युवतीलाई विवाह गर्दै मुम्बई लागि बिक्री गर्ने युवक पक्राउ

 कोहलपुर जेठ २०,

गाउँ र विकट जिल्लाका अविवाहित युवतीहरुसँग विवाह गरेको कागजात बनाउँदै भारतको बम्बईमा बिक्री गर्न सक्रिय एक युवालाई कोहलपुर प्रहरीले पक्राउ गरेको छ ।

रुकुमकी एक २२ बर्षीया युवतीसँग नक्कली प्रेमपछि विवाहको कागजात बनाएर बम्बईमा बिक्रीका लागि लग्दै गरेको अवस्थामा प्रहरीले अर्घाखाँचीका २६ बर्षीय मधु श्रेष्ठलाई पक्राउ गरेको छ ।

प्रहरीले जेठ १५ गते कोहलपुर बसपार्कबाट श्रेष्ठलाई युवतीलाई नेपालगन्ज रुपैडिहा नाका हुँदै बम्बई लैजाँदै गर्दा पक्राउ गरेको हो । ती युवतीलाई विवाहको कागजात बनाउन भुमिका खेलेका, बम्बईमा बिक्रीको सम्पर्क मिलाउने, रुपैडिहा र बम्बईसम्म पुर्याउनमा सहयोग गर्ने अन्य चार जना भने फरार रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुरेन्द्र काफ्लेले बताए । श्रेष्ठले यसअघि विवाहको कागजात बनाएर दुई युवतीलाई बम्बईमा पुर्याएको प्रारम्भिक अनुसन्धानमा खुलेको उनले भने । ती युवतीलाई कोहलपुर हुँदै नेपालगन्जसम्म पुर्याउन श्रेष्ठ कोहलपुरमा आएका थिए ।

नेपालगन्जबाट रुपैडिहाबजारसम्म पुर्याउने जिम्मा पाएकी नेपालगन्ज मनसरी राना, रुपैडिहाबाट बम्बईसम्म पुर्याउने दाङ् घोराही घर अहिले भारत कानपुर बस्ने सुरेन्द्र चौधरी, रुकुममा विवाह गरिदिने प्रकृति विक र बिक्रीका लागि बम्बईमा ठाउँ र रकम मिलाउने भत्तपुरका सरोज विष्ट फरार छन् । उनीहरुको खोजीकार्य जारी रहेको डिएसपी काफ्लेले जानकारी दिए । भाडाको विवाह गरेर युवती बम्बईमा पुर्याएर बिक्री गर्ने श्रेष्ठलाई मानव बेचविखन तथा ओसारप्रसार मुद्धा चलाइएको छ । अदालतबाट म्याद थप गरि थप अनुसन्धान भैईरहेको प्रहरीले जनायो । प्रहरीका अनुसार रुकुममा ती युवतीसँग विवाह गरि विवाहका कागजात तयार पारिएको थियो ।

नेपालगन्ज बजारबाट रुपैडिहासम्म स्थानीय मनसराले साथी भन्दै किनमेल बहानामा पुर्याउने तयारी थियो । प्रहरीको अनुसन्धानमा श्रेष्ठ समूहले यसअघि विवाह गर्दै कागजात बनाएर दुई युवती बम्बई पुर्याईसकेका छन् ।
 _स्रोत-नागरिक;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com