नेपाली महिलाको स्वास्थ्य अवस्था किन अझै दयनीय छ ?

काठमाण्डौ जेठ १५,

डा. चन्दा कार्की, प्रिन्सिपल, नेपाल मेडिकल कलेज

 सन्दर्भ : आज महिला स्वास्थ्य दिवस

नेपाली महिलाहरु आज पनि विभिन्न विभेद र सीमान्तकृत व्यवहारको सिकार भइरहेका छन् । परिवार, समाज र राष्ट्रले आज पनि उनीहरुलाई हेयको दृष्टिले हेर्ने गरेको पाइन्छ । त्यसैले सबैका लागि चाहिने सामान्य स्वास्थ्य सेवा नै कमजोर भएको हाम्रोजस्तो देशमा महिला स्वास्थ्य र शिक्षाको अवस्था दयनीय छ भन्ने कुरामा दुई मत हुन सक्दैन । यस्तो अवस्थामा प्रजनन र मातृ स्वास्थ्य हामी सबैको सरोकारको विषय हुनुपर्छ । यसलाई राम्रो पार्न हामी सबैले आवाज उठाउनु पनि पर्छ ।

नेपाली महिलालाई समाजले आज पनि बच्चा जन्माउने, त्यसमाथि छोरा जन्माउने यन्त्रको रुपमा लिने गरेको अनुभूति हुन्छ । कम उमेर र अत्यधिक संख्यामा बच्चा जन्माउनाले आज पनि धेरै महिलाले आफ्नो ज्यान  र राम्रो स्वास्थ्य गुमाएका छन् भन्ने कुरा प्रमाणित नै छ । यिनै कारणबाट र सुत्केरी अवस्थामा पनि अत्याधिक र गाह्रो काम गरेका कारण हजारौँ महिला आङ खस्ने समस्याबाट प्रभावित भएको पाइन्छ ।

छोरीलाई गर्भैदेखि विभेद गर्ने, शिक्षाबाट विमुख गराउने, बच्चा जन्माउने प्रकृयालाई स्वास्नीमान्छेलाई ईश्वरले नै खटाइ आएको कामको रुपमा लिने र त्यहीकारणले उनीहरुलाई गुणस्तरीय स्वास्थ्य सेवाबाट विमुख पारिनेजस्ता दुःखद सामाजिक अवस्था एवं परिवेशलाई आज पनि हामीले चिर्न सकेका छैनैँ ।

प्रजनन स्वास्थ्यको अझै कुरा गर्ने हो भने हाम्रो देशका सन्तान उत्पादन उमेर समूहका ७० प्रतिशत महिलाहरु रक्तअल्पताको समस्यबाट पीडित छन् । यसमा आधाभन्दा बढी महिला आइरनको कमी कारण प्रभावित छन् । गर्भवति महिलामध्ये हामीकहाँ ७ देखि १० प्रतिशतमहिला गर्भावस्थामा हुने उच्च रक्तचापबाट पीडित छन् । यो अवस्था नेपालमा हुने मातृ मृत्युको एउटा प्रमुख कारण पनि हो । गर्भवति महिलामा जन्डीस र थाइराइडसम्बन्धी समस्या पनि प्रशस्तमात्रामा पाइन्छ । महिलाहरु कुपोषणबाट पनि उत्तिकै पीडित भएको  पाइन्छ ।

आमा बन्ने अनुभूति ज्यादै सुखद अवसर हो । यद्यपि यो क्षण सबैका लागि उत्तिकै खुशीयालीपूर्ण भइरहेको हुँदैंन र दुःखद घटनामा परिणत हुन पुगेको पनि हामीले पाएका छौँ ।  बच्चा जन्माउँदा हुने अत्याधिक रक्तस्राव, संक्रमण, उच्चरक्तचाप, अड्किएको व्यथा, असुरक्षित गर्भपतनबाट कयौं आमा र नवजात शिशुको मृत्यु पनि भइराखेको अवस्था छ भने यसकारणबाटै कतिपय महिलाले दीर्घकालीन स्वास्थ्य समस्या पनि भोगिराख्नु परेको  अवस्था अझै पनि विद्यमान छ ।

यस्ता दुःखद अवस्था आउन नदिन हरेक गर्भवति महिलाका लागि उचित र गुण्स्तरीय सेवामा गर्भ, प्रसव तथा सुत्केरी अवस्थाको व्यवस्थित रेखदेख तथा स्याहारको उचित व्यवस्था हुनुपर्छ । तर आज पनि धेरै नेपाली महिलाको पहँुचमा यी सेवा पुग्न सकेका छैनन् ।

नेपालमा दक्ष जनशक्ति (डाक्टर या नर्स) बाट आफ्नो गर्भावस्थाको जाँच गराउन पाउने महिलाको संख्या ४४ प्रतिशतमात्र छ । अझैं पनि ८१ प्रतिशत बच्चा घरमै जन्मिरहेका छन् । घरमा बच्चा जन्माउँदा परिवार, छिमेकी र सुडेनीको मद्धत लिने गरको पाइन्छ । सुत्केरी पश्चातको सेवाको मौका त ३० प्रतिशत महिलाले पनि पाएको देखिन्न । हरेक दिन नेपालमा करिब १२ जना आमाको र करिब ७५ शिशुको मृत्यु हुने गरेको पाइन्छ ।

कुनै पनि देशको मातृ मृत्युदरले त्यो देशका जनताको सम्पूर्ण स्वास्थ्य अवस्था कस्तो छ भन्ने जनाउँछ । हाम्रो देशको मातृ मृत्युदर आज पनि अत्यधिक रहनु राम्रो संकेत होइन भन्ने हामीले बुझनु पर्दछ ।

असुरक्षित गर्र्भपतन आज पनि मातृमृत्युको प्रमुख कारणमध्येमा एक पर्छ । देशमा सुरक्षित गर्भपतन सेवाले कानुनी मान्यता पाइसकेको भएपनि असुरक्षित गर्भपतनको पीडा आज पनि हजारौं महिलाले भोगिरहेको अवस्था छ ।

प्रत्येक एकसय विवाहित र संगै बस्ने नेपाली जोडीहरुले कम्तीमा एउटा परिवार नियोजनको साधन कतिले प्रयोग गरेका छन् भनेर अध्ययन गर्नेहरुले यो दर ५० प्रतिशतमात्र भएको पाएका छन् । यसबाट परिवार नियोजनका साधनजस्तो आधारभूत चिज आज पनि लाखौँ महिलाको पहुँचमा छैन भन्ने बुझिन्छ ।

कम उमेरमा र धेरै बच्चा जन्माउने कारणबाट तथा उचित स्वास्थ्य हेरचाहको सुविधाबाट वञ्चित हुनुपर्दा धेरै महिलाको आङ खस्ने समस्याबाट पीडित भइरहेका छन् । राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) ले गरेको एक अध्ययनअनुसार नेपालमा करिब ६ लाख महिलाको आङ खसेको पाइएको छ । यस्तै बेचबिखनमा परेका नेपाली महिलाहरु  एचआईभी÷एड्स तथा अन्य यौन रोगबाट पनि प्रभावित भएका छन् । साधारणतया घरपरिवारमा पनि महिलाहरुलाई निर्णायक भूमिका वा घरमुलीको भूमिका दिइदैंन । ८० प्रतिशतभन्दा बढी घरमा लोग्नेमान्छे नै घरमुली भएको पाइन्छ । घरेलु हिंसा, चेलीबटी बेचविखन पनि ठूला  समस्या हुन् ।

यदि नेपाली महिलाका अवस्थालाई बलियो र सुदृढ पार्नु छ र राष्ट्रको शिर ठाडो पार्नु छ भने निम्न कुरामा जोड दिइनुपर्छ :
१. छोरीमाथि हुने विभेद हटाई शिक्षामा जोड दिनुपर्छ ।
२. वालविवाहजस्तो कुरीति अन्त्य गर्नुपर्छ ।
३. छोरीहरुलाई रोजगारीको अवसर, सुरक्षित वातावरणको प्रत्याभूति हुनुपर्छ ।
४. महिलाहरुलाई पनि सम्पत्तिमाथिको अधिकार पुरुषसरह नै हुनुपर्छ ।
५. स्वास्थ्य सेवामा महिलाको पहँुच बढाउनुपर्छ ।
६. स्वास्थ्य सेवाहरु सुलभ र सरल हुनुपर्छ ।
७. मातृ मृत्युदर कम गर्न दक्ष जनशक्तिको उत्पादन र प्रयोगका नीतिहरु बनाउने र कार्यान्वयन गर्नुपर्छ ।
८. परिवार नियोजनका साधनहरु बारे जनचेतना बढाउने र सर्वसुलभ तरिकाले यसमा सबैको पहँुच पनि हुनुपर्छ ।
९. महिलाको स्वास्थ्य सेवामा पुरुषको पनि सहभागीता बढाउनुपर्छ ।
यी विषयका लागि राज्यव्यवस्थाको सोच, नीति र कार्यान्वयनको प्रमुख भूमिका रहन्छ । त्यसमा परिवर्तन ल्याइ सही दिशा मार्गप्रशस्त गर्नुपर्छ ।_स्वास्थ्य खबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com