अम्बर गुरुङ - एक सम्झना

बसन्त श्रेष्ठ

भर्जिनिया, अमेरिका जेठ २९,

शायद बि.स. २७/२८ साल तिरको कुरा हो | म, नेवज गुरुङ र ज्योति अधिकारी प्राय कलेज पछिको समयमा संगै हुन्थ्यौ | हामी त्रिचन्द्र कलेजको बिज्ञान सङ्कायमा अध्ययनरत थियौं | कलेज पछिको समयमा प्राय प्रत्येक दिन धेरै जसो साहित्यका बिषयमा छलफल गर्ने, केहि लेख्ने, गाउने गर्ने गर्थौं | नेवज मिठो स्वरका धनी मात्र होइन राम्रो कविता कोर्ने पनि गर्थे | 

ज्योति तार्किक क्षमता भएको एक प्रतिभा सम्पन्न व्यक्ति थियो | हामी एक आपसमा आफुले लेखेको, जानेको र कोरेका कविता या अन्य साहित्यका बिबिध बिषयमा छलफल गर्ने गर्थोँ | हामी एक आपसमा कविताका टुक्रालाई जोडेर पूर्णता दिने पनि कोशिस गर्दथ्यौं |

अबश्थामा भारतको दार्जीलिंग, खरसांग, कालिम्पोंग, देहरादुन र सिक्किम तिर बाट शुरु गरेको भाषा आन्दोलन धेरै पछी मात्र नेपाल पसेको थियो | नेपाली भाषा, साहित्य र संगीतको बिकासमा प्रबासी नेपालीहरुबाट उल्लेखनीय भूमिका खेलेको प्रष्ट हुन्छ |

पारसमणि प्रधान, धरणीधर कोइराला, अगम सिंग गिरी, लैनसिंग बांगदेल, ईन्द्र बहादुर राई र अन्य कतिपय नेपाली

भाषाका लागि शुरुमा कलम चलाउने मध्येका हुनुहुन्थ्यो | हामी त्यस समय अम्बर गुरुङका गीतहरु धेरै मन पराउद्थ्यौ | त्यस मध्ये पनि - यति सुन्दर प्रित नलाऊ, दिल झरेर सुकिरहेछ अब फेरी कसम नखाऊ, कसमले नै पुगीरहेछ !

...................................

अर्को -

रात भरि दियो जलाईरहें
निरासाको हुरी चली नै रह्यो
तर मेरो दियो जली नै रह्यो
रात भरी दियो जली नै रह्यो !

...............

त्यस्तै अर्को -
म अम्बर हुँ तिमी धर्ति
लाखौँ चाहे पनि हाम्रो मिलन
कहिले नहोला !

..............................

आदि नै मुख्य थिए |
;नौलाखे तारा उदायो 
 गीत बाट ख्यातिप्राप्त भै सक्नु भएका अम्बर गुरुङका सम्पूर्ण गीतहरुका भाब हामी सबैलाई प्रिय

लाग्दथ्यो | हामी छलफल गर्थ्यौ | अम्बर गुरुङका स्वर र संगीतमा भन्दा शब्द धेरै गहकिलो छ | म प्राय वहाँका शब्द भित्र हराउथे अनि स्वर र सगीतंमा भाब बिभोर बनेर डुबीदिन्थे | कुनै पिकनिक होस् या कुनै जमघट गीत गाउने परे मैले

वहाँका गीत नै गाएको सम्झना छ | भनौ म अम्बर गुरुङको एक नम्बरको फ्यान थिएँ र आज पनि छुं |

तर मैले कल्पना पनि गरेको थिइन् कि म कुनै दिन अम्बर गुरुङ संग यसरि नजिकिन्छु भनेर | किनभने मेरो पेशा या भनौ ब्यबसायको वरिपरिको कुनै पनि कुनोले वहांसंग भेटेर कुनै कार्यक्रम गरिन्छ भनेर कुनै संकेत गरेकै थिएन | तर वहाँका गीतहरु गुन्गुनाउन थालेको ठ्याम्मै अट्ठाइस बर्ष पछी त्यो पनि अमेरिकाको बोस्टन शहरमा वहाँ संग प्रत्यक्ष भेट हुँदा म एकछिन अकमकियको थिएँ | म के भन्ने र के गर्ने अलमल्ल परें | आफ्नो भन्ने या वहाँका सोध्ने | कसरी कुराको शुरुवात गर्ने ! अन्यौल भित्रै मैले हल्का बेफ्वांकको प्रश्न गरेथें " सन्चै हुनुहुन्छ ? यहाँ सम्म आउन गाह्रो त भएन ? 

१९९८ सालको जुन महिनाको शुरु तिर कै कुरा हो | अम्बर गुरुङ अमेरिका आऊदै हुनुहुन्छ भन्ने कुरा वहाँका छोरा सरद

गुरुङ बाट थाहा पाएको | वहाँ आउनुहुँदा एउटा राम्रो सांगीतिक कार्यक्रम गर्ने अबसर किन गुमाउने भनेर हामीले एउटा कार्यक्रम गने निधो गर्यौं | कार्यक्रमको नाम "अम्बर सन्ध्या" राख्ने मेरो सुझाव लाई सबैले स्विकार्नु मात्र होइन न्युयोर्क र वाशिंगटन डिसीमा पनि त्यहि नाम बाट कार्यक्रम गर्ने सबैको निर्णय भयो |

"अम्बर सन्ध्या" कार्यक्रम न्युयोर्कमा ए एन एस यू ले अगष्ट २२ मा, वाशिंगटन डिसीमा अमेरिका नेपाल सोसाइटीले अगष्ट १६ मा र बोस्टनमा अगष्टको ९ तारेखमा जी बि एन सी ले गर्ने निर्णय गर्यो | कार्यक्रम गर्ने तर कसरि स्तरीय र धेरै भन्दा

धेरै नेपाली र नेपाली संगीत प्रति रुची राख्ने श्रोताहरुलाई समेट्ने भनेर बैठक बस्यो | बैठकमा उपश्थित सम्पूर्ण जसो लाई अम्बर गुरुंगका गीतहरु कुन हुन् र कस्तो खालको गीत वहाँ गाउनु हुन्छ भन्ने थाहा नै रहेनछ | वहाँका नेपाली संगीत प्रतिको तपस्या, साधना र लगानी बारे थाहा नहुनु धेरै दुख लाग्यो | 

तर आधुनिक पप र पस्चात्य संगीतले नराम्ररी बेरिएको आजको हाम्रो नेपाली संगीतमा युवा बर्गमा वहाँ बारे केहि थाहा नहुनु त्यति अचम्म चैं लागेन | तर एउटा प्रश्न तेर्सियो | अम्बर गुरुंगको बारे नै प्रष्ट मान्छेहरुलाई थाहा भएन भने कार्यक्रम कसरि सफल गर्ने | 

हामीले कार्यक्रममा वहांको परिचय कार्यक्रम राख्ने निर्णय गर्यौं | परिचय लेख्ने काम सबै मित्रहरुले मलाई जिम्मा दिए | म धन्य भएँ | म सपनामा पनि भेट हुन्छ भनेर नचिताएको सांगीतिक धरोहरको आज प्रबासमा आएर वहाँको परिचय लेख्ने र प्रस्तुत गर्ने जिम्मा आयो | मलाई गौरब लागेर आयो कि कमसेकम म पनि वहांको जिन्दगीको एउटा सम्झनाको सानो हिस्सा बन्ने भएँ भनेर | वहांको सानो चिनारी लेख्न शुरु गरें तर प्रश्नै प्रश्न पहाड बनेर आयो | कहाँ बाट शुरु गर्ने | 

लाग्यो बिसाल पहाड खोतल्न कुन ठाउँबाट शुरु गर्ने | एउटा ऐतिहासिक व्यक्तित्वको परिचय सिर्फ सात मिनेटमा कसरि व्यक्त गर्ने | फुल बुट्टा भर्नु पर्ने आबश्यकता त थिएन तर आधुनिक नेपाली संगीतको आरम्भ देखि उतरार्ध सम्म आईपुगेको व्यक्तिको कसरि र कहाँ बाट परिचय लेख्न शुरु गर्ने म अन्यौल मा परें |

बिदेशमा येठेष्ट सामग्रीको अभाबमा पनि वहांको जीन्दगीका धेर थोर कुराहरुलाई समेटेर सानो जीवनका झाँकीहरु तयार पारें | डर थियो कतै केहि छुट्लाकी, पिर पर्यो कतै कहीं चुकिएलाकि | वहालाई सुनाउन कार्यक्रम हुनु भन्दा एक हप्ता अघि नै वहाँ संग समय मिलाएँ | संकोच मान्दै सुनाउदै गएँ | लेख्ने बानी भए पो शैली मिलेन भन्नु होला कि | 

बर्णन नै पुगेन भन्नु होला कि | त्यो गलत र यो गलत पो भन्नु होला कि आदि कुराहरु मनमा तरंगहरु आउदै गरे पनि संको र भय मिश्रित आवाजमा सुनाउदै गएँ | स्वीकृतिमा सिर हल्लाउदै जानु भो | अन्तमा वहांले भन्नु भो धेरै राम्रो लाग्यो | 

लेखन शैलीको प्रशंसा गर्नु भो | मेरो गर्बले छाती धक्क फुल्यो | खैर जे होस् कार्यक्रम जे जस्तो भए पनि अमेरिकामा बस्ने नेपालीहरुले अम्बर गुरुंगको नाम मात्र होइन वहाँले नेपाली संगीतको लागि गर्नु भएको योगदानको बारेमा थाहा पाउने भए भनेर म ढुक्क भएँ |

अम्बर गुरुंगलाई मैले सुने र बुझे अनुसार अलिक भिन्न प्रकृतिको पाएँ | गीतहरुमा वहाँ जति गम्भीर र गहिरो हुनुहुन्छ प्रत्यक्षमा धेरै सरल, हँसिलो र प्रष्ट हुबुहुदो रहेछ | वहाँ गम्भीर भन्दा ज्यादा हँसिलो, मजकिलो र बढी भन्दा बढी राष्ट्रियता र देशभक्तिको भावनाले ओतप्रोत भएको व्यक्ति पाएँ | वहाँ साठीऔं बसन्त पार गरि सक्दा पनि जोसिलो, दृढ,आत्मविश्वास र वजनदार व्यक्तित्वका धनी हुनुहुदोरहेछ | गायनमा आज पनि उत्तिकै तागत रहेछ | 

वहांको नशा नशामा संगीतको प्रबाह हुन्छ | चम्किलो आँखा, फुर्तिलो जिउ अझ सम्म एक रत्ति थाकेको महसुश गरेको देखिन्न | बिशाल छाती र सुनौलो सपना बोकेर नेपाल पसेको दुखै दुखको भुमरी बाट कहिले उम्कन सक्नु भएन | नेपालमा वहांको सुरुका दिनहरु कसरि राजसी ठाँट बाट ओर्लन लागेको थियो सुन्दा हामीलाई किम्बदन्ती जस्तो लाग्छन | 

राजा महेन्द्रको स्वर्गबास भए पछी वहाँका सम्म्नाहरु र आसे पासेहरु कसरि एकाएक आफ्नो परिबेस बाट अदृश्य भएको थियो | जसरि वहाँ दृढ भएर सुनाउनु हुन्छ त्यो सुन्दा हामीलाई देशको एउटा ठुलो रोग कहिले निको हुन सकेन भनेर ठुलो चिन्ता लाग्छ | त्यस समयको आर्थिक र अनुचित लाभहरु त्यागेर आज जुन स्तर बाट नेपालीको माया पाउनु भएको छ त्यसमा वहाँ धेरै सन्तुष्टि देखिनु हुन्छ | शंकर लामिछाने, भूपी शेरचन र ईन्द्र बहादुर राईको सहयोग, माया र प्रतिभालाई वहाँ जहिले पनि कदर गर्नु हुन्छ |

पुर्ब निर्धारित कार्यक्रम अनुसार अगष्ट ९ मा बोस्टनमा "अम्बर सन्ध्या" कार्यक्रम सम्पन्न भयो | कार्यक्रम अत्यधिक मात्रामा सफल रह्यो | वहाँका गीतहरुले कहीं कहीं कतै न कतै सबैलाई छुन्छ छुन्छ | कतै देशभक्तिको भावनाले ओतप्रोत गीतले छुन्छ त कतै उकाली चढ्दा पसिना पुछ्दा मायालुका हातहरु समाउदाका क्षणहरुले झस्काई झस्काई सम्झाई दिन्छ | 

सन् १९८५ सालमा नेपाल र भारतको पारबहन सन्धि नबिकरण हुन् नसक्दा भारतले नेपालको सिमानाका नाकाहरु बन्द गरेको थियो | त्यसको बिरोधमा बिभिन्न स्तर र तहका नेपालीहरुले एउटा राष्ट्रियताको नारा लाउदै भारत सरकार बिरुद्ध आवाज उठाएका थिए | त्यस बेला अम्बर गुरुंगले ;होसियार भन्ने गीत गाउदै पहाड र तराई तिर हिड्दा सम्पूर्ण नेपालीहरुलाई जुरुक जुरुक उठाउनु भएको थियो | आज पनि वहांको सो गीतले रगत उमाल्न सक्ने असिम ताकत राख्दछ |

यति बेला मलाई वहांको ;नौ लाखे तर उदाए गीतको सम्झना आउछ | देशभक्ति र राष्ट्रियताले ओतप्रोत भएको सो गीतलाई भारत सरकारले प्रसारण गर्न प्रतिबन्ध भारत सरकारले त्यसै त गरेको होइन रहेछ नि भनेर ठम्याउछु | 

कार्यक्रमको मध्यान्तरमा र अन्तमा वहांको सिडी अल्बम किन्ने, अटो लिने अनि फोटो खिचाउनेको भिड देखेर लाग्छ वहाँले बिदेशमा पाएको यस्तो न्यानो मायाले साच्चैं नै वहाँ प्रसन्न त हुनहुन्छ |

कार्यक्रमको अपार सफलताले शायद वहाँले थाहा पाउनु भो होला बिदेशमा बस्ने नेपालीहरु आफ्नो भाषा, साहित्य, कला र संस्कृति जोगाउन कसरि र कतिको उत्सुक छन् भनेर |

नेपाली आधुनिक संगीतको अनवरत सेवा भाब र साधनाको सराहना तथा कदर गर्दै अन्तराष्ट्रिय नेपाली साहित्य समाज लगायत बिभिन्न सामाजिक संघ संस्थाहरुले वहालाई सम्मन प्रदान गरेको थियो \म आज पनि वहांको यी नै गीतहरु गुनगुनाई रहन्छु _

आकाशले तुफानको आडमा मेरो
दियोलाई चुनौती दिई नै रह्यो
तर मेरो दियो जली नै रह्यो
रात भरि दियो जलाई रहे
निरासाको हुरी चली नै रह्यो !!!!

अस्तु !

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com