जीवन जिउन एउटै हात काफी

बिनोद सापकोटा, जेठ २२, 

धनमाया राईको जीवनमा सायद यस्तै लेखिएको थियो होला, बिहे भएको १६ औं दिनमै पति बियोग भोग्नपर्यो। पछिल्लो समय अपाङ्ग बन्न पुगिन्। 

झापा शिवसताक्षी-५ झिलझिलेकी धनमाया ती पात्र हुन्, जसले आफ्नो बाल्यकालदेखिको जीवन संघर्ष संगालेकी छिन्। समाजलाई झक्झक्याउने प्रयास गरेकी छिन्।
 
शुक्रबार टन्टलापुर घामको पर्वाह नगरी ४६ वर्षीया राई रतुवामाई वृक्षारोपण आयोजनाको जंगलमा दाउरा चिरिरहेकी थिइन्। 
 
दुई हातले बन्चरो समाएर भएभरको बल प्रयोग गर्दा मुढो हत्तपत्त चिरिन्न कहिलेकाहीँ,  धनमाया एकै हातले चिरिरहेकी थिइन्, देव्रे हातले तीन किलोग्रामको बन्चरो उचालेर मुढोमाथि प्रहार गर्दैथिइन्। 
 
रतुवामाई वृक्षारोपण आयोजनामा केही दिनअघि आएको आँधीले ढालेको साखु जातको रुखलाई टुक्राटुक्रा गरेर दाउरा पारिरहेकी थिइन्। उनले चिरेका दाउरा कम लोभलाग्दा छैनन्। चिर्पट आकारमा धनमायाले एकैहातले चिरेको दाउरा डोकोमा हालेर एक भारी बजारसम्म ल्याउँदा तीन सय रुपैयाँसम्ममा बिक्री हुन्छ। 
 
‘श्रीमानसँग राम्रो चिनजान हुन नपाउँदै उहाँको देहान्त भयो,’ उनले सुनाइन्।
 
जतिबेला धनमाया १३ वर्षकी मात्र थिइन्। उनका अनुसार श्रीमान् बलबहादुर राईको निमोनियाँका कारण मृत्यु भयो। त्यसपछि एक्लै भइयो।  
 
‘उमेर रहुञ्जेल त माइतीकै संरक्षणमा बसेकी थिएँ,’ उनले भनिन्। 
 
धनमाया शारीरिक रुपले पहिलेदेखि अपाङ्ग हैनन्। दाहिने हात गुमाउनु पछाडि अर्को कथा छ। 
 
पाँच वर्षअघि धान पिस्ने मिलको फिताले दाहिने हात सोह्रेर लगेपछि एक हातको सहाराले जीवन जिउन सिकियो।
 
‘हात गोडा सग्लै हुँदा माइतीमा बसें। माइतीमा दाजुभाइको बिहे गरेपछि भाउजु र बुहारीको घाँडो हुइँदो रहेछ,’ उनले भनिन्, ‘जन्मिएको छैठौं दिनमा पनि भावीले सायद मेरो जीवनमा यस्तै लेखिदिएको रहेछ।’
 
उनी अहिले माइतीको नजिकमै पकाउने, खाने, एक्लै बस्ने गर्छिन्। साह्रो-गाह्रो दुःख परेका बेला माइती आउँछन्। ‘नुहाउन, लुगा धुन, घरको अन्य काम गर्न, गोठमा पालेका चौपायाको हेरचाह गर्न एक हातले असजिलो भएको छैन,’ उनी भन्छिन्। 
 
दाउरा चिरेर भारी हालुञ्जेल धनमायाको काम सामान्य मानिसको भन्दा फरक थिएन। रुखको फेदमा डोको ठड्याएर भारी हालेपछि नाम्लोको पाता थाप्लोमा हालेर बल गरेकी धनमायाले साखु जातको काँचा दाउराको भारी जुरुक्क उचालेकी थिइन्।
 
आधा घन्टाको जंगल छिचोलेर आइपुगेकी धनमायाको दाउरा झिलझिले बजारमा सहजै बिक्री पनि भयो। उनका अनुसार दाउरा बेचेको पैसाले कुखुरालाई चारो, चौपायालाई आहार र धनमायालाई अन्न ठिक्क हुन्छ। 
 
‘जीवन जिउनका लागि मैले यो काम गरेकी हुँ,’ उनले भनिन्, ‘म जस्ता हात नहुने धेरैले मागेर खाएको देखेको छु, तर मैले गरेर खाएकी छु।’ 
 
उनकै शब्दमा मागेर भन्दा गरेर खाएको भगवानले पनि देख्छन्। धनमायाको झिलझिलेमा घाम-पानी छेक्ने एउटा फुसको घर छ। बिहान-बेलुका बाहेक दाउरा चिर्न जंगलमै रहने धनमायाले भनिन्, ‘मैले कष्टपूर्ण जीवन जिएकी छैन, पेट पाल्नका लागि कसैसँग माग्नु परेको छैन।’ 
 
त्यतिमात्रै पनि हैन, अपाङ्गताको कार्ड बोकेर राज्यको सहयोग थाप्न जानुपरेको छैन। 
 
‘सरकारले एकल भत्ता दिन्छ रे, अपाङ्ग भत्ता पनि दिन्छ रे। खोई मैले त आजसम्म सुनेकी मात्र छु,’ उनले भनिन्। उनका अनुसार आफू खोज्न गइएन, सरकारले देखेको पनि छैन।
 
शरीरका हाडमासुले काम गरुञ्जेल दाउरा चिरेर बेचेका पैसाले जीवन चलाउने हिम्मत छ धनमायाको। ‘जब शरीर थाक्छ अनि म पनि बस्छु,’ उनले भनिन्, ‘माइतमा रहँदा पनि म यस्तै काम गर्थें, त्यतिबेला दुईवटै हात सग्लै थिए।’
 
दाहिने हात छैन, केही असजिलो त पक्कै छ। तर त्यो महसुस खासै भएको छैन रे। बाध्यताले पनि हुनसक्छ तर उनी यो भन्दिनन्।
 
बिहे गरको १६ दिनमा श्रीमानलाई दागबत्ती दिएकी धनमायालाई दोस्रो बिहेका लागि धरै प्रस्ताव पनि आएका रहेछन्। तर कर्मलाई दोष दिँदै उनी यतिकै बसिरहिन्। बाँकी जीवन धेरै दु:खमै बित्यो।
 
उनले भनिन्, ‘खप्परमा जे लेखेको थियो, त्यही भइरहेको छ।’_स्रोत-सेतो पाटी;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com