सुरुंगा, १० प्रतिशतभन्दा बढी महिला पाठेघर खस्ने समस्या

सुरुंगा (झापा) जेठ ९,

अस्पताललै अस्पताल रहेको बिर्तामोड क्षेत्रका १० प्रतिशतभन्दा बढी महिला पाठेघर खस्ने समस्याबाट पीडित भएको पाइएको छ। 

बिर्तामोड नगरपालिकाद्वारा आयोजित पाठेघर खस्ने समस्यासम्बन्धी छ दिने निःशुल्क स्वास्थ्य शिविरमा महिलामा जटिल रुपमा पाठेघरको समस्या भेटिएको हो। नगरपालिकाको छ स्थानमा भएको शिविरमा दुई हजार एक सय २३ जना महिलाको स्वास्थ्य परीक्षण गर्दा दुई सय २५ जनामा पाठेघर खस्ने समस्या भेटिएको अनारमनी स्वास्थ्य चौकीकी सिनियर अहेब सविता सापकोटाले बताइन्। उनका अनुसार तत्काल शल्यक्रिया गर्नुपर्ने महिलाको सङ्ख्या २५ रहेको छ। जसलाई मेडिकलको भाषामा थर्ड डिग्रीको समस्या भनिने गरेको अहेब सापकोटाले बताइन्।  

त्यस्तै पहिलो र दोस्रो चरणको समस्या ७१ जना महिलामा देखिएको छ भने भिआइए परीक्षण गर्दा एक सय २९ जनामा भिआइए पोजेटिभको समस्या भेटिएको अहेब सापकोटाले बताइन्।  

अनारमनी स्वास्थ्य चौकी र चारपाने स्वास्थ्य चौकीको सहयोगमा महिला उपभोक्ता समिति गठन गरी नगरपालिकाले छ दिने स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। महिलामा पाठेघरको समस्या जटिल बन्दै गएपछि नगरपालिकाले ०७२/७३को बजेटमा आठ लाख छुट्याएको थियो। सोही रकमबाट निःशुल्क स्वास्थ्य शिविर गरिएको उपभोक्ता समितिकी अध्यक्ष रञ्जु प्याकुरेलले बताइन्। उनले समस्याको पहिचानको सुरुवात मात्र गरिएको बताउँदै समाजमा यस्तो समस्या भएका धेरै पीडित महिला अझै शिविरमा नअाएको बताइन्।  

देशभरका करिब १० लाख महिला पाठेघर खस्ने समस्याबाट प्रताडित रहेको २०६४ सालको तथ्याङ्कले देखाएको छ। जसमा सबैभन्दा बढी सिरहा र सप्तरीमा ३० प्रतिशतभन्दा बढी महिलामा यो समस्या पाइएको सरकारी तथ्याङ्कमा उल्लेख छ। रासस ;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com