आफैंले जन्माएको बच्चाको हत्याको आरोपमा मियाँ पक्राउ

भोजपुर, १६ असार,

आफैँले जन्म दिएको शिशु हत्या गरेको आरोपमा भोजपुर जिल्ला दोभाने गाविसकी एक महिला पक्राउ परेकी छिन् ।

अवैध सम्बन्धबाट जन्मिएको शिशुको घाँटी थिचेर हत्या गरेको आरोपमा दोभाने–२ थुम्लुङकी ४० वर्षीया मैयाँ तामाङलाई प्रहरीले पक्राउ गरी बुधबार सदरमुकाम ल्याएको छ ।

पाँच वर्षअघि श्रीमानको मृत्यु भएर एकल जीवन बिताउँदै आएकी मैयाँले अवैध गर्भधारण गरी जन्मेको नवजात शिशुलाई असार ९ गते हत्या गरेकी थिइन् ।

हत्या गरेपछि गाईलाई दिन राखेको घाँसको थ्रुपोमा उनकी छोरीले मृत अवस्थामा नवजात शिशुको लास भेटेकी थिइन् ।

मृत अवस्थामा नवजात शिशुको लास भेटेपछि छोरीले गाउँलेलाई खबर गरेकी थिइन् । मैयाँले बच्चा जन्माएपछि मुख थुनेर हत्या गरेको प्रहरीसँग स्वीकार गरेकी छिन् । कसको गर्भ बोकेको हो भनेर आरोपीले यकिन गर्न नसकेको प्रहरीले बताएको छ ।

मृतक नवजात शिशुको शवपरीक्षण बुधबार जिल्ला अस्पताल भोजपुरमा भएको छ । अनुसन्धानपछि प्रहरीले मैयाँलाई घरैबाट पक्राउ गरेको हो ।

आरोपी महिलालाई कानुनअनुसार कारबाही प्रक्रिया थालिने जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पञ्चलाल गोलेले बताउनुभयो । रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com