मगर्नी हुनु मेरो दोष हो ? (मैले भोगेका विभेद)

 छोरी, के थरी ?’

‘म घर्ती मगर ।’

‘ए… मगर पो ?’

‘किन र मामु ?’

‘मैले त अरु नै जात सोचेकी थिएँ । मगर भएनि राम्री रहिछ्यौ ।’

साँझको खाना खाने समय भयो । असजिलो हुँदै मामुले भन्नुभयो– ‘छोरी अँगेना र भित्र-बाहिर गर्दा भर्‍याङबाट ओर्लिएर जाने बाटो एकै पर्योभ, त्यसो हुनाले अप्ठेरो नमानी अल्लि यता बस ल !’ मलाई भर्‍याङ छेउको चकटी देखाउनुभयो ।

केही नबोली बसें । बसेको ठाउँ पछाडिबाट छिप्पेका बोकाहरु गन्ध छोडिरहेका थिए ।

हामी पाहुनाहरुलाई भनि निकै मेहनतका साथ मरमसला हाली पकाइएको मासुको बास्नाभन्दा पनि बोकाको गन्ध बढी । खाने समयमा बोकाहरु बड्किम्ला (बोकाको दिशा) झार्थे बररर । थालमा पर्ला कि भन्ने डर ।

ठाउँ साटेर बसौं कि झैं लाग्यो । आफू सँगै आएकी साथीलाई चुल्होको छेउमा बसालियो ।

सोचें- अगेना छेउ ठाउँ हुँदाहुँदै किन मलाई यी बोकाहरुसँग राखेको होला ?

मनमनै सम्झें- ‘यिनका घरका यिनै राजा । मलाई केको कस्कस् ? म त आज्ञाको पालना गर्ने पाहुना न परें ।’

सँगैको साथी र मलाई गरिएको व्यवहारले सोचमग्न भएँ ।

सुर्खेतदेखि भक्तपुरसम्मको यात्राको थकानले छोड्यो बरु तर त्यो विभेदले चिन्ताले छाडेन । मस्तिष्कभरि किन यस्तो विभेद गरिएको भन्ने सोचें ।

के म मगर र साथी कँडेल (बाहुन) भएकोले नै यस्तो भेदभाव गरिएको होला ?

यो अनुभव झण्डै ६ वर्ष पहिलको हो । साथीले काठमाडौं जाँदा ‘मेरो घरमा बसे हुन्छ’ भनेको थियो ।

२०६५ साल भदौ महिनामा रेडियोको तालिम परेर ५ दिनका लागि एक जना साथी र म काठमाडौं गएको समयमा उसको घर गयौं । त्यतिबेला ऊ अमेरिका थियो ।

चार दिनको बसाइमा संयोगले कृष्णजन्माष्टमी पनि त्यही मनाउनु पर्‍यो । पूजा गर्न चाँगुनारायण मन्दिर गयौं । पूजाको थाली र सामग्री मैले समात्दा छोइन्छ भनेर मामुले साथी र भाउजूलाई सामग्री समात्न लगाई मलाई आफूसँगै हिंडाउनुभएको थियो ।

बुझ्दै जाँदा साथीको मामुले मात्र होइन रहेछ, भक्तपुरको पिखेल गाविसका प्रायःले जातीय छुवाछूतलाई परम्परा नै मान्दा रहेछन् ।

परम्पराको विपरीत गए घरलाई, घरलाई नभए आफन्तलाई अनि इष्टमित्रलाई र तिनलाई पनि नभए छिमेकीलाई “छेद” लाग्छ भन्ने मान्यता रहेछ ।

दुर्भाग्यवश, म पनि त्यही मान्यताले गाडेको जरामुनि गाडिन पुगेछु ।

२०७० साल श्रावण महिनामा एक जना साथीको घर इलाम गएकी थिएँ । छिट्टै घुलमिल हुने, व्यवहारिक र बोल्ने स्वभावको कारण बिरानो ठाउँमा पनि चिनेजानेझैं गरी सबैसँग घनिष्ठता कायम गर्न सक्ने बानी भएकाले त्यति अप्ठेरो भोग्नु पर्दैन मलाई । त्यहाँ पनि सबैको मन जितें । घरको रुद्री पूजामा आउने-जाने सबैको माया पाएँ ।

हामी पश्चिमेलीहरुमा पूर्वेलीहरुप्रति अनेक सोच र भ्रमहरु हुन्छन् । सायद हामीप्रति पूर्वेलीहरुका पनि हुँदा हुन् । तर मैले सोचेभन्दा सहज र सरल पाएँ त्यो परिवार र समाज । खुसी भएँ मनमनै ।

नेपालगञ्ज फर्कंदै गर्दा साथीले उसको परिवारको मप्रतिको धारणा यसरी सुनायो– “तिम्लाई थाहा छ रुपी ? तिम्रो सबैसँग मिजासिलो भएर बोल्ने बानी र सहयोगी व्यवहार देखेर आमाले मलाई माथि कोठामा बोलाई केटी चाहिँ हामीलाई मन पर्‍यो । यत्तिको गुण र खुबी भएकी केटीले परिवारलाई खुशी राख्न सक्छे । बरु के थरी हो ? भनी सोध्नुभाको थियो । मैले ‘मगर’ भनेपछि ‘लु भयो नि त कुरै सकियो नि’ भनी उहाँहरु त उठेर हिंडिदिनुभो ।”

उसको कुराले २०६५ को भक्तपुरको घटना सम्झें । मलाई ती आमाले बुहारी बनाए हुन्थ्यो भन्ने चाहना एक रत्ति पनि थिएन । न त म त्यो समाजको बुहारी बन्नेवाली थिएँ ।

मेरो चाहना भनूँ या अपेक्षा केवल यत्तिमात्र थियो कि, म पूर्व जस्तो विकसित ठाउँमा जाँदा आफ्नो पहिचान गर्वका साथ ‘मगर’ भनेर चिनाउँदा कुनै पनि किसिमको छुवाछूत व्यहोर्नु पर्दैन या नपरोस् ।

बुबा वरिष्ठ अधिवक्ता, आमा सरकारी शिक्षिका । त्यस्तो परिवारमा त म जस्तो व्यक्तिलाई जातीय विभेदको कारण यत्रो अपमान हुन्छ भने अरुलाई झन् कुन रुपमा हुन्छ होला ?

आखिर कहिलेसम्म मान्छेले मान्छेलाई जात, धर्म, रीतिरिवाज, संस्कृति, वंश, समुदाय र पेशाका नाममा सार्वजनिक र निजी स्थानहरुमा यस्ता जातीय छुवाछूतको आडमा विभेद गरिरहने ? कहिलेसम्म मान्छे मान्छेको बसाइलाई घर र गोठको जस्तो बनाएर बीचमा जातीय छुवाछूतको पर्खाल लगाइरहने हो ?

पत्रकारिताको दौरानमा क्षमता विकास, रिपोर्टिङ या व्यक्तिगत घुमघामको सिलसिलामा नेपालको धेरै ठाउँ पुग्ने अवसर मिल्यो । जातीय छुवाछूतका कारण विभेदीकरणको शिकार बन्न बाध्य भएर शारीरीक तथा मानसिक रुपमा पीडित भएका घटनाहरु देखें र सुनें पनि । तर आफू नै छुवाछुतको शिकार बन्नु पर्योक भने मात्र वास्तविक अनुभूति हुँदो रहेछ । अनि मात्र थाहा हुन्छ, पीडाको गहिराइ ।

नेपाली समाजमा झट्ट हेर्दा दलित र गैरदलितको बीचमा मात्र जातीय भेदभाव देखिन्छ । समाजलाई केलाएर हेर्ने हो भने हरेक जातिभित्र भेदभाव छ ।

बाहुनमा पनि विभिन्न तहहरु छन् । क्षेत्रीमा पनि को असली क्षेत्री (काजी) हो भन्ने विवादहरु भइरहेका हुन्छन् ।

जनजातिहरुमा पनि सानो र ठुलो जात छ । सबैभन्दा बढी त दलित समुदायभित्रै जातहरुको तह छ ।

यसले के देखाउँछ भने हाम्रो समाजमा जातीय रुपमा विभिन्न पर्खालहरु छन् । जसलाई संस्कार, दम्भ, घमण्ड र संकोचले जोगाइराखेको छ ।

परम्पराले जोगाइराखेको जातीय दूरी क्रमशः घटिरहेको छ । सरकारी र गैरसरकारी पहलहरु भइरहेका पनि छन् । तर सम्पन्न, ठुला जात र शिक्षित भनाउँदाहरुको सोचमा परिवर्तन नभएसम्म हामी जस्ताले पीडा भोगिरहनुपर्छ ।

झन् पानी नचल्ने भनिएका समुदायका व्यक्तिहरुको के हालत होला ?

जहाँ निरक्षरहरु छन्, जहाँ गरिबी छ, जहाँ सभ्यताको चेतना छैन, तिनीहरुलाई जातीय विभेदको सवाल फिक्का हुनसक्छ । हाम्रो छुवाछूतविरुद्धको अभियान गाउँघरहरुमा अनि हिमाल-पहाडका पाखापखेरा र कुनाकन्दराहरुमा छुवाछूत भनेको विभेद हो भनिरहेको छ । र, उनीहरुलाई नै सम्झाउँदै हिंडिरहेका छौं, जो परम्पराको नाममा जातीय विभेद कायम राख्नुपर्छ भन्ने तहको चेतनामा छन् ।

शहरका ठूलाठूला महलहरुमा बस्ने, सम्पन्नशाली र विलासी जीवन बिताउने, शिक्षित र नीतिनिर्माणको तहमा रहेकाहरुको घैंटोमा घाम लाउने खालको अभियान त सुरु गरिएकै छैन । सरकारले जातीय भेदभाव तथा छुवाछूत (कसुर तथा सजाय ऐन, २०६८) पनि ल्याएको छ । तर, यसको कार्यान्वयन पक्ष निकै फितलो छ ।

पीडितहरुलाई लाग्छ, सबैभन्दा पीडित म छु । तर आफूले अरु जातिहरुलाई पीडा दिने काममा सहयोग गरिरहेको छु कि छैन भन्नेतर्फ पनि सोच्न जरुरी छ । जसलाई पीडाको अनुभूति छ, वास्तवमा ती व्यक्ति र समुदाय जाग्ने बेला हो यो ।

छुवाछूतलाई अन्त्य गर्ने अभियान सबै ठाउँमा आवश्यक होला तर त्यहाँ अझ जरुरी छ जहाँ निरक्षर हैन साक्षरहरुको बाहुल्यता छ, जहाँ गरिबका झुपडी हैन सम्पन्न र विलासी जीवन बिताउनेहरुको संख्या धेरै छ, छुवाछूतको विषयमा भाषण सुन्नेहरुको जमात होइन गर्नेहरुको होडबाजी छ । जसले चिन्तन र व्यवहारमा परिवर्तन ल्याओस् ।_स्रोत-इसमता;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com