१३ बर्षदेखि मकै पोलेर चलेको गुजारा...

बुटवल जेठ ३०,

भगवती पाण्डे : हरेक दिन बिहान ९ बजे नै खाना खाएर बिनीसरा बुटवलको व्यस्त रहने ट्राफिकचोकको यहि सडकपेटीमा आईपुग्छिन्। किसानका खेतमै पुगी अघिल्लो दिन किनेर ल्याएका दुई बोरा मकै भोलिपल्ट पोलेर बेच्छिन्।  उनले यसैगरी मकै पोल्न थालेको १३ वर्ष भएछ। २०६० सालमा ३ वर्षे काखे छोरी च्यापेर बुटवल झरेकी उनले यही सडकमा मकै पोलेर १३ वर्ष बिताइन्। 

एक छेउमा पोस्कर सहितका हरियो काँचो मकैले भरिएको बोरा सुताईएको छ। अर्कोपट्टि कोईला राखेको क्यारेटमाथि नाङ्लोमा पोलेका आधा दर्जन मकैले ग्राहक कुर्दै छन्। कराईमा रहेको कोईलामा दुई वटा मकै पोलिँदै छ। 

जेठ महिनामा बुटवलको ४२ डिग्री तापक्रमको गर्मी। खुला आकाशमुनि घामको तापसँगै दिनभरी आगोमा मकै पोलेर साँझ बिहानको गुजारा टार्नु ६३ वर्षीया बिनीसरा पाण्डेको दिनचर्या हो।

हरेक दिन बिहान ९ बजे नै खाना खाएर बिनीसरा बुटवलको व्यस्त रहने ट्राफिकचोकको यहि सडकपेटीमा आईपुग्छिन्। किसानका खेतमै पुगी अघिल्लो दिन किनेर ल्याएका दुई बोरा मकै भोलिपल्ट पोलेर बेच्छिन्।  

बिनीसरा सिता श्रेष्ठसँग मिलेर मकै पोल्ने गर्छिन्। मकै लिन किसानहरुका खेतमा एक दिन बिनीसरा जान्छिन् भने अर्को दिन सिता। खेतमा मकै लिन जाने पालो नपरेका दिन यही सडकमा मकै पोलेर बस्नुपर्छ। दिनभरी मकै पोलेर बेचेको पैसा साँझ परेपछि दुबै जनाले बराबर बाँड्छन्।

किसानबाट ल्याउँदा नै मकैको घोँगा गनेर ल्याएको हुँदा एकले अर्काेलाई ढाँट्न पाउँदैनन् । व्यस्त बजारसँगै बस स्टेशन र चौतारी भएकोले मकै बेच्न हिँड्नु पर्दैन। मकै खान चाहनेहरु मकै पोल्ने ठाउँमै पुगेर किन्छन् त्यसैले एक्लैले पोल्न र बेच्न गाह्रो छैन।

दायाँ हातमा रहेको बाँसले बुनिएको पातोले कोइलामा हावा दिँदै मकै पोल्दै गरेको अवस्थामा बिनीसरा भेटिइन्। सिता मकै लिन नवलपरासी गएकी थिइन्। बिहानको दश नबज्दै बिनीसराले दुई सय रुपैयाँका मकै बेचिसकेकी थिइन्। 

उनले यसैगरी मकै पोल्न थालेको १३ वर्ष भएछ। २०६० सालमा ३ वर्षे काखे छोरी च्यापेर बुटवल झरेकी उनले यही सडकमा मकै पोलेर १३ वर्ष बिताइन् । छोरी पनि अहिले १५ वर्षकी पुगिन्, बुटवलकै एउटा विद्यालयमा कक्षा ९ मा पढ्दै छिन्।

२०२२ सालमा दश वर्षको कलिलो उमेरमै स्याङजाको गल्याङमा विवाह भएकी बिनीसराको जीवन सुखी थियो।  बाबुआमाले सानैमा विवाह गरिदिएर लेखपढ गर्न नपाएपनि श्रीमानले भारतीय सेनामा जागिर खाएका थिए।

श्रीमानले भारतीय सेनाबाट पैसा कमाएर ल्याउँथे। उनले पाखो बारीमा अन्न फलाउँथिन्। गोठमा पालेका भैंसीको दुध घिउ बेच्थिन्। श्रीमान लाहुरे भए पनि घर खर्च उनी आफैले जुटाउँथिन्।
२१ वर्षमा जेठो छोरा जन्माएकी बिनीसराका चार छोरा र तीन छोरी छन्। नातिनातिना मात्र १४ जना छन्। तर बुढेशकालमा स्याहार गर्ने बेलामा भने उनका कोही भएनन्। 

२०५९ सालमा श्रीमानको मृत्यु भएपछि उनका दुःखका दिन सुरु भए। श्रीमानले बिनीसराको नाममा बनाएको पेन्सन पनि आमा अन्यत्र गएको झुटो विवरण पेश गरेर जेठो छोराले भाईको नाममा बनाउन खोजेका रहेछन्। पछि उनले थाहा पाएर उजुरी गरिन्। आमाछोराको किचलो भएपछि भारत सरकारले कसैलाई पनि पेन्सन दिएन। 

सानैदेखि घरधन्दामा समय बिताएकी बिनीसराले बुटवल आएपछि के काम गर्ने सोँचेकी पनि थिईनन्। उनी भन्छिन् ‘घरबाट हिँड्दा पटुकीमा तीन सय भारु लिएर आएकी थिएँ, एक सय त भाडा र बिहानको खाना खाँदा सकिएछ।’ 

‘समस्यासँगै समाधानको बाटो पनि सँगै आउँछ भनेजस्तै त्यही दुई सय भारुबाटै मकै पोल्न सुरु गर्ने सोच आएछ।  ‘१३ वर्ष पहिले अहिलेजस्तो महँगी पनि थिएन दुईसय भारुले नाङ्लो, कराई, चिम्टा, पंखा, कोईला र एकसय घोँगा मकै किनेँ र यहि ठाउँमा पोल्न बसेँ’ उनले व्यवसाय आरम्भ गर्दाका क्षण सम्झिइन् ‘पहिलो दिन राम्रै भयो, बस स्टेशनकै आसपासमा भएकोले पोलेका मकै सबै विक्री भए, साँझ पैसा गन्दा पाँच सय नाफा भएको रहेछ, त्यो दिन साह्रै खुसी लाग्योे।’

कमाई राम्रै हुन थालेपछि उनले यही कामलाई निरन्तरता दिँदै आएकी छन्। ‘दिनमा ७ सय देखि १ हजारसम्म नाफा हुन्छ तर कुनै दिन बिरामी हुँदा एकै पटक जोगाएको रकम पनि सबै खर्चिनुपर्छ’ उनले दुखेसो पोखिन्। 

अहिले उनलाई छोराछोरी आफन्तसँगको सबै सम्बन्ध भ्रम जस्तो लाग्छ। ‘आफू बलियो हुँदासम्म हो सबै आफ्ना हुने, कहिलेकाँही चौतारीमा बसेर छोराछोरीहरुका गफ हाँक्ने बाबुआमा देख्दा उनीहरुको एकोहोरो मायाप्रति दया लागेर आउँछ’ उनले भनिन्। 

उनले आफ्ना लागि कुनै उद्देश्य साँचेकी छैनन् अब। साथमै रहेकी कान्छी छोरीलाई अझै केही वर्ष पढाएर विवाह गरिदिने उनको उद्देश्य छ। 
कुरा गर्दा गर्दै बिनीसराले कराईमा कोईला निभेको पनि पत्तो पाइनछन्। खरानी पर्नै थालेका कराईका कोइलामा नयाँ कोइला थपेर पातोको सहाराले पुनः सल्काउन थालिन्। वार्तालापपछि उनले आफ्नो कामलाई पुनः निरन्तरता दिइन्। _स्रोत-सेतो पाटी;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com