आज तुलसी विजारोपण

काठमाण्डौ आषाढ २,

बाबुराम भण्डारी : आज जेष्ठ शुक्ल एकादशी अर्थात निर्जला एकादशी - भगवान् विष्णुको प्रतिरुप मानिएको वनस्पति तुलसीको बिउ रोपेर मनाइदैछ । घरको दब्रेपटि बनाएको मठमा तुलसीको विज अर्थात बिउलाई रोपिन्छ । बिहान तुलसी विजारोपण गरी भगवान् विष्णुको पूजा गरी दिनभर निराहार व्रत बस्ने गरिन्छ । यसरी व्रत बस्दा मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । हिन्दु धार्मिक ग्रन्थहरुमा उल्लेख भएअनुसार पत्नी वृन्दाको सत्यमार्गका कारण जालंधरले देवताका विरुद्ध झनझन आफ्नो प्रभाव बढाउँदै लगेका थिए । 

भगवान् रामले समेत जालंधरलाई पत्नीको सतित्वका कारण युद्धमा पराजित गर्न सकेका थिएनन् । त्यहिबेला विष्णुले वृन्दाको सतित्वलाई संकटमा पारेरमात्रै जालंधरलाई पराजित गर्न सकिने कुरा विमर्श गरे । सोहि बमोजिम जालंधर रुप धारण गरी वृन्दाको सतित्व हरण गरे । सो कुरा वृन्दाले थाहा पाएपछि भगवान् विष्णुलाई तुलसी जस्तो झार वनष्पति हुनुपरोस् भनि श्राप दिइन् । सोहि श्रापको मोक्षस्वरुप विष्णुले तुलसीको रुप धारण गरे । यहि धार्मिक किंवदन्तिअनुसार साक्षात विष्णुको रुपमा तुलसीको विउलाई असार शुक्ल एकादशीका दिन घरघरमा स्थापित गर्ने परम्पराको थालनी भएको विश्वास छ । घर आँगनमा तुलसीको बोट हुँदा देवताको बास हुने विश्वास छ । तुलसीको बोट नभएको घरमा यमराजका दुतहरु सहजै पुग्ने भएकोले विष्णुधारी तुलसीको बिरुवालाई घर अगाडि मठ बनाएर रोप्ने गरिन्छ ।

आजकै दिन भगवान् विष्णु क्षीरसागरमा शयन गर्नु भएकोले हरिशयनी एकादशी भनिएको छ । हिन्दू धर्मावलम्बीहरुले महत्वपूर्ण पर्वका रुपमा हरिशयनी एकादशी मनाउँदछन् । यस एकादशीलाई 'देवशयनी' र 'पद्मनाभा' एकादशी पनि भन्ने गरिन्छ । पुराणमा उल्लेख भएअनुसार आजकै दिनदेखि भगवान् विष्णु चार महिनासम्म पाताल लोकमा रहेको बलिको ढोकामा निवास गरी कार्तिक शुक्ल एकादशीका दिन फर्कनु भएको थियो । यस अवसरमा श्रीहरि विष्णुको पूजा आराधना र उपासना व्रत गर्नेलाई भगवान् विष्णुले प्रिय भक्तका रुपमा स्विकार गर्नु हुने एकादशी व्रतकथामा उल्लेख गरिएको छ । आज ब्राह्मणलाई भोजन गराई दान दक्षिणा दिंदा पुण्यफल प्राप्त हुने धार्मिक विश्वास छ । यसोगर्दा पूर्वजन्मका पाप नष्ट भई मोक्ष प्राप्त हुने विश्वास छ । आज फर्पिङस्थित शेषनारायण मन्दिर र बूढानिलकण्ठ सहित देशभरका विष्णु मन्दिरहरुमा भक्तजनको घुँइचो लाग्दछ ।

वैदिक दृष्टिकोणमा हरिशयनी एकादशीको ठूलो महत्व रहेको छ । तुलसीको पूजा हुने भएकोले हिन्दूहरुकै महत्वपूर्ण पर्वका हरिशयनी एकादशी स्विकार्य बनेको छ । विधिपुर्वक मठमा तुलसीको बिउ रोप्दा जोकसैको वंशले तीनै लोकमा सुख शान्ति प्राप्त गर्ने धार्मिक विश्वास रहेको छ ।'तुलसी' शब्दलाई संस्कृत दर्शनमा गहिरो अर्थमा शाब्दिक व्याख्या गरिएको छ । तुलसी भन्नाले ज्ञान, वैराग्य र भक्तिको अजस्र केन्द्रबिन्दु हो । यसले मानव जीवनमा प्राप्त हुने विज्ञानलाई समर्पण भावमा परिणत गराउँदछ । ब्रहृमवैवर्तन पुराणमा वृन्दा, वृन्दावनी, विश्वपूजिता, विश्वपावनी, पुष्पसारा, नन्दिनी, तुलसी र कृष्णजीवनी गरी आठवटा नाम दिइएको छ ।

तुलसी चिकित्सकीय दृष्टिकोणमा पनि फलदायी वनष्पति हो । तुलसीले धेरै रोग निको पार्न मद्दत गर्ने भएकोले यसलाई आयुर्वेदमा महाऔषधी भनिएको छ । यसका पात, हाँगा, फूल, जरा, बीउ आदि समान महत्वका छन् । पुर्वीय चिकित्सा पद्दतिमा तुलसीलाई रुघाखोकी र टाउको दुखेको निको पार्न सवैभन्दा धेरै प्रयोग गरिन्छ । तुलसीको सेवनले अजीर्ण, अरुचि र उदरशूल हटाउँदछ । यसले मानिसको मुटु र मृगौलामा प्रत्यक्षा फाइदा पुर्याउने आयुर्वेद चिकित्सकहरुको तर्क छ । वैज्ञानिकहरुले तुलसीलाई वनष्पतिको Lamiaceae परिवारमा वर्गिकरण गरेकाछन् । तुलसीमा क्यान्सरसँग लड्ने क्षमता रहेको खोज अनुसन्धानबाट पत्ता लागेको छ .

तुलसीले अत्याधिक मात्रामा अक्सिजनको प्रवाह गर्दछ । तुलसीको वरिपरि कुनै पनि विषाक्त कीटाणु बाँच्न नसक्ने भएकोले ४०० मिटर वरपरको वातावरण स्वच्छ हुने विश्वास गरिएको छ । मृत्युशैयामा पुगेको मानिसलाई तुलसीको मोठ नजिकै राख्नाले उसलाई शुद्ध अक्सिजन प्राप्त हुने र रोग निको हुने विश्वास रहेको छ । त्यसैगरी प्राण त्याग्नुअघि तुलसीको बोट नजिकै राख्ने एवं तुलसीको पात मिसाएर पानी खुवाउँदा मृत्यू भइसकेपछि मोक्ष प्राप्त हुने विश्वास छ । तुलसीको पातको नियमित सेवनले दीर्घरोगीहरुलाई धेरै फाइदा पुग्ने वैज्ञानिकहरूले समेत पुष्टि गरेकाछन् । तुलसीलाई विश्वको अधिकांश देशमा औषधीका रुपमा सेवन गरिन्छ । पूर्वी एशिया क्षेत्रमा मिष्ठान पकवानलाई सुगन्धित बनाउन तुलसीलाई मसलाका रुपमा पनि प्रयोग गरिन्छ ।_स्रोत-हाम्रो पात्रो;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com