ऊ त मरेर गयो-गयो परिवारको बिचल्ली भयो

 केदार मगर
खोटाङ, १० असार ,

सुन्दर गाउँ मुढे । जुन गाउँ कुनै चित्रकारले कोरेको चित्रभन्दा कम छैन । मुढे दिक्तेल नगरपालिका प्रवेश गर्ने मुख्य नाकामा पर्छ । सोही गाउँको बाटो भएर दिक्तेल झर्ने दायाँ किनारमा छन् जस्ताले छाएका एक जोडी घर ।

जुन घरमा गत कात्तिक महिनासम्म बस्दै आएका थिए अंकुर तामाङका ७८ वर्षीय बुबा भीमबहादुर र ६५ वर्षीया आमा लोकमायाँ । मन्तरे छोरा अंकुरले आफूहरुलाई सुख दिने सपनाको कदरका साथ उनकै आग्रहमा घरमा ताला लगाई जग्गाजमिन अरूको हातमा दिएर इटहरीको हाँसपोसामै सँधै बस्नेगरी गएका छन् ।

“मन्तरेले पहाडमा कति दुःख गर्नुहुन्छ ? दाजुहरुसँगै आएर बस्नु भनेपछि यतै झ¥यौँ”, वृद्ध बुबा भीमबहादुरले टेलिफोनमा भन्नुभयो, “के गर्नु अब त छोराले पनि छाडेर गयो, अब कसरी मन बुझाउनु ?” आमा लोकामायाँ एकोहोरो अंकुरको नाम पुकार्दै नियतिलाई दोष दिइरहनुभएको छ । भावविह्वल हुँदै उहाँ भन्नुहुन्छ, “मेरो छोराले हामीलाई सधैँभरिका लागि छाडेर गयो, अब हामी कहाँ जानु ?”

गत वैशाख अन्तिम साता घरबिदामा आएर अफगानिस्तान फर्किएका ३१ वर्षीय अंकुरको पनि काबुल आत्मघाती बम आक्रमणमा परी मृत्यु भएपछि परिवारमा यस्तो पीडा उब्जिएको हो । दिक्तेलको मुढेमै जन्मी हुर्किएका अंकुरको मृत्यु भएको खबरपछि दिक्तेलको मुढेलगायतका सिङ्गै गाउँ शोकमा डुबेको छ ।

अंकुरको परिवार बसाइँ सरेपनि उनका वंश मुढेमै रहेका छन् । अंकुर परिवारका मन्तरे (कान्छोमाथिका) थिए । लोकमाया र भीमबहादुरका नौ छोरामध्ये तीनजनाको मृत्यु भएकोमा अहिले छजना थिए, अंकुरको पनि मृत्यु भएपछि पाँचजना बाँकी छन् । अंकुर पाँच वर्षअघि नेपाली सेनाको जागिर छाडेर अफगानिस्तान गएको आफन्तको भनाइ छ । वैशाखमा घर आउँदा अब फेरि फर्केर अस्ट्रेलिया जाने योजना सुनाएको उनका दाजु देवराजले जानकारी दिनुभयो ।

“अंकुरले मासिक एक लाख कमाउँथे । हरेक वर्षदिनमा घरबिदामा आउजाउ गर्थे”, उहाँले भन्नुभयो, “अस्ट्रेलिया जानु त के घरै फर्कन पाएन, ऊ त मरेर गयो–गयो परिवारको बिचल्ली भयो ।”

तीन वर्षअघि हेटौँडा घर भएकी गोमा गोलेसँग अंकुरको विवाह भएको थियो । गोमा पनि अहिले अर्धबेहोस अवस्थामा रहेको जनाइएको छ । रासस 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com