस्थामा पुग्दा नपुग्दै यौनसम्बन्धी अनेक भ्रम र मिथ्यामा परिर्वतन भईसकेका हुन सक्छन् । गैरजिम्मेबार स्रोतबाट हासिल यौनसम्बन्धी सूचनाले भविष्यको ‘बलात्कारी’ निर्माण गर्न सक्छ ।

हुन त पुराना पुस्तामा बलात्कारका घटना हुँदैनथ्यो या कम हुन्थ्यो भन्न गाह्रो छ । तर समाजमा धर्मको स्थान महत्वपूर्ण हुनु र कम उमेरमै विवाह भई यौन अनुभवको अवसर चाँडै नै प्राप्त हुनु तथा केही हदसम्म बहुविवाह पनि स्वीकार्य हुनुले उद्दण्ड यौन गतिविधिमा केही नियन्त्रण भएको र अहिलेको पुस्तामा यो परिर्वतनले पनि केहीमात्र पुरुष उद्दण्ड यौन गतिविधिमा लागेको तर्क गर्न पनि  सकिन्छ । तर यौनको उपलब्धीले बलात्कारलाई घटाउँछ भन्ने कोणबाट हेर्ने हो भने पनि यौन व्यवसाय स्वीकार्य समाजमा समेत बलात्कारका घटना हुने हुनाले अन्य कारण केलाउनुपर्ने हुन्छ ।

बलात्कार एक अपराध हो । यसमा कुनै शंका छैन । विभिन्न समुदाय तथा राष्ट्रमा बलात्कारीले पाउने सजाय फरक पाइन्छ । केही देशमा बलात्कारीलाई मृत्युदण्ड दिईन्छ भने केहीमा केही वर्ष जेल सजाय । कानूनको कार्यान्वयन फितलो भएको समाजमा सबै बलात्कारीले सजाय पाउँदैनन् । त्यस्तै बलात्कारको मुद्दा दर्ता गर्दादेखि अदालतमा पेश हुने र बहस हुने क्रममा बलात्कृतले पटक–पटक भावनात्मक रूपले बलात्कृत हुनुले पनि बलात्कृत महिला या उसको परिवारमा त्यति लामो समयसम्म न्यायको लडार्इँ लड्ने हिम्मत नहुन पनि सक्छ । यसले गर्दा विशेषतः नेपालजस्तो देशमा बलात्कारीको मनोबल बढ्न सक्छ ।

केही हप्ता अगाडि नेपालको सर्वोच्च अदालतमा बलात्कारको मुद्दा कयौंपटक सारेको दृष्टान्तले बलात्कृतमा ‘अदालतले पनि मलाई बचाउँदैन’ भन्ने सोचाई उत्पन्न गराउँन सक्छ । जुन समाजमा बलात्कारीलाई कठोर सजाय हुन्छ, त्यहाँ बलात्कारका घटना निर्मुल नभएपनि तुलनात्मक रूपमा कमचाँहि हुन्छन् ।

बलात्कार यौनसम्बन्धी हिंस्रक व्यवहार भएपनि यो सबैजसो अवस्थामा यौनका लागि मात्र गरिएको हुँदैन भन्ने धारणा पनि छ । आत्मबल कम भएको पुरुषले मौका पाउँनासाथ तुलनात्मक रूपमा कमजोर महिलालाई यौन शिकार बनाउँन सक्छ । त्यस्तै बाल्यकालमा आफैं यौनहिंसामा परेको पुरुषले आफू वयस्क भएपछि आँफैले कमजोर बालक ÷महिलामाथि यौनहिंसा गर्न सक्छ । कति व्यक्तिले यौनहिंसालाई आफ्नो शक्ति प्रदर्शनको रूपमा पनि लिन्छन् ।

मानसिक रोग र यौनहिंसाको खासै सम्बन्ध छैन । तर बलात्कारीमध्ये धेरैजना रक्सी तथा लागूपदार्थको दुव्र्यसनी हुन्छन् ।  यस्ता पदार्थको सेवनले विवेक गुम्ने हुँदा थुप्रै बलात्कार रक्सी तथा लागूपदार्थको नशाका क्रममा भएका हुन्छन् । यसप्रकार रक्सी तथा लागूपदार्थको महत्वपूर्ण असर देखिएपनि उक्त व्यक्तिले बाल्यकालदेखि नै कसरी यौनसम्बन्धी धारणा बनायो भन्ने महत्वपूर्ण हुन्छ । त्यसैले त रक्सी तथा लागूपदार्थको दुव्र्यसनी सबैले यौनहिंसा गर्दैनन् ।

यस हिसाबले ‘मानिस किन बलात्कारी बन्छ’ भन्ने सुरुको प्रश्नको उत्तर सजिलो नभएपनि दुई वटा कुरा भन्न सकिन्छ । पहिलो– यौन शिक्षाको सन्दर्भमा हाम्रो समाजले द्वैध चरित्र त्यागेर यसलाई एउटा आवश्यक शिक्षाको विषयको रूपमा स्वीकार गर्दै अहिलेको पद्दतिमा भएका कमीकमजोरीलाई सम्बोधन नगरेमा, र दोस्रो– बलात्कारीविरुद्धको कानूनको सही र तदारुकताका साथ पालना नभएमा हाम्रो समाज बलात्कारी उत्पन्न गर्ने कारखानाको रूपमा चलिरहन्छ  ।_स्रोत-स्वास्थ्य खबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com