गर्मीमा घरेलु फेसप्याक

काठमाण्डौ आषाढ १७,

गर्मी याममा ब्युटिपार्लर जाडो यामको तुलनामा बढी धाउनुपर्छ । गर्मीमा चर्को घामका कारण छाला डढ्छ । जसले गर्दा छालाका थुप्रै समस्या महिलाले भोग्नुपर्छ । डढेको छाला थकित र कान्तिहीन देखिन्छ । त्यसैले पार्लर जानैपर्ने बाध्यता आइलाग्छ । पार्लरमा फेसियल, स्क्रब र क्रिममा जति खर्च गरे पनि चाहेजस्तो परिणाम पाउन सकिँदैन । तर, घामले छालामा ल्याउने कालोपनालाई हटाउने तरिका हाम्रो भान्सामै लुकेका छन् । स्वास्थ्य खबरले केही तरिकालाई यहाँ प्रस्तुत गरेको छ ।

 कागतीको रस, काँक्रो र गुलाबजल
यी तीन चिजलाई एउटा कचौरामा समान मात्रामा लिई मिसाउने । दुई मिनेटसम्म यत्तिकै राख्ने । एउटा कपासको टुक्राको मद्दतले अनुहार, हातखुट्टा र कालोपना भएको ठाउँमा दल्ने । काँक्रोको रस र गुलाबजलले डढेको छालालाई शीतलता प्रदान गर्छन् । कागतीको रसले ब्लिचिङ एजेन्टको काम गरी छालाको कालोपनालाई हटाउँछ । त्यस्तै, मह र कागतीको रसको प्रयोग पनि गर्न सकिन्छ । आधा कागतीको रसमा एक चम्चा मह मिसाउने र छालामा लगाएर २० मिनेटसम्म राख्ने । दिनहुँ यसो गर्दा छिटै राम्रो परिणाम पाउन सकिन्छ ।
  
 गोलभेँडा, दही र कागतीको रस
डन्डीफोरका कारण अनुहारमा आउने काला धब्बा कम गर्न गोलभेँडा, दही र कागतीले मद्दत गर्छ । एउटा कचौरामा दुइटा गोलभेँडा, एक चम्चा दही र कागतीको रसलाई मिसाउने । घामले डढेको छालामा लगाउने र ३० मिनेटसम्म राख्ने । पछि चिसो पानीले पखाल्ने । यस मिश्रणमा गोलभेँडा भएकाले अलिकति चिलाउन पनि सक्छ । तर, चिन्ता लिनुपर्दैन । प्याकलाई काम गर्न दिनुपर्छ । । स्वास्थ्य खबर ।

 दूध र मेवा
मुछेको मेवा र दूधलाई मिसाएर बाक्लो पेस्ट बनाउने र छालामा लगाउने । सुकेपछि चिसो पानीले धुने । घामले डढेको भागमा मेवाका बोक्रा पनि रगड्न सक्नुहुन्छ । यसबाहेक दूध पाउडरको प्रयोग पनि गर्न सकिन्छ । एक कचौरामा दुई चम्चा दूध पाउडर, एक चम्चा मह र बदाम तेलका केही थोपा हालेर फेसप्याक तयार पार्ने । यसलाई कालोपना भएको भागमा लगाउने । २० मिनेट राखेपछि पखाल्ने । संवेदनशील छालाका लागि यो फाइदाजनक हुन्छ । । स्वास्थ्य खबर ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com