पहाड फोरेर उदाएको जिन्दगी

दुर्गा कार्की, जेठ २५,

 सत्रवर्षको उमेरदेखि डोजर चलाउन थालेकी मुना अहिले सरकारी सेवामा प्रवेश गरेकी छन्। भन्छिन् ‘सहास र आँट गर्‍यो भने नसक्ने काम केही छैन, तर थाक्नुभएन, छोड्नुभएन।

इटहरीको ट्याङ्ग्रा खोलामा नदी डाइभर्सनका लागि डोजर चलाउँदै थिइन्। पत्तै नपाइ पुलमाथि यातायात जाम भइसकेछ। महिलाले डोजर चलाएको भनेर भएभरका सार्वजनिक यातायाता र ट्रक चलाउने चालक बाटैमा गाडी रोक्दै पुलमा जम्मा भइसकेका रहेछन्। ‘यात्री त झन नआउने कुरै भएन’, डोजर चालक मुना घिमिरे श्रेष्ठले आज भन्दा १६ वर्ष अगाडीको कुरा सम्झेर रोमाञ्चित हुँदै भनिन्।

‘ठयाक्कै पुलको मुनि काम गर्दैं थिएँ। पत्तै नपाइ त्यतिबेला पुर्वपश्चिम राजमार्गमा जाम भएछ । सार्वजनिक र नीजि यातायात चलाउनेदेखि ट्रक चलाउनेसम्मले बाटो मै गाडी रोकेर महिलाले डोजर चलाएको भन्दै हेर्न आए’ मुना सम्झिन्छिन्। त्यो घटनापछि उनलाई त्यहा काम गर्न दिइएन। ठेकेदारले उनलाई त्यहाँबाट फिर्ता पठाइदियो।

 डोजर लिएर गाउँ गाउँमा पुग्दा उनका यस्ता अविष्मरणीय क्षण कति छन् कति। गाउँमा जहाँ काम गर्न जाँदा पनि बुढी आमाहरूले आशिर्वाद दिनुहुन्छ। ‘यस्ता छोरी हुनुपर्छ भनेर।’ यसले आफूलाई झन उत्प्रेरणा थप्ने घिमिरे बताउँछिन्।

उनको जीवनमा रमाइलो मात्रै होइन डर लाग्दा घट्ना पनि भएका छन्। स्मरण गर्छिन् ‘मेलाम्ची खानेपानी आयोजनामा काम गर्ने क्रममा मैले श्रीमानलाई डोजर चलाउन सिकाउन लिएर हिंडेकी थिएँ। त्यतिबेला केराको सुत्लामा चिप्लेर डोजरको अपर स्ट्रक्चर भीरमा खस्यो। भीरको तलपट्टी घर थियो। मेरो सातोपुत्लो उड्यो। अनि दिमाग लगाएँ र डोजरको बकेट ( दाँत) लाई भुुइमा गाडेँ। अनि त्यो घुम्न नसकेर रोकियो र हामी बाँच्यौ।’

‘महिला भनेर त्यो काम गर्न सक्दिनस् भन्ने त कति खेपें’— उनी भन्छिन् ‘एकपटक फर्पिङमा काम गर्न गएकी थिएँ, त्यहा एकजना पुरुष चालक हुनुहुन्थ्यो, मैले मेशिन चलाएको ढिलो भयो भनेर उहाँले मलाई ओरालेर अर्को पुरुषलाई चलाउन दिनुभो। मलाई साह्रै नराम्रो लागेको थियो।’

तैपनि प्रेरणा दिने कुराले यस्ता बाधा अवरोधलाई उनले जित्दै आएकी छन्। त्यसैले त १७ वर्षदेखि मुनाले ‘हेभी इक्वीपमेण्ट’ चलाउने कामलाई निरन्तरता दिइरहेकी छन्।

नौ कक्षा पढ्दापढ्दै उनले पढाइ छाडिन्। कारण थियो आमाको दुःख। ‘नौ कक्षा पढेपछि काम गर्छु भनेर निस्कें। मेरो आमा असाध्य दुःख गर्नुहुन्थ्यो। आमासँग पैसा पनि हुँदैनथ्यो। म काम गरेर आमालाई सुख दिन्छु भनेर पढ्दापढ्दै छोडेर तनहुँबाट कामको खोजीमा हिँडे’ उनले भनिन्

त्यसपछि उनी नेपालगन्ज पुगिन्। एउटा कन्स्ट्रक्सन कम्पनीमा कार्यालय सहयोगीको काम पाइन्। ‘त्यहाँ भएका उपकरणलाई मैले पहिला देखि नै निकै ध्यान दिएर हेर्थें। २०५५ साल तिरको कुरा हो एकदिन कम्पनीका मालिक मान बहादुर लामाले सोध्नुभो डोजर चलाउन सिक्ने हो भनेर। म १७ वर्षकी थिए। भनेंँ ‘पाए त सिक्थें नी।’

त्यतिखेर लामाले केही भनेनन्। २ महिनापछि उनले मुनालाई ‘डोजर चलाउन सिक्छौ भने सिक भने।’ उनले चाहेको निर्देशन पाइहालिन्। त्यसपछि डोजरमा सहयोगीले गर्ने काम डिजेल हाल्ने, क्रिज गर्दै डोजरको स्टेयरिङसम्म पुगिन्। डोजर चलाउने मान्छेले तीन महिना जति चलाएर छोडेको थियो । त्यो उनका लागि सुवर्ण अवशर भयो।

मुना भन्छिन् ‘कुनैपनि गुरु विनै मैले डोजर चलाउन सिकें। कसैले मलाई हात समाएर चलाउन सिकाएनन्। त्यो मेशिनले गर्ने काम र त्यसलाई नियन्त्रण कसरी गर्ने भन्ने थाहा पाउने त हो नी! दिमाग लगायो भने सकिहालिन्छ।’

 स्टेयरिङ समाएको २ महिनापछि उनले निर्माण सामग्री डोजरमा लोड गरिन्। त्यसपछि त ठेकेदारले पनि पत्याए र भोलीपल्टदेखि नै उनले जिम्मेवारी पाइहालिन्। भनिन् ‘त्यो दिनदेखि मैले यो काम छोडेकी छैन। छोडेको भए यहासम्म आइपुग्ने थिइनँ।’

कोमासो १२० बाट सुरु भएको उनको डोजर चलाउने यात्रा लगभग २२ सय टनको २५० होण्डाइमा आइपुगेको छ।

उनले ठुल–ठुला आयोजनामा काम गर्ने मौका पाएकी छन्। सिन्धुली वर्दीवास सडक परियोजना, मेलाम्ची खानेपानी आयोजना, हिमाल र सानिमा हाइड्रोमा उनले काम गरेकी छन् । आफ्नो यही निरन्तरता र लगनशीलताले आफूलाई सरकारी सेवामा गएर काम गर्ने अवसर मिलेको उनले ठान्छिन्।

०७२ फागुन महिनाको चार गतेदेखि उनले नेपाल सरकारको नियुक्तिमा काम सुरु गरेकी छन्। यसअघि पाँच वर्ष करारमा काम गरेकी थिइन्। आमा कै कारण यस्तो साहसिक पेसासँग जोडिएकी उनले सरकारी पोशाक लगाएको आमालाई देखाउन पाइनन्। उनले यो पोशाक लगाउनु दुई महिनाअघि उनकी आमाको निधन भयो। यसमा उनी साह्रै दुःखी छन्।

‘सहास र आँट गर्‍यो भने नसक्ने काम केही छैन, तर थाक्नुभएन छोड्नुभएन। यसमा परिवारको सहयोग र साथ चाहिन्छ’ उनी भन्छिन्।

अहिले उनकी छोरी काठमाडौंमा छन्। श्रीमान चाहीँ गोर्खा र उनी पोखरा।

श्रीमान कै कारण आफू यहाँसम्म आउन सकेको मुना बताउँछिन्। भन्छिन् ‘अहिलेपनि अप्ठयारो ठाउँमा र धेरै काम भयो भने उहाँ मलाई सहयोग गर्न आउनुहुन्छ’। मैले नै डोजर चलाउन श्रीमानलाइ सिकाएँ। ‘गोरखाको जरेवरमा श्रीमानलाई डोजर सिकाउन लिएर गएँ। टण्टलापुर गर्मी थियो। एउटै पहरालाई दिनभरी फुटाउँदा पनि फुट्दैन। त्यो बेला उहाँले भन्नुभएको थियो ‘मैले कैले सिकेर तिमीलाई पालो दिने होला ‘ श्रीमानको भनाइ उनले स्मरण गरिन्। भनिन् ‘मेरो यहि दुःख देखेर दुई महिनामै उहाँले सिकिहाल्नुभो।
श्रीमान सुरेशसँग मुना
व्यवसायिक रुपमा उनले डोजर त चलाइन्, तर चालक अनुमतिपत्र लिन भने उनलाई निकै पापड बेल्नुपर्‍यो। एकैपटक डोजरको स्टेयरिङ समाएकी उनले सानो गाडी नचलाई लाइसेन्स नपाउने भइन्। २०५५ सालदेखि डोजर चलाउन थालेकी उनले ०६२ सालमामात्रै लाइसेन्स पाइन्। पहिला सानो गाडी चलाउ भने। ‘मलाई सानो गाडी चलाउन आउँदैथ्यो। त्यसैले सानो गाडी चलाउन सिकेर ट्रायल पास गरेँ र त्यसको २ वर्षपछिमात्रै डोजरको लाइसेन्स पाएँ।’

अहिले उनले आफ्नो पेसासँगै पढाइलाई पनि निरन्तरता दिएकी छन्। अहिले उनी १० जोड दुई पढ्दै छन्। उनले २०६९ सालमा एसएलसी दिएकी हुन् । उनका श्रीमान सुरेश श्रेष्ठ दुबैको पेसा एउटै हुँदा काममा सजिलो हुने बताउँछन्। श्रीमतीलाई गुरु मान्ने उनले बिहेपछि पेसा परिवर्तन गरेका हुन्। भन्छन् ‘पहिला अर्कै पेसा थियो, श्रीमती यो पेसामा भएपछि काम गर्न सजिलो हुन्छ भनेर यस मै आएँ।’_स्रोत-महिला खबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com