ब्रह्मा, विष्णु र महादेवलाई यौन अपराधका लागि कठघरामा उभ्याउँदै

 पुरुषत्वको नाममा यहाँ कैयौं सरस्वती, गोमा, वृन्दाहरु देहपिपाशुहरुको सिकार हुनु परेको सम्झिएँ ।
के नारीहरु पुरुषको खेलाउने वस्तु हुन् ? के नारीहरु पुरुषहरुलाई यौन सन्तुष्टि दिने सामग्री हुन् ?

बिहानको करिब ११ बजेतिर कार्यालयको घण्टी बज्यो । यसो कलर आइडीमा हेरेको ट्रन्कल आ’को रहेछ ।

‘हेलो ! जिल्ला प्रहरी कार्यालय मोरङ !’

उताबाट अर्जी भयो – ‘म हेडक्वार्टरदेखि डिआइजी बोलेको । को एसपि सा’ब बोल्नुभा’को हो ?’

‘जय नेपाल सा’ब । हो म एसपी बोलेको ।’

फेरि अर्जी भयो – ‘आइजी सा’बबाट मौखिक सर्कुलर भाको छ- सबै पुरानो मुद्दा फर्छ्यौट गर्नु भनेर । तपाईलाई त्यही जानकारी दिउँ भनेर ! कुरा बुझ्नुभो ?’

‘बुझेँ साब !’ मैले जवाफ दिएँ ।

‘ल त्यसो भए राखेँ ! निर्देशनअनुसार काम गर्नु !’

म – ‘हस् ! जय नेपाल सा’ब !’

फोन राखेपछि सोचेँ ! भर्खर नियुक्त भ’को भएर होला अरुभन्दा फरक देखाउन बुढाले यस्तो निर्देशन दिएका हुन । जेसुकै होस् । आफू परियो सरकारी कारिन्दा ! अह्राएको गर्नैपर्‍यो ।

अनि पुरानो ढड्डा पल्टाएर एक-एक मुद्दा केलाउन थालेँ ! मुस्किलले दुईटा मुद्दा फेला पर्‍यो । एउटा ज्यान मार्ने अभियोगको‚ अर्को ठगीको ! बुझ्दै जाँदा ती अभियुक्तहरु अहिलेका चर्चित उद्योगपति र नेता पो परेछन् । यस्तो मुद्दामा हात हालेर के जागिरको रिस्क लिनु ? बौलाहा कुकुरले टोकेको छ र ? त्यो मुद्दा छोडेर अरुतिर लागेँ !

अरु मुद्दा यत्रतत्र सर्वत्र खोजेँ । कहीँ केही फेला परेन । निराश भएर घर फर्किएँ !

घर पुग्दा बुढी पूजा गर्दै रहिछे । भनेँ‚ ‘एकछिन यता आइज त ! तँसँग एउटा सल्लाह गर्नुछ ।’

‘पूजा गरिरा’ देख्नुभएन ?’ बुढी झर्की !

‘आइज न खुरुक्क !’ म नि कराएँ ।

‘कस्तो मान्छे ! पूजा गरेको बेला उठ्नुहुन्न भन्ने थाहा छैन !’ बुढी झन् चर्को स्वरमा कराई ।

मलाई नि झ्वाँक चल्यो‚ ‘के नापेका छन् र तेरो देउताले ? मेरो जागिर तेरो देउताले गर्दा भा’को हो र ? त्यस्ता पूजाले केही हुँदैन । मन सफा हुनुपर्छ बुझिस !’

बुढी झन जङ्गी‚ ‘तिमीले थानामा ल्याएको अपराधी हुन् र गाली गर्नलाई ? बढी बोल्ने होइन ।’

‘अपराधी त हुन नि तेरो देउता । यत्रो भूकम्पमा तेत्रो मान्छेको ज्यान गयो । खोई बचाउन आएका ? केही नाप्दैनन् तेरो देउताले ! सबै बकवास हो !’

‘अपराधी भए थुन न त ! धेरै करकर नगर ! एकछिन शान्तिसँग पूजा गर्न दिने भएन ।’ बुढीले च्यालेज गरी ।

‘पर्ख‚ एक दिन प्रमाण पुराएर थुन्छु ! अनि गर्लिस् पूजा !’

‘भो भो बढी बोल्नु पर्दैन । थुनि हालेउ नि ।’ बुढी मज्जाले हाँसी ।

बुढीको कुराले मनमा ईख बस्यो । यिनीहरुलाई अपराधी साबित गर्न सकियो भने पुरानो मुद्दा फर्छ्यौट नि हुने, माथिको सर्कुलर नि पूरा हुने । अनि मेरो प्रमोसन रोक्ने कसको तागत ? दिमागमा गज्जबको उपाय फुर्‍यो । अनि लागेँ प्रमाण संकलनतर्फ ! भोलिपल्ट कार्यालयबाट घर फर्किँदा विभिन्न ग्रन्थ किनेर ल्याएँ । अनि थालेँ त्रिदेवको अनुसन्धान !

सतपथ ब्राह्मण पुराण झिकेर पढ्न थालेँ । त्यो किताबको १.७.४.१ अध्यायमा यस्तो कथा लेखिएको रहेछ-

एक दिन क्षीरसागरमा शेषको शैयामा विश्राम गर्दै गर्दा भगवान विष्णुको अचानक पेट दुख्यो । अनि उनको नाभीबाट कमलको फूलमा चार मुख भएको ब्रह्माको उत्पति भयो । आफूले उत्पति गरेको हुनाले विष्णुले ब्रह्मालाई आदेश दिँदै भने – यो संसारको सृष्टि तिमीले गर्नु ! सबै प्राणीको रचना गर्नु ! यत्ति आदेश दिएर विष्णु ध्यान मुद्रामा गए । विष्णुसँग लक्ष्मी पनि ध्यान मुद्रामा गइन् ।

समुद्र मन्थनबाट उत्पति भएको सिपी र अमृत दैत्य र देवतालाई दिएर सुलक्षणा कन्या आफ्नो भागमा पारेका चम्बु विष्णुबाट उत्पति भएका ब्रह्मा ठमठमाउदो नहुने कुरै भएन । विष्णुजी फुसिल्टिएर घुर्न थालेपछि उनको दृष्टि लक्ष्मीतिर पुग्यो । सृष्टि रचना छोडेर उनले लक्ष्मीतिर दृष्टि लगाउन थाले । आफ्नो अगाडि नौली महिला‚ त्यसमाथि भर्भराउदो जवानी, पुष्ट वक्षस्थल, सुडौल शरीर अनि मोहित अनुहार ! त्यो देखेपछि प्यासी ब्रह्मा थामिन सकेनन् । कमलको फूलबाट तल झरी लक्ष्मीतिर लम्किए उनी । अनि लक्ष्मीलाई एक्कासी उठाउन थाले ।

लक्ष्मीको ध्यान भङ्ग भो ! लक्ष्मी चिच्याउन थालिन् । विष्णु पनि बिउँझिए । आफैले सृष्टि गरेको ब्रह्माले आफ्नै स्त्री ताकेपछि विष्णु रिसले चुर भए । ब्रह्मालाई घोक्रोमा समाउदै विष्णुले जङ्गिँदै भने – तँलाई सिठ्ठा निखुर्को ! मेरो नौसिन्दा भएर मेरै स्त्री ताक्छस् । यहाँबाट गैहाल्छस् कि यो सुदर्शनले तेरो वध गर्दिउँ ? त्यसपछि अत्तालिँदै क्षमा माग्दै ब्रह्मा विष्णुलोकबाट पत्तातोड भागे ।

ब्रह्माको यत्रो अजङ अपराधलाई एकैछिनमा सामसुम बनाएर फर्किएका महादेवप्रति मेरो मनमा भने चिसो छिर्‍यो । यस्ता अजीव व्यवहार देखाउने महादेवको इतिहास उकेर्ने उद्देश्यले लागेँ स्वस्थानी अध्ययन गर्न !

भाग्दै ब्रह्मा इन्द्रलोक पुगे । स्याँस्याँ गर्दै नयाँ मान्छे आएको देखेपछि सोधपुछ गर्दा ब्रह्माले आफू सृष्टिकर्ता भएको बताए । त्यसपछि सम्मानका साथ इन्द्रले ब्रह्मालाई स्वागत गरी आफूसँगैको आसनमा बसाए अनि सोमरस टक्र्याए । हल्का सोमरस चढाएपछि इन्द्रले ब्रह्माको स्वागतमा उर्वर्शीलाई नृत्य देखाउन अह्राए । आफ्नो अगाडि हुर्हुराउँदो जवानी भएको सुनमख्खी कन्या नाच्न आएपछि ब्रह्मालाई झन् खपी नसक्नुभयो । तर अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा तर्सन्छ भनेझै उर्वर्शीलाई झम्टीहाल्ने आँटचैँ ब्रह्माले गरेनन् । आफू उत्तेजित भएको कुरा अरुले चाल पाउनु अगावै ब्रह्मा त्यहाँबाट प्रस्थान गरे ।

निशाचरजस्तै यताउता घुम्दै गर्दा ब्रह्माले एउटा राँटो फेला पारे । कसैलाई काम नलाग्ने हुरेलधरेल जग्गा ठानी ब्रह्माले त्यहीँ ब्रह्मलोक बनाउने निर्णय गरे । भोलि बिहान सखारै उठी आफ्नो सिद्धिले एउटा घर बनाए । घर बनाएर भित्र छिरेपछि ब्रह्मालाई अजीव बेचैनी हुन थाल्यो । उनले हिजोको इन्द्रलोककी उर्वर्शीलाई झल्झली सम्झिए । त्यतिले मात्र नपुगेर उनले उर्वर्शीसँग रासलीला गरेको कल्पना गर्न थाले । उनको बिज भुँइमा खस्यो । त्यही बिजबाट सरस्वतीको उत्पति भयो ।

‘प्रणाम पिता महाराज !’ सरस्वतीको आवाजले ब्रह्मा झस्किए । आफ्नो अगाडि सुकोमल कन्या देखेपछि ब्रह्माको मनमा पाप पलायो । ब्रह्माको काम इच्छा जाग्यो । अनि आफ्नो पक्खलो बोलीले सरस्वतीलाई बोलाए- छोरी यहाँ आऊ । तिमी र म सहवास गरौ । पिताको यस्तो कुराकानीबाट सरस्वती स्तब्ध भइन् । अतालिँदै उनी चार दिशातिर भाग्न थालिन् । तर ब्रह्माले एक झापाटमै समाते ।

सरस्वतीले नाइनास्ती गर्दै आफू ब्रह्माको पुत्री भएको बताइन् । सरस्वतीले नमानेपछि ब्रह्माले सरस्वतीमाथि धावा बोले । सरस्वती चिच्च्याइन्, रोइन्, कराइन्, छोडिदिन आग्रह गरिन् अनेक बिन्ती चढाइन् । तर उनको चित्कार ब्रह्माले सुनेको नसुनै गरे । सरस्वती अर्धचेत भइन् । तर पनि ब्रह्माले सरस्वतीलाई सिंहले मृगलाई लुछेझै लुछी रहे, सरस्वतीमाथि सिन्कौरी खेलिरहे ! यसरी सरस्वतीलाई ब्रह्माले १०० वर्षसम्म भोगे । सरस्वतीबाट स्वयम्भुमरु नामक पुत्र र सतरुपा नामक पुत्रीको जन्म भयो ।

यत्तिकैमा महादेवको ऐयारले डुल्दाडुल्दै ब्रह्माजीको कर्तुत देख्यो अनि महादेवकहाँ गएर सबै इतिवृतान्त सुनायो । महादेव तुरुन्त साँढे चढेर ब्रह्मलोक पुगे । आफू अगाडि महादेव देखेपछि सरस्वतीले न्यायका लागि बिन्ती चढाइन् । महादेवले ब्रह्मालाई हकारे । अनि न्याय सुनाए – जे हुनु भैहाल्यो । ब्रह्मालाई नै स्वामी स्वीकारेर उनको आजीवन सेवा गरेर बस् । तिमी नारी हौ । अलि अलि भइहाल्छ नि । तिम्रो पवित्रता गैसक्यो । तिम्रो इज्जत अब ब्रह्माको हातमा छ । अरुले थाहा पाउलान् । यो कुरा यत्तिमै रहोस् ।

मेरो मनमा नराम्रोसँग घँगारुले घोचेझैँ भयो । यस्तो निकृष्ट कर्तुत गरेर उम्कन मिल्छ ? कानुन सबैलाई बराबरी होइन ? ती देउता होइन अपराधी हुन् । के नारी भनेका खेलौना हुन् जसले जसरी चाह्यो त्यसरी खेलाउन सक्ने ? के नारीको शरीर पुरुषको क्रीडास्थल हो ? के पुरुषको कुण्ठाको अग्निकुण्डमा नारी जहिले चरु बनेर होमिनुपर्ने ? शिवले न्याय नदिए नि म न्याय दिलाउँछु ।

त्यसपछि मुलुकी ऐनको भाग ५ महल १५ अन्तर्गत ब्रह्मालाई हाड्नाता करणीको मुद्दा चलाउने निर्णय गर्दै अधिकतम १० वर्षसम्मको कैद सजायँको मागदाबी गर्ने निर्णय गरेँ । एकमनले यस्ता विभेदकारी कानुनलाई धिक्कारेँ । यति सोचेर ब्रह्मालाई हाडनाता करणीको मुद्दा हाल्न प्रतिवेदन तयार पारेँ ।

ब्रह्माको यत्रो अजङ अपराधलाई एकैछिनमा सामसुम बनाएर फर्किएका महादेवप्रति मेरो मनमा भने चिसो छिर्‍यो । यस्ता अजीव व्यवहार देखाउने महादेवको इतिहास उकेर्ने उद्देश्यले लागेँ स्वस्थानी अध्ययन गर्न !

अध्ययन गर्दै जाँदा १९ औँ अध्यायदेखि यस्तो कथा भेटियो:

मृत्युलोकको दक्षिणपट्टि ब्रह्मपुर भन्ने ठाउँमा शिवभट्ट र सति नाम गरेका ब्राह्मण दम्पति बस्दथे । ब्रह्मपुरको समृद्ध घचारोबीच यिनीहरु भने गरिब थिए । गरिबीले मात खाएपछि यिनीहरु गणेशको पूजा गर्न थाले ।

यिनीहरुको भक्तिभावदेखि प्रसन्न भएर गणेशले प्रशस्त सुनको मुद्रा दिए । तर पनि ब्राह्मण दम्पतिको चिन्ता कायम रह्यो । धन पाएपछि आफ्नो शेषपछि त्यो धनको भोग कसले गर्छ भन्ने चिन्ता पर्‍यो । त्यसपछि फेरि गणेशको पूजा गर्दा गणेशले फूलजस्तो कोमल र सूर्यजस्तो तेज भएको गोमा नाम गरेकी पुत्री हुने वरदान दिए ।

मृत्युलोकमा मनुष्य खुशी भएको देखेर देवताका राजा इन्द्रलाई पच्ने कुरै भएन । त्यसपछि इन्द्रले महादेवकहाँ गएर हुनु नहुनु चुक्ली लगाए । महादेवले ध्यानदृष्टि लगाएर हेर्दा उनको नजरमा एउटी सुकोमल बालिका आइन् । उनको मनमा कुटिल भावना पैदा भयो । उनले गोमालाई आफ्नो बनाउने गर्ने जुक्ति फुराए ।

भोलिपल्ट सखारै उठेर गोमा मात्र घरमा भएको मौका छोपी महादेव साधुको भेष धारण गरेर भीक्षा माग्न पुगे । गोमाले आफू पूजा सामग्री तयार गर्दै गरेको कारण एकछिन कुर्न आग्रह गरिन् । एकछिनपछि चामल लिएर गोमा निस्किन् । महादेवले नेप्रिँदै भने – ‘तेरो चामल लिन्नँ । मलाई यत्रोबेर कुराइस् तेरो बाआमालाई जे पकाएर राखेको छ त्यही लिएर आइज । भर्खर पाँच वर्ष लागेको हुँदा गोमाले महादेवको कुटिल चाल बुझिनन् । ‘मेरो बाआमाको खाना बाआमालाई नसोधी म कसरी दिउँ ?’ गोमाले खानेकुरा दिन नकारिन् ।

‘तँलाई खतुकी ! बढी बोल्छेस् । नदिने भए तेरो चामल लग्दिनँ । मजस्तो साधुलाई तैँले यस्तो भन्ने ! जा म तँलाई श्राप दिन्छु- तेरो ७ वर्षको उमेरमा ७० वर्षको बुढासँग बिहे होस्; अनि तेरो बाउआमाको नि चाँडै मृत्यु होस् ।’ रिसले मुर्मुरिँदै यति भनेर महादेव त्यहाँबाट हिँडे ।

गोमा अतालिएर रुन थालिन् । बाआमा घर आएपछि सबै इतिवृतान्त सुनाइन् । बाआमालाई पर्नु पीर पर्‍यो । शिव भट्टले गोमा सात वर्ष भएपछि सत्तरी वर्षको बुढालाई छोरी दिनुभन्दा अरुसँग बिहे गर्दिने विचार गरे । उनीहरु गोमाका लागि बिहे गर्न वर खोज्न हिँडे । चारैतिर निराशा हात लागेपछि एक दिन गङ्गा नदीको किनारमा उनको भेट सत्तरी वर्षको शिव शर्मासँग भयो । ती शिव शर्मा कोही नभएर महादेव नै थिए । चतुर शिव शर्माले शिवभट्टलाई के गर्न हिँडेको भनी सोधे । आफू छोरीको लागि वर खोज्दै हिँडेको कुरा शिव भट्टले जाहेर गरे । त्यसपछि दाउ छोपेर बसेका शिव शर्माले चम्किला आँखा बनाउँदै उनको छोरीलाई आफूसँग बिहे गर्दिन ढिपी कसे । शिव भट्टले इन्कार गरेपछि आफूसँग बिहे नगर्दिए गङ्गा नदीमा हाम्फालेर देह त्याग गर्ने धम्की दिए । केही सीप नलागेपछि बाध्य भएर शिव भट्टले मन्जुरी जनाए । त्यसपछी शिवशर्मालाई आश्रम लगी भोलिपल्ट गोमाको बिहे उनीसँग गर्दिए । 

इन्स्पेक्टर साबलाई बोलाएर ब्रह्मा‚ विष्णु र महादेवका अपराधको विवरण सुनाई उनीहरु बसेको ठाउँ पत्ता लगाउन निर्देशन दिएँ । धेरै मिहेनत गर्दा अन्त्यमा उनीहरुको कल ट्रेस गरी उनीहरु लुकेर बसेको ठाउँ पत्ता लाग्यो ।

सात वर्षकी कन्यालाई साथ लिएर शिव शर्माले बाटो तताए । गोमालाई आश्रम पुरयाएपछि उनले आश्रामभित्र लागि खाटमा बसाए । वर्षौदेखि गोमालाई गिद्देनजर लगाएर बसेका शिव शर्मालाई आफ्नो तपस्या पूरा भएझैँ लाग्यो । कुनै धक नमानी उनले गोमाको वस्त्र खोल्दिन थाले । सात वर्षकी गोमा वस्त्र खोल्न अन्कनाइन् । त्यो देखेर महादेवले मिठाइ दिने लोभ देखाएर गोमाको देहमा कुनै वस्त्र नछोडी निर्वस्त्र बनाए । कुनै पनि अङ्ग राम्रोसँग नफक्रिएको ती कोपिलासरी गोमालाई उनले ब्वाँसोले सिनो लुछ्न झम्टिएझैँ झम्टिए । पुरुषसत्वको दम्भ चढेको शिव शर्माले वर्षौंपछि यति राम्री कन्या फेला पारेकाले होलान्‚ गोमासँग सिन्कौरी खेल्न थाले । आफूलाई छाडीदिन चित्कार गरिन्, अनेक अनुनयविनय गरिन् । तर पनि शिव शर्मामा कुनै दया पलाएन । कुनै करुणा जागेन । गोमा अर्धचेत भइन् । तर पनि सीमा नाघ्दै शिव शर्मा गोमामाथि उन्मत्त विचरण गरिरहे ।

एवं रीतले शिव शर्माले गोमालाई हरेक रात १० वर्षसम्म भोगीरहे । ८० वर्ष पुगेपछि उनले गोमालाई गर्भवती बनाई एक्लै छाडीहिँडे । त्यसपछि महादेवको रूप लिएर शिव शर्मा कैलाश पर्वत फर्किए ।

गोमाको कथा पढ्दापढ्दै आँखाबाट आँशु झरेको पत्तै भएन । यस्ता अनाचारी महादेवलाई कानुनको कठघरामा नउभ्याउँदासम्म गोमाहरुले इन्साफ नपाउने ठहर गरेँ । र मुलुकी ऐनको भाग ४ महल १४ को जबर्जस्ती करणी महलअन्तर्गत १० वर्षभन्दा मुनिको बालिकालाई करणी गरे बापत महादेवलाई अधिकतम १५ वर्षसम्मको कैद दाबी गरी मुद्दा चलाउने निर्णय गरेँ । सोही अनुरूप प्रतिवेदन तयार पारेँ । यहीँ पनि विभेदकारी कानुनी प्रावधानले निराश बनायो ।

त्यत्रा पापीहरुको पाप धुने भनेर कहलिएका पतीतपावन ब्रह्मा र विष्णुको हर्कतले मलाई स्तब्ध बनायो । त्यसपछि अर्का अधिपति विष्णुको अजमाइस गर्ने सिलसिलामा विष्णुपुराण अध्ययन गरेँ । विष्णुपुराणमा यस्तो कथा भेटियो :

धेरै अगाडि पाताललोकमा कालनेमी नाम गरेका असुर बस्दथे । कालनेमिको वृन्दा नाम गरेकी पुत्री थिइन् । वृन्दा अत्यन्तै बुद्धिमान, सुन्दर यवं सुलक्षिणी थिइन् । वृन्दा तारुण्य अवस्थामा प्रवेश गरेपछि उनको विवाह जलन्धर नाम गरेको असुरसँग भयो । उनीहरुको दाम्पत्य जीवन खुशीसँग बितिरहेको थियो । आफूभन्दा अरु खुशी भएको कुरा देवतालाई पच्ने कुरै भएन ।

एक दिन नारदमुनि आएर जलन्धरलाई शिवपत्नी पार्वती वृन्दाभन्दा सहस्र गुणा राम्री भन्दै भए नभएको कहानी ओकली पार्वतीसँग बिहे गर्न उचाले । जलन्धरलाई आफू नै पार्वतीको लायक भएको भान भयो । जलन्धरको कान फुकेपछि कुटिल नारद खुशी हुँदै फर्किए । त्यसपछि जलन्धर पार्वतीसँग बिहे गर्ने अभिलाषासहित कैलाशतिर लम्किए । यस्तो कुरा सुनेर वृन्दा छाँगाबाट खसेझैँ भइन् । विष्णुको परमभक्त रहेकी वृन्दाले तत्काल उनीसँग आफ्नो पतिको रक्षा गर्न पूजा गर्न थालिन् ।

उता नारदमुनि कैलाशमा एकान्तमा बसेर तपस्या गरेका महादेवलाई जलन्धरले उनको अर्धाङिगनीलाई आँखा लगाएको र उनी नभएको मौका छोपी कैलाशमा लम्केको भनेर कान फुके । महादेव तत्काल तपस्या छाडी कैलाशतिर लागे । जलन्धर कैलाश पुगेर पार्वतीसँग बिहेको प्रस्ताव राख्न खोज्दै गर्दा महादेव पनि त्यहाँ पुगे। महादेव र जलन्धरको भयंकर टक्कर भयो । उता आरिसे स्वभावका नारद विष्णुकोमा पुगे । जलन्धर महादेवसँग लड्न पुगेको यवं वृन्दा घरमा एक्लै भएको पोल लगाए । जलन्धर घरमा नभएको थाहा पाएपछि वर्षौंदेखि वृन्दामाथि गिद्देनजर लगाइरहेका विष्णुले मौका भेट्टाए । विष्णु तत्काल गरुडमा चढेर वृन्दा भएको ठाउँमा लम्किए । वृन्दा विष्णुभक्तिमै लीन थिइन् । विष्णु सुटुकै जलन्धरको रूप धारण गरी वृन्दाको कोठामा पसे । आफ्नो कोठामा कोही पसेको चाल पाएपछि वृन्दाको ध्यान भङ्ग भयो ।

जलन्धर बनेका विष्णुले वृन्दालाई आफूले युद्ध जितेर आएको खबर सुनाए । वृन्दा हर्षित भएको मौका छोपी विष्णुले आलिङ्गनमा हाले अनि विस्तारै उमठ्न थाले । वृन्दालाई निर्वस्त्र बनाई मिलिन्दले मल्लिका चुसेझैँ चुस्न थाले । सरल, सहृदयी र सोझी वृन्दाले जलन्धर बनेका विष्णुलाई आफ्नो सारा शरीर सुम्पिइन् ।

एक्कासी आकाशबाट ठूलो आवाज आयो । शिवको त्रिशुलको मारबाट जलन्धर भुइँमा बजारिए । आफ्नै अगाडि जलन्धर खसेपछि वृन्दा झस्किइन् । बहुरुपी विष्णु पनि अत्तालिए अनि आफ्नै रूपमा फर्किए । आफ्नै अगाडि मृत पति देखेर विष्णुले आफूलाई छलेको थाहा पाएपछि वृन्दाले ढुंगाजस्तो मन भएको विष्णुलाई ढुंगै हुन सराप दिइन् । विष्णुलाई आफूले गरेको गल्तीप्रति कुनै ग्लानि भएन । आफूले देवता मानेको विष्णुले आफैलाई लुटेकोमा वृन्दालाई भने ठूलो तुषारापात भयो । विष्णुको घात सहन नसकी समुन्द्रतिर दुगुर्दै गएर हाम्फाली वृन्दाले आत्महत्या गरिन् । आफ्नो कल्पना पूरा भएकोमा कुनै पश्चाताप नगरी विष्णु हर्षित भएर विष्णुलोक फर्किए ।

विष्णुको कर्तुतले झन् मलाई स्तब्ध बनायो । एक मनले वृन्दालाई आत्महत्या गर्न बाध्य बनाउने विष्णुप्रति आक्रोश जाग्यो । विष्णुलाई पनि कठ्घरामा उभ्याउने निश्चय गरेँ । उनको अपराधको प्रतिवेदन तयार पारेँ । मुलुकी ऐनको भाग ४ को महल १० अन्तर्गत ज्यानसम्वन्धी महल बमोजिम आजीवन कारावासको मुद्दा दायर गर्ने निर्णय गरेँ ।

‘अब सुत्ने होइन ?’ बुढीको आवाजले म झस्किएँ । घडी हेर्दा कान्छो सुईले करिब १२ बजाएको रहेछ । त्यसपछि सबै ग्रन्थलाई थन्क्याएर खाटमा पल्टिएँ । मेरो मानसपटलमा अनेक कुरा खेल्न थाले । यहाँ हरेक दिन आफ्नै बाबु, दाइ, भाइ वा आफन्तबाट कैयौ नारी लुटिनु परेको सम्झिएँ । पुरुषत्वको नाममा यहाँ कैयौं सरस्वती, गोमा, वृन्दाहरु देहपिपाशुहरुको सिकार हुनु परेको सम्झिएँ । के नारीहरु पुरुषको खेलाउने वस्तु हुन् ? के नारीहरु पुरुषहरुलाई यौन सन्तुष्टि दिने सामग्री हुन् ? के नारीहरुले पुरुषले जे गरे पनि चुपचाप सहनुपर्ने नै हो ? के नारीको छुट्टै अस्तित्व छैन ? के पुरुषार्थ भनेको नारीको अस्मितामाथि धावा बोल्नु हो ? कदापि होइन !

बरु पुरुषार्थ भनेको त नारीको इज्जत गर्नु हो ! उनीहरुको सम्मान गर्नु हो ! दुबैले सँगसँगै समानताको पथमा पाइला चाल्नु हो । धार्मिक आधारमा महिलालाई वस्तुको रूपमा प्रस्तुत गर्नु इतिहासको गौरव हैन रौरव हो ! नारीलाई देह दास बनाउने प्रवृत्ति धर्मका नाममा कलंक हो ! अझै त्यस्ता देवताको पूजा गरेर पुण्य कमाउन खोज्नु केवल आत्मरति मात्रै हो ! शास्त्र र मूर्ति पूजा गरी पुण्य हुने भए मन्दिरै मन्दिरको देश संसारकै विकसित देश भइसक्थ्यो ! यसरी मनमा अनेक प्रश्न उठ्न थाले । त्यो रात निद्रा परेन ।

भोलिपल्ट बिहानै कार्यालय पुगेँ । अनि इन्स्पेक्टर साबलाई बोलाएर ब्रह्मा‚ विष्णु र महादेवका अपराधको विवरण सुनाई उनीहरु बसेको ठाउँ पत्ता लगाउन निर्देशन दिएँ । धेरै मिहेनत गर्दा अन्त्यमा उनीहरुको कल ट्रेस गरी उनीहरु लुकेर बसेको ठाउँ पत्ता लाग्यो । ब्रह्मा भारतको राजस्थानस्थित पुष्कर भन्ने ठाउँमा ब्रह्मा मन्दिरमा लुकेर बसेको पत्ता लाग्यो ! विष्णु भारतकै आन्ध्रप्रदेशको चित्तूरको तिरुपति बालाजी मन्दिरमा लुकेको पत्ता लाग्यो ! महादेव काठमाडौंको गौशालाको पशुपतिनाथ मन्दिरमा लुकेर बसेको पत्ता लाग्यो ! त्यसपछि दुईजना डिएसपी सा’बको नेतृत्वमा एक जनालाई तिरुपति विष्णुलाई पक्रन पठाउने र अर्कोलाई पुष्कर ब्रह्मालाई पक्रन पठाउने निर्णय गरेँ । महादेवलाई पक्रन भने म काठमाडौंको पशुपतिनाथ मन्दिरतिर लागेँ ।_साभार-इसमता;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com